८ वैशाख २०८१ शनिबार
अन्य

सुन्दर सुदूर–पश्चिम (फाेटाे फिचर)

पर्यटकीय दृष्टिले प्रदेश नं ७ अब्बल देखिन्छ । त्यहाँका डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरमा एक से एक पर्यटकीय सम्पदा छन् जहाँ धार्मिक र साहसिक पर्यटन फस्टाउन सक्छ । अब सरोकारवालाहरूले पूर्वाधार विकास र मार्केटिङमा जोड दिनु पर्छ ।

अहिले पर्यटन विकास समाज (टिडिएस) धनगढी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सक्रिय छ । वास्तवमा उद्यमी गोपी हमालको अगुवाइमा कैलाली उद्योग वाणिज्य संघले ०६३ सालदेखि ‘सुन्दर सुदूर–पश्चिम’ अभियान चलाएपछि त्यहाँको पर्यटकीय सम्भावना उजागर भएको हो । 

सुदूरका ९ जिल्लाका सबै धार्मिक, प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदा घुम्न महिनाैं लाग्न सक्छ । त्यसैले भाँती पु-याएर पर्यटन विकास गर्न सके प्रदेश नं ७ समृद्ध बनाउन सकिन्छ ।   

...

खप्तड 

मनको शान्ति खोज्नेका लागि खप्तड प्रकृतिको अनमोल उपहार हो । त्यहाँ पुग्दा तन र मन दुवैमा ऊर्जा भरिन्छ । त्यहाँ योग र ध्यान गर्ने वातावरण छ । निलो आकाशमुनि बसेर ध्यान गर्दा आनन्द मिल्छ । 
त्यही पवित्र भूमिमा खप्तड बाबाले ५० वर्ष साधना गरेका थिए । अतुलनीय जैविक फूलबारी खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किमिमा फैलिएको छ । सरकारले बाजुरा, डोटी, बझाङ र अछामको भुगोल समेटेर ०४३ असारमा निकुञ्ज बनाएको हो ।  

खप्तड १,२६२ देखि ३,२७६ मिटरसम्म उचाइमा छ । त्यहाँ २२ वटा पाटन (चौर) छन् । जंगल पनि छ जहाँ वनस्पति, जडिबुटी, चराचुरुङी, जंगली जीवजन्तु अध्ययन गर्न सकिन्छ । 

घुमन्तेहरूका लागि खप्तडमा त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्र लिंग र घोडा दाउनेलगायतका सम्पदा छन् । 

त्रिवेणीधाममा गंगा दसहराका बेला जेठ–असारमा मेला लाग्छ । त्यहाँको गंगा, जमुना र सरस्वती नदीको संगममा नुहाए पाप पखालिने जनविश्वास छ । दसहरामा डेउडाको रन्कोले खप्तड रातभर जागै बस्छ । 
त्यहाँका डाँडाबाट अपि शैपाल हिमालको दर्शन गर्न मिल्छ ।

खप्तडमा तीन रात बिताउनु पर्छ । काठमाडौंबाट निस्कने यात्रीले दस दिन छुट्याएमा खप्तड मात्रै होइन, बाटोका शैलेश्वरी, उग्रतारालगायत सम्पदा पनि घुम्न भ्याउँछन् । 

खप्तड हुँदै राराताल पदयात्रा गर्न १२ दिन लाग्छ । धनगढीको पर्यटन विकास समाज (टिडिएस) ले खप्तड, बडिमालिका हुँदै रामारोशन जोड्ने ‘फार वेस्ट हेरिटेज ट्रेल’ एक्सप्लोर गरेको छ । यो पदमार्ग पूरा गर्न दुई साता लाग्छ ।  

वर्षैभरि घुम्न सकिन्छ खप्तड । जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँस हुन्छ । 

निकुञ्जले बीचपानी र निकुञ्ज मुख्यालयमा गेस्ट हाउस चलाएको छ । पहिल्यै खबर गरेर जाँदा सजिलो हुन्छ । यात्रीले ड्राई फुड र स्लिपिङ ब्याग बोक्नु बेस ।  

कसरी पुग्ने

काठमाडौं–धनगढी ६५० किमि, बसमा १४ घण्टा । काठमाडौं–धनगढी हवाई यात्रा १ घण्टा १० मिनेट । धनगढी–सिलगढी २०० किमि, बसमा ८ घण्टा । सिलगढीबाट झिग्रानासम्म रिजर्भ गाडीमा गएर चार घण्टा हिँडेर पहिलो बास निकुञ्जको बीचपानीमा । दोस्रो बास निकुञ्ज मुख्यालयमा ।   

...

