८ वैशाख २०८१ शनिबार
समाज

आकाशबाट धमिलो पानी परेपछि...

इलाम – आकाशबाट धमिलो पानी परेको भन्दै इलामसहित पूर्वका बासिन्दा अचम्भित भएका छन्। शुक्रबार दिउँसो र राति परेको पानीसँगै आएको ‘माटो’ रूखका पात र घरको रेलिङमा ढाकेर बसेपछि स्थानीय चकित परेका हुन्।

सानो पानी पर्दा पनि वरपर तुवालो लागेझैं देखिने गरेको छ। पानी परिसकेर सुकेका बेला रूखका पातमा सेतो माटोको धुलो देखिने गरेको छ। घरबाहिर राखिएका भाँडाकुँडा र लत्ताकपडामा पनि माटोका कणहरू देखिएको उनीहरूले जनाएका छन्।

घाँस काट्न गएका बेला पातरभरि माटोले सेतै भएको देखेपछि त्यो घाँस गाइबस्तुलाई हाल्न हुने या नहुनेमा शंका लागेको इलाम चिसापानीका किसान भानुभक्त आचार्यले बताए। ‘राति धमिलो पानी परेर रुखका पात माटो सुकेर सेतै भएका छन्,’ उनले भने, ‘आकाशबाट परेको पानी विशाक्त हो कि भन्ने शंकाले वस्तुभाउलाई घाँस हाल्नै डर भएको छ।’ उनले घाँस, केराको पातल मकैको पात सबैतिर हिलो छ्यापेर सुकेजस्तो सेतै भएको बताए। इलाम सदरमुकामका पनि यो समस्या देखिको छ। शुक्रबार धरान, इटहरी र अन्य भागमा पनि धमिलो पानी परेको भन्दै सयौं सर्वसाधारणले सामाजिक सञ्जालमा तस्बिरसहितको ‘स्टाटस’ सम्प्रेषण गरिरहेका छन्।

लगातार पानी परिरहेकाले आकाशमा धुलो र धुवाँ जम्न नपाएपनि शुक्रबार परेको पानीसँगै माटो आएपछि सर्वसाधारण आश्चर्यमा परेका हुन्। विशेषगरी किसानलाई पानीसँगै आएको माटो लत्पतिएको घाँस गाइबस्तुलाई हाल्न हुने वा नहुनेमा द्विविधा भएको छ। ‘कस्तो पानी परेको हो, छिटोभन्दा छिटो हामीलाई आधिकारिक जानकारी आएन भने वस्तुभाउलाई घाँस खुवाउन हुने या नहुने भन्ने नै अन्योल भो,’ अर्का किसान कृष्ण राईले सुनाए। 

सदरमुकाममा परेको यस्तै पानीका कारण घरका बारदली र तरकारीका पात सेतै भएका छन्। आकाशबाट कहिल्यै पानी धमिलो आएको नदेखेका सर्वसाधारण यसको यथार्थ बुझ्न हतार गरिरहेका छन्। ‘कहिल्यै नभएको यस्तो समस्याबारे छिटोभन्दा छिटो विज्ञहरूले सूचना दिनुपर्छ,’ इलामका योगेश राउतले भने, ‘भरे–भोलि अझै थपिएर यस्तो पानी आयो भने सर्वसाधारणमा झन् अन्योल हुनेछ।’

केही समयअघि भारतको लखनउमा धुलोसहितको आँधी आएको समाचार सञ्चारमाध्यममा आएको थियो। कतिपयले अहिलेको समस्यालाई त्यसैको प्रभाव मानेका छन्। भारतको राजस्थानबाट धमिलो पानीको शृंखला नेपालसम्म आइपुगेको हुनसक्ने अनुमान पनि छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखामा यसकारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित: २ असार २०७५ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App