४ वैशाख २०८१ मंगलबार
अन्य

जब छोरा मारियो

२०६१ जेठ २१ गतेको दिन थियो त्यो । मंसिरदेखिकै धान, सुन्तला इत्यादि बेचेको सासूससुराको भागको पैसा घरमा थियो । ‘यो बुबाममीको पैसा’ भन्दै मुठो बनाएर राख्ने गथ्र्याैं । त्यही पैसा छोराले लैजाने भएको थियो।

बाबुचाहिँसँग पहिलोपल्ट अघिल्लो वर्ष चितवन गएको थियो ऊ । एक्लै जान मेसो नपाउला कि भन्ने लागेछ क्यार उहाँलाई । त्यसमाथि पैसा साथमा लैजाँदा केही अप्ठेरो पर्ला भनेर होला, उहाँले थप्नुभयो, ‘भैगो, मै जान्छु । बाटामा अलमल्लेलास तँ, म भए सरासर आज गएर भोलि आइपुगिहाल्छु ।’छोराले मानेन । भन्यो, ‘होइन, मै जान्छु बुबा ! अलि दिनमा एसएलसीको रिजल्ट पनि हुन्छ, उता भए हेर्न सजिलो पर्छ।’

गाउँमा भए रिजल्ट भए नभएको पनि उत्तिखेरै पत्तो पाउन गाह्रो थियो । पाई हाले पनि पास–फेल के भइएछ भनेर जान्न दिनभरि हिँडेर गोरखा बजारै पुग्नुपथ्र्याें । त्यसो हुनाले छोराले रिजल्ट नहुन्जेल चितवनै बस्ने कुरो पनि गर्याे । उसलाई हामीले नाइँनास्ती गर्न सकेनौं ।ठूलो छोरो नूरप्रसाद पनि घर आएको बेला थियो । आएलगत्तै उसले गाउँमा ९÷१० मा फेल भएका बच्चाहरूलाई ट्युसन पढाउन थालेको थियो । जेठ २१ गते बिहानै ऊ पढाउन भनेर निक्ल्यो । म भात पकाउँदै थिएँ, सानोचाहिँ चितवन जाने तरखर गर्न लाग्यो ।‘ए आमा, भो तरकारी पकाइराखुन्जेल कुर्दिनँ, ढिलो हुन्छ !’, उसले ठेकीबाट दही झिक्यो र भन्यो, ‘म यहीसँग भात खाएर जान्छ।’

मलाई पनि घाँस काट्न जानु थियो । तरकारी पछि पकाउँला भन्ने लाग्यो र भनें, ‘हुन्छ नि त, दही र तातो भात खाएर जाऊ, म घाँस काट्न गएँ है त !’अलि पछि ऊ सुकिलो सर्ट र सेतो पाइन्ट लगाएर निक्ल्यो । निक्लनुअघि बाबुचाहिँले छोरालाई २० हजार रूपैयाँ थमाउँदै भन्नुभयो, ‘१५ हजार हजुरबा हजुरआमालाई दे, पाँच हजारले तँलाई जे किन्न मन लाग्छ, किनेर ल्या ।’‘अरू त होइन, मलाई जुत्ता ल्याउन मन छ बा,’ छोराले भन्यो ।‘अनि नारायणघाटबाट चिउरा पनि लेराइजा एक बोरा, तेरी आमा सधैं खेतालालाई रोटी पकाइरहन सक्दिन भन्छे,’  उहाँले भन्नुभयो, ‘यसपालि कहिले कहिले चिउरै दिनुपर्ला।’

त्यसपछि उहाँ भोलिपल्ट घर आउनुभयो । मचाहिँ घाइते भए पनि छोरो ल्याउलान् भनेर पर्खिबसेकी थिएँ । निन्याउरो मुख लगाएर एक्लै आएको देखेपछि डराईडराई सोधें, ‘छोरो खोइ त ?’

त्यसबाहेक चना र केराउ पनि नारायणगढमा सस्तो पर्छ भन्दै उहाँले त्यो पनि ल्याउन भन्नुभयो ।‘चार जनालाई एकौटा रेनकोट पनि ल्याएस् है,’ उहाँले थप्नुभयो, ‘सधैं रुझेर काम गर्न सकिँदैन, वर्षामासमा काम लाग्छ ।’छोरासँग पनि एक–दुई हजार पैसा रहेछ । मेलापात गर्दा र स्कुल जाँदा खाजा खाने पैसा बचाएर राखेको होला बरा !जाने बेलामा उसले भन्यो, ‘हुन्छ बा, म पुगेसम्मको सबै सामान ल्याउँछु । नपुगे यतै पनि किनम्ला।’