टीकापुर     

विशेषतः तीन चिजले कैलालीको टीकापुर घुम्नै पर्ने गन्तव्य बनेको छ । पहिलो त्यहाँ रंगिन टीकापुर पार्क छ । दोस्रो कर्णाली नदीमा जल यात्रा गर्ने सुविधा छ । तेस्रो त्यहाँ बनाना किङ कालु हमालले केराका परिकार बेच्ने गज्जबको रिसोर्ट चलाएका छन् । 

टीकापुर नगरपालिका मातहतको पार्क ८४ हेक्टरमा फैलिएको छ । त्यहाँ थरीथरीका फूल र बोटबिरुवा छन् । साथमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका, रत्न र ऐश्वर्य बगैंचा पनि । 

राजा महेन्द्र र रानी रत्नको चाहनाबमोजिम टीकापुरको विकास भएको हो । टीकापुर व्यवस्थित सहर मानिन्छ । 

कथा ०२७ सालको एक दिन शुक्लाफाँटामा सिकार खेल्दाखेल्दै राजा महेन्द्रलाई मुटुको व्यथाले च्यापेछ । उनका चिकित्सकले कर्णाली किनारमा आराम गर्न सुझाव दिएछन् । राजा जहाज चढेर टीकापुर आए । र, त्यहीँबाट २९ दिन राजकाज चलाए । 

वर्ष दिनपछि ०२८ सालमा टीकापुर विकास समिति गठन भयो । सरकारले टीकापुर क्षेत्रका ३,१३३ बिघा जग्गा समितिलाई दियो । त्यहीँ वन फाँडेर पार्क बनाइयो । अनि विभिन्न जातजातिको बस्ती बसालियो । 
टीकापुर पार्कमा मंसिरदेखि जेठसम्म पिकनिक खानेको घुइँचो लाग्छ । त्यसो त बजारमा राम्रा–राम्रा होटल खुलेका छन् । मुलुकभित्र विभिन्न ठाउँमा सिद्धार्थ होटल र कटेजका नाउँमा शाखा विस्तार गरिरहेको सिद्धार्थ ग्रुपको उडान पनि टीकापुरबाटै भएको हो । 

त्यहाँ बनाना किङ कालु हमालले केराको बगैंचामा ‘रानी महल’ र ‘बनानाज् रिसोर्ट’ चलाएका छन् । साथै पार्क सामुन्ने बनाना रेष्टुरेन्ट पनि खोलेका छन् । त्यहाँ केराको ममदेखि वाइनसम्म ४० थरी परिकार पाइन्छ । निम्की, अचार, तरकारी, फिंगरचिप्स, पकौडा, मम, खीर, चिप्स, ब्रान्डी आदि सबै केराबाटै बनाइएका छन्। 

किसानको बगैंचा नै रिसोर्ट बन्न सक्छ भन्ने गतिलो उदाहरण पस्केका छन् हमालले । केराका परिकार चाख्ने गन्तव्यका रूपमा समेत टीकापुर चिनिँदैछ । 

कसरी पुग्ने

काठमाडौं–टीकापुर ६९० किमि । काठमाडौंबाट टीकापुरसम्म बस चल्छन् । पूर्व–पश्चिम राजमार्गको लम्कीबाट १८ किमिमा टीकापुर । अर्को विकल्प ः काठमाडौं–धनगढी हवाई यात्रा १ घण्टा १० मिनेट । धनगढी–टीकापुर ९० किमि बसमा ।  
...

अपि पदयात्रा 

सुदूरपश्चिममा पदयात्रा पर्यटनको कुरा गर्दा अपि बेस क्याम्प कुमारी पदमार्ग हो । दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) को फेदीसम्म बन्दोबस्तीका सामानसहित पदयात्रा गर्न सकिन्छ । 

अपि वेस क्याम्प मनमोहक छ । त्यहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै उभिएका छन् । सूर्योदय र सूर्यास्त हुँदा सुनौला देखिने ती हिमाल हेरिरहुँझैं लाग्छ । 

अपि र नम्पा चुलीको फेदबाट बग्छ चमेलिया नदी । अपि पदयात्रा गर्न चमेलिया जलविद्युत परियोजनाको बाँध बिटलेबाट नदी किनारैकिनार उकालो चढ्नुपर्छ । सिती गाउँसम्म सामान्य खाना र बास पाइन्छ । 
त्यस क्षेत्रमा एउटा उखान छ— नङमाथि मासु छैन, सितीमाथि गाउँ छैन । माथि तीन दिनको बाटोमा क्याम्पिङ गर्नुपर्छ ।

