४ वैशाख २०८१ मंगलबार
समाज

देशभर क्षारीय धमिलो वर्षा

काठमाडाैं   - केही दिनयता काठमाडाैं उपत्यकालगायत देशका अधिकांश भागमा धमिलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको राजस्थान आसपास मरुभूमिमा केही दिनदेखि चलिरहेको हावाहुरीको असरले नेपालमा धमिलो वर्षा भएको हो।

भारतमा चलेको हुरी पूर्वतर्फ गंगा फाँटमाथिको वायुमण्डल हुँदै नेपालको वायुमण्डलमा प्रवेश गरेकाले धमिलो वर्षा भएको मौसमविद् गंगा नगरकोटीले बताइन्। ‘भारतको राजस्थान आसपासमा हुरी चलिरहेको छ, त्यसको प्रभाव दिल्ली हुँदै नेपालको वायुमण्डलमा मिसिएको छ,’ उनले भनिन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको हिमाली भूभागबाहेक अधिकांश क्षेत्रमा धमिलो वर्षा भएको छ। ‘तराई, चुरे र पहाडी भूभागका अधिकांश स्थानमा यस्तो वर्षा भएको छ,’ नगरकोटीले भनिन्।

राजस्थान आसपासका मरुभूमिमा अहिले पनि धुलोको हुरी चलेरहेको र त्यो पूर्वतर्फ सर्ने क्रम जारी रहेकाले अझै केही समय धमिलो वर्षा हुने महाशाखाको अनुमान छ। यो अवस्था मनसुन सक्रिय भई देशको पश्चिमी भागसम्म नफैलिँदासम्म रहिरहने पूर्वानुमान मौसमविद्को छ।

पूर्वानुमान शाखाका अनुसार मनसुनका बेला नेपालमा यस्तो किसिमको वर्षा भएको छैन। जाडो मौसममा नेपालको वायुमण्डलमा धुलो हुने भए पनि त्यतिबेला वर्षा नहुने भएकाले मौसम धुम्म हुने मौसमविद् नगरकोटी बताउँछिन्। ‘मनसुनका बेला यस्तो पानी परेको रेकर्ड हामीसँग छैन, हिउँदमा नेपालको वायुमण्डलमा पनि धुलो प्रवेश गर्छ। यसपटक राजस्थानमा चलेको धुलोको हुरीको प्रभाव मनसुनमा प्रवेश गरेकाले धमिलो वर्षा भएको हो,’ उनले भनिन्।

धमिलो वर्षामा धुलोका कणसहित विषाक्त रासायनिक पदार्थसमेत हुन सक्ने भन्दै यसको प्रयोग नगर्न शाखाले सुझाव दिएको छ। ‘भारतको राजस्थान औद्योगिक क्षेत्र भएकाले पानीमा धुलोसँगै विषाक्त रासायनिक पदार्थ मिसिएको हुनसक्छ। त्यसैले यस्तो पानी प्रयोग नगर्दा राम्रो हुन्छ,’ नगरकोटीले भनिन्।

कतिपय ठाउँमा वर्षाको पानी संकलन गरेर पशुपक्षीलाई खुवाउने तथा सरसफाइमा प्रयोग गरिँदै आएको छ। ‘यस्तो पानीले मानिसलाई एलर्जीको समस्या हुन सक्छ। पशुपक्षीलाई पनि नखुवाउँदा राम्रो हुन्छ,’ मौसमविद् मीनकुमार अर्यालले भने। आकाशबाट परेको धमिलो पानीमा क्षारीय र अम्लीय पदार्थ पर्याप्त हुने भएकाले यसले असर गर्ने उनको भनाइ छ।

रेड रेन भनिने यस्तो वर्षा पर्याप्त मात्रामा मरुभूमिको धुलो हुन्छ। पश्चिम र दक्षिण मेडिटे«नियनमा धमिलो वर्षा भइरहन्छ भने उत्तर अमेरिकाको एरिड मरुभूमि क्षेत्रको टेक्सास र एरिजोना क्षेत्रमा पनि हुने गर्छ। यस्तो वर्षामा कार्बनलगायत मानव स्वास्थ्यमा असर गर्ने रासायनिक पदार्थ पर्याप्त हुन्छन्।

प्रकाशित: ३ असार २०७५ ०१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App