बिहान ६ पनि बजेको थिएन होला, जेठमास झलमल्लै घाम लागिसकेको थियो । ऊ निस्क्यो ।बाटामा स्कुल थियो । त्यहीँ दाजुचाहिँले ट्युसन पढाउने गथ्र्याें । जाने बेलामा दाजुभाइको भेट भएछ ।‘ल राम्रो गरी गएस्,’ दाजु चाहिँले भनेछ । भाइ निस्केर पर पुगुन्जेल उसले स्कुलको झ्यालबाट हेरिरहेछ । पछि उसले आएर भनेको थियो घरमा । दाजु–भाइको भेट त्यसपछि हुन पाएन । न हामीले नै उसलाई फेरि देख्न पायौं । उसको ज्यान जाँदै छ भन्ने पत्तो पाएको भए घरमै लुकाएर राथ्यौं । अथवा दाजुसँगै अन्तकतै पठाइदिन्थ्यौं । तर, असतीहरूले ढुकेर बसेका छन् भन्ने के थाहा र !

छविलाल पौडेल भन्ने गाउँका हेडमास्टर थिए । उनैले छोराहरूलाई पढाएका हुनाले हामी पनि सर भन्ने गथ्र्याैं ।त्यस दिन उनी १० बजेतिर घरमा आए र भने, ‘जेठी ! खै त नि छोराहरू ?’‘सानछोरा चितवन गयो, ठूलछोरा ट्युसन पढाउन गा‘छ,’  भनें मैले ।‘के थ्यो काम र ?’ उनले सोधे ।मैले हजुरबा हजुरआमालाई भेट्न गएको भनिदिएँ ।‘ए !’ भनेर लेग्रो तान्दै उनी खाटमा बसे ।अँगेनामा चिया पाकिराख्या थियो । ‘चिया खाने सर ?’ भनेर मैले सोधें ।उनले केही बेर लेग्रो ताने । अनि भने, ‘खाऊँ न त लेऊ।’

मैले चिया दिएँ । अघिल्लो दिनको खाजा पुवा अलिकति बाँकी थियो । त्यो पनि मैले दिएँ ।म आफ्ना सुरले आँगनपिँढी बढार्नतिर लागें । उनी चिया र पुवा खाइरहेका थिए एक सुरले । त्यति बेलासम्म उनी जासुसी गर्न आएका हुन् भन्ने अत्तोपत्तो मलाई थिएन । माओवादीमा लागेका छन् भन्ने पनि थाहा थिएन । माइलीका मामा हुन् भन्ने थाहा भए पनि हामीसँग बदला लिन छोरालाई मार्ने सुरसारमा छन् भन्ने त सोचेका पनि थिएनौं।

भोलिपल्ट पनि छविलाल देखा परे । उनको ससुराली अलि परतिर भएकाले मेरै घरको बाटो आउजाउ गर्थे । पर्सिपल्ट, निकोर्सिपल्ट पनि छविलालको आउजाउ भइरह्यो । उनी घरी तल जान्थे, घरी माथि आउँथे । आउँदाजाँदा मेरो घरतिर अनौठो किसिमले हेर्थे । मलाई शंका लाग्यो भित्रभित्र ।‘किन आइरहन्छ छविलाल हाम्रो घरको बाटो र हेर्छ हामीलाई चोरले जस्तरी !’, मैले आपैसँग सोधें ।हुन पनि अचम्म लाग्दो थियो, छविलालको त्यो हेराइ र तलमाथि गराइ । यसको घरमा कहिले रूवावासी पर्ला भनेर हेरेको रहेछ क्यार, मलाई त के थाहा र !२४ गते बेलुका मेरो छोरालाई मारेछन् । हामीलाई त थाहा पत्ता पनि भएन।

घरमा एउटा रेडियो थियो । साँझ काम सकेर फलैंचामा त्यही सुन्दै बसिराखेका थियौं । कालिका एफएमले समाचारमा छोरा मारिएको खबर पहिल्यै फुकिसकेको रहेछ । नाम, घर, थर, वर्ष र एसएलसी दिएको कुरो पनि आइसकेको रहेछ । तर, हामीलाई त्यसको होश पनि थिएन । मनमा अलिकता पनि छोरालाई केही गरे होलान् भन्ने लागेको थिएन ।हामीले रेडियो खोल्दाचाहिँ चितवनको बकुलहर चोक टाँडी बजारमा आर्मीको लेस नायक मारिएको समाचार सुनें । मलाई ननिको लाग्यो । त्यति बेला रेडियो खोल्यो कि कतै न कतै कोही न कोही मारिएको समाचार आउँथ्यो । त्यसैले ज्यादा समाचार सुन्न पनि मन लाग्दैनथ्यो । तर, सुन्ने बानी भने परेको थियो।