असार–साउनमा बेस क्याम्पतिर यार्सागुम्बा टिप्नेको मेला लाग्छ । पर्यटक भने निकै कम मात्रै त्यहाँ पुग्छन् । यात्रा गर्दा तल सिती गाउँबाट गाइड लैजाँदा राम्रो हुन्छ । ठाउँठाउँमा जंगलको बाटो हिँड्नुपर्छ । 
सरकारले दार्चुलाका २१ गाविसको १,९०३ वर्ग किमि समेटेर ०६७ असार २८ मा अपि नम्पा संरक्षण क्षेत्र बनाएको हो । पदमार्गका ठाउँ–ठाउँमा संकेत चिह्न जरुरी देखिन्छ । 

चमेलिया नदीलाई स्थानीय चौलानी भन्छन् । चौलानी नदी असला माछाको भण्डार मानिन्छ । यात्रामा तिनको तिख्खर स्वाद चाख्न पाइन्छ । 

सितीबाट माथि दोमुल छ । चमेलिया र रोखाबु नदीको दोभानमा देवी पूजा गरेर मात्रै माथि चढ्नुपर्ने नियम छ । यात्रा शुभ होस् भनेर त्यहाँ रूखको फेदमा धूपबत्ती बालिन्छ । 

यात्रामा सबैभन्दा गाह्रो उकालो मकरीगाडको हो । मकरीगाडदेखि पाटु पुग्ने उकालोले थकाउँछ ।
पदमार्गतिर हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु, नाउर आदिसँग जम्काभेट हुन सक्छ । चराको चिरबिर त हरपल सुनिन्छ । 

पदयात्रीले वेस क्याम्प पुगेर गएकै बाटो फर्कनुपर्ने बाध्यता छ । माथि बेस क्याम्पबाट शैपाल हिमालको फेदीमा निस्कने गरी पदमार्ग एक्सप्लोर गर्न सके राम्रो हुन्छ । 

कसरी पुग्ने 

काठमाडौंबाट धनगढीसम्म हवाई या मोटर यात्रा । धनगढीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा । बिटलेबाट ७ दिन पदयात्रामा अपि बेस क्याम्प । 
...

शुक्लाफाँटा 

बाह्रसिंगेकै कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विशेष छ । त्यहाँ २५ सय हाराहारीमा बाह्रसिंगे बस्छन् । ५५ वर्ग किमिमा फैलिएको फाँटामा झुण्ड–झुण्डमा देखिन्छन् ती । एउटै झुण्डमा सयौं हुन्छन् । 
फागुनदेखि जेठसम्म बाह्रसिंगे हेर्ने उत्तम सिजन । घाँसका मुना खाइरहेका बाह्रसिंगे गाडी वा मान्छेको आवाज सुनेमा कान ठाडा–ठाडा पारेर आवाज आएतिरै हेर्छन् । 

फाँटामा बाह्रसिंगेबाहेक १५ पाटे बाघ, दुई दर्जन हात्ती, ४ सय २४ प्रजातिका चरा लगायतका जीवजन्तु छन्।

निकुञ्जमा जीप राइड, जंगल वाक र हात्ती सफारी सुविधा छ । तर, थोरै पर्यटक मात्रै त्यहाँ पुग्छन् । शुक्लाफाँटाको राम्रो मार्केटिङ भइसकेको छैन । घुमन्तेहरू दिउँसो तीन बजेभित्र निकुञ्ज प्रवेश गरेर सूर्यास्त हुनु पहिल्यै बाहिरिनुपर्ने निकुञ्जको नियम छ । वर्षामा आरक्ष घुम्न सकिँदैन । 

निकुञ्ज त घुम्न लायक छँदैछ, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरलाई केन्द्रमा राखेर सेरोफेरोका सिद्धबाबा मन्दिर, महाकाली पुल, बेतकोट र झिलमिला तालका साथै टनकपुर बाँध घुम्न सकिन्छ । 
पारिपट्टिको दोधारा–चाँदनी गाउँलाई महेन्द्रनगरसँग जोड्न महाकाली नदीमाथि बनाइएको झोलुङ्गे पुल १४ सय मिटर लामो छ । घाम डुब्ने बेला पुलको दृश्य मनमोहक देखिन्छ । 

महेन्द्रनगर क्षेत्रमा खान/बस्नको दुःख छैन । निकुञ्ज प्रवेशद्वारमै पर्यटनकर्मी परमानन्द भण्डारीले रिसोर्ट चलाएका छन् । त्यसबाहेक नजिकैको राना थारु बस्तीमा सामुदायिक होम स्टेको सुविधा छ । त्यहाँ थारू परिकारका साथमा थारू संस्कृति अवलोकन गर्न पाइन्छ ।

