७ वैशाख २०८१ शुक्रबार
खेल

लालबन्दी गोल्डकप : एपीएफलाई सिजनको पहिलो उपाधि

सर्लाही– दुई नम्बर प्रदेशकै सबैभन्दा ठूलो धनराशीको लालबन्दी गोल्डकप प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले चुमेको छ। उपाधिसँगै एपीएफले नगद ७ लाख रुपैंया समेत हात पारेको छ।

शनिबार दिउँसो लालबन्दी खेल मैदानमा भएको फाईनल प्रतिष्पर्धामा नेपाल पुलिस क्लबलाई २–१ गोलले पराजित गर्दै एपीएफले यो सिजनकै पहिलो उपाधी हात पार्न सफल भएको हो । दोस्रो हुने पुलिसले नगद साँढे ३ लाख नगदमै चित्त बुझाउनु प¥यो। 

निर्धारित ९० मिनेटको प्रतिष्पर्धामा खेल सूरु भएको २९ औं मिनेटमा एपीएफका जर्सी नं. ९ का प्रविन स्याङतानले पहिलो गोल गरे। सर्लाही निवासी स्याङतानले जर्सी नं. १० का युवराज खड्काको क्रसपासमा सुन्दर गोल गरे।  

मध्यान्तरपछि ६ मिनेटमै कप्तान भोला सिलवाललाई एपीएफका खेलाडीले डिबक्लभित्र फल खेलेपछि पाएको पेनाल्टी प्रहार खेर जाँदा खेललाई बराबरी गर्ने सुनौलो अवसर पुलिसले गुमायो। पुलिसका कप्तान सिलवालले प्रहार गरेको पेनाल्टी प्रहार एपीएफका गोलकिपर राजु नगरकोटीले ब्लक गरे।  

मध्यान्तर पछिको ३० औं मिनेटमा पुलिसका जर्सी नं. ३२ का अजित भण्डारीले गोल गर्दा खेल बराबरीमा पुग्यो। पुलिसका भण्डारीले डिबक्स भित्रबाट प्रहार गरेको बल एपीएफका मुख्य डिफेण्डर रमेश दंगालको खुट्टामा लागेर गोल भएको हो। 

लगत्तै ३३ औं मिनेटमा एपीएफका जर्सी नं. १५ का रुपबहादुर लामाले गोल गर्दै खेललाई २–१ मा पु¥याए। जर्सी नं. १० का युवराज खड्काको पासमा लामाले गरेको गोल नै एपीएफको जीतका लागि निर्णायक बन्यो र १० वटा टिम सहभागी प्रतियोगिताको उपाधि उचाल्न सफल भयो। यसअघि नुवाकोट गोल्डकप र दमक गोल्डकपको उपाधी चुमिसकेको पुलिस लालबन्दी गोल्डकपको उपाधिबाट विमुख भयो।

पुलिसका खेलाडीले पटक–पटक गोलपोष्टमा गरेको सशक्त प्रहार एपीएफका गोलकिपर नगरकोटीले विफल तुल्याएका थिए। शनिबारको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै एपीएफका रुपबहादुर लामाले नगद ५ हजार प्राप्त गरे। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एपीएफका प्रविन स्याङतानले ५० हजार नगद हार पारे भने सर्लाही–११ का सनि चौधरीलाई उदीयमान खेलाडी घोषणा गर्दै मोटरसाईकल प्रदान गरियो। 

राज्यका दुई सुरक्षा टोलीबीचको भिडन्त हेर्नका लागि दुईसय रुपैंयाको टिकट काटेर हजारौं दर्शक उपस्थित थिए। जेठ २४ गतेबाट सुरु भएको प्रतियोगिता अन्तर्गत विजयी तथा उपविजयी टिम एवं उत्कृष्ट खेलाडीलाई प्रदेश सांसद् बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेल लगायतले शिल्ड तथा नगद पुरस्कार प्रदान गरे।

प्रकाशित: २ असार २०७५ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App