निकुञ्जबाट ७ किमि टाढा महेन्द्रनगर बजारमा पर्यटकीय सुविधाका थुप्रै होटल छन् । त्यहाँ बसेर निकुञ्ज घुमफिर गर्न सकिन्छ । शुक्लाफाँटाबाट फर्किँदा बिजयसालका काठबाट बनेका सामान कोसेली ल्याउन बिर्सनु हुँदैन । त्यसबाट बनेका गिलासमा रातभर पानी राखेर बिहान पिउँदा स्वास्थ्य राम्रो हुन्छ । 

कसरी पुग्ने

काठमाडौं–महेन्द्रनगर ७०० किमि । साँझ काठमाडौंबाट महेन्द्रनगर जाने बस छुट्छन् । १२ घण्टामा तिनले गन्तव्य पु-याउँछन् । काठमाडौं–धनगढी १ घण्टा १० मिनेट हवाई उडान । धनगढी–महेन्द्रनगर बसमा १ घण्टा ।  

...

रामारोशन 

तालैतालले भरिएको अछामको रामारोशन जैविक फूलबारी हो । रामारोशन (२,०५०–३,७९२ मिटर) लाई जनबोलीमा १२ बण्ड (ताल) १८ खण्ड (पाटन) भनिन्छ । 

रामारोशन क्षेत्रका दर्जन तालमध्ये सबैभन्दा ठूलो जिगाले हो । त्यसमा काठका डुंगा खियाउने सुविधा छ । त्यहाँका अरू तालमा लामीदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्लो धउने, गाग्रे, डाँठेखाल, दल्लयाना, रामे र गेराह हुन् ।

बाटुल्लामा काठका पुराना डुंगा छन् । तालमा हाँस पौडी खेल्छन् । ठूलै छ ताल, फन्को मार्न पाँच घण्टा लाग्छ । 

धार्मिक हिसाबले समेत रामारोशनको महŒव ठूलो छ । त्यहाँ नन्दादेवी, कालिकादेवी, रूपादेवी, जाल्पादेवी, मालिकादेवी, नीलकण्ठ, मस्टो, बाबछाला, गुणलानी, बलवान आदिका मन्दिर छन् । 
रक क्लाइम्बिङ, हनी हन्टिङ, जंगल वाक, प्याराग्लाइडिङ, मेडिटेसन आदिको सम्भावना छ । 
दुःखको कुरा कतिपय ताल पुरिइसके । कति पुरिनेक्रममा छन् । सरकारले यता ध्यान पु-याएको छैन । संरक्षण क्षेत्र घोषणा गरेर बिजुली, पानी, सुरक्षाकर्मीलगायत व्यवस्था गर्नुपर्ने स्थानीयको माग जायज छ । अब प्रदेश सरकारले यसमा ध्यान पु-याउनु पर्छ । 

रामारोशन कैलाशखोलाको मुहान पनि हो । त्यहाँ, लोठसल्ला, सतुवा, दालचिनी, पाँचऔंले, सिलाजित, बाँजखोटो, बोजो, पदमचाल, कटुकी, सुगन्धवाल, बिसमारो, गदाल्नु लगायतका जडिबुटी पाइन्छन् । त्यहाँ जंगली जनावर र पक्षी पाइन्छन् । रामारोशनमा गुफा र झरना छन् । मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन् । 

रामारोशन माओवादी जनयुद्धसँग जोडिएको ठाउँ पनि हो । एकताका रामारोशनलाई माओवादीले सुदूरपश्चिमको हेडक्वार्टर बनाएका थिए । 

रामेसम्म मुजाबगर हुँदै सडक ट्र्याक छ । असार–साउनमा ताल किनार रमाइलो हुन्छ । फूलले ढपक्कै ढाक्छ । असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म रामारोशन घुम्ने उत्तम सिजन हो । 

रामारोशन पदयात्रा जयगडदेखि गर्नु राम्रो हुन्छ । रामे पाटनमा एउटा मात्र सीता गेष्ट हाउस छ । अरू होटल तथा लज छैनन् । बन्दोबस्तीका सामान बोकेर यात्रा गर्दा सजिलो हुन्छ । रामारोशनलाई चम्काउन त्यहाँका पाटनमा सुविधायुक्त होटल खुल्नु पर्छ ।  

कसरी पुग्ने

काठमाडौंबाट धनगढी, डडेल्धुरा, डोटी हुँदै मंगलसेनसम्म सडक यात्रा । तिमल्सैना सडकबाट ४२ किलोमिटर कच्ची सडकमा रामारोशन । हिउँदमा कच्ची सडकमा रिजर्भ्ड जिप लैजान सकिन्छ ।  

प्रकाशित: २ असार २०७५ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App