हतारहतार भात, तरकारी पकाएर मैले अँगेनामा दूध तताउन बसालें ।उता रेडियो बजिरहेको थियो ।‘लौ कहाँ मान्छे मारेछन् आज पनि !’ भनेर म एक्लै भतभताउँदै अँगेनोमा दाउरा ठोसिरहेकी थिएँ ।त्यति बेलै ठुलछोरो आइपुग्यो । उसका बुबाचाहिँ भैंसीको धन्दा गर्दै हुनुहुन्थ्यो ।‘भात पाक्यो ममी ?’ उसले सोध्यो भित्र नपस्दै ।‘आज पनि मान्छे मारेछन् नि बाबु चितवनतिर !’ मैले भनें, ‘अंकल कता छन् कुन्नि !’‘अंकल डडेलधुरातिर छन्,’ छोराले भन्यो।

त्यस रात हामी नमज्जा मानेर सुत्यौं । कसको छोरा मारिएको होला भनेर मनमा पीर परिरह्यो । तर, मारिएको त आफ्नै छोरा रहेछ । भोलिपल्ट मात्रै पो यो थाहा भयो ।भोलिपल्ट बिहान १० बजेतिर रामप्रसाद अधिकारी घरमा आए । उनी हाम्रा छिमेकी मात्रै नभएर १३ दिने दाजुभाइ पनि थिए । र, नातामा भतिजो पर्थे । चितवनबाट रातीको गाडीमा चढेर उनी भर्खर गाउँ आइपुगेका थिए । सरासर हाम्रो घरमा आएर ‘सानममी, भाइ गाडी दुर्घटनामा परेको छ, चितवन जानुप¥यो !’ भने । छोरालाई भरतपुर अस्पतालमा भर्ना गरेर राखिएको पनि उनकै मुखबाट सुनियो।

‘को जाने हो, एक जना मसँग गए हुन्छ,’ उनले भने, ‘आठ–दश हजार पैसा पनि बोक्नुस् ।’म त छाँगाबाट खसेजस्ती भएँ । लडीबुडी गरेर रुन थालें । उहाँभित्र हुनुहुन्थ्यो । खबर सुन्नेबित्तिकै पुर्लक्कै ढल्नुभयो । जेठो छोरो त्यसै आत्तिएर भित्र र बाहिर गर्न थाल्यो । अघिसम्म शान्त हाम्रो घरमा एकदमसँग हुरीबतास आएजस्तो भयो । संसारै घोप्टिएको हो कि भनेजस्तो लाग्यो । टेकेको जमिनै भास्सिँदै भास्सिँदै जान लागेको जस्तो भयो मलाई।

हामीलाई हो न हो, छोरा दुर्घटनामै परेछ भन्ने लाग्यो । जसले मारे, उनीहरूले नै खबर गर्न आइरहेका छन् भन्ने त हामीलाई शंकासम्म पनि थिएन ।मलाई त रुने फुर्सद थियो । नूरप्रसादका बालाई त रोएर बसिरहन पनि समय थिएन । उहाँलाई चितवन जानु थियो । छोरालाई के भएछ भनेर हेर्नु थियो ।उही रामप्रसादले पाखुरामा समातेर उहाँलाई उठायो । अनि अस्पताल जानुपर्छ भनेर तयार हुन लगायो ।‘बाबु ! तँ आमा सम्हालेर बसेस्,’ हिँड्नुअघि उहाँले जेठालाई भन्नुभएको थियो, ‘के भएको हो, म बुझेर आउँछु।’

उहाँ ढुनमुनिँदै घरबाट निस्कनुभयो । लड्लान् रे भनेर उही रामप्रसादले पाखुरामा समातिरहेको थियो ।बाटामा आउँदा रामप्रसादलाई तारन्तार फोन आइरहँदो रहेछ । ‘कहाँ ल्याइपुर्याइस्’ भनेर सोधेका होलान्, उसले भनेछ, ‘बतासे चौकीमा’ । कुराकानीका क्रममा उसले के पनि भनेछ भने, “आमाचाहिँ ढलेकी छन्, नूरप्रसाद छटपटिएर उताउति गरिरहेको छ ।’
‘तँलाई यसरी फोन गरेर सोधिरहने को हो रामे ?’ उहाँले सोध्नुभएछ ।‘जानुका दिदी !’  उसले कुरो फुत्काएछ।

यो जानुका पौडेल अरू कोही नभएर छविलाल पौडेलकी दाजुकी छोरी थिई । ठूलोबाउजस्तै ऊ पनि माओवादीमा लागेर कमान्डरै भएकी छ रे भन्ने सुनेका थियौं । तर, छोरालाई मार्ने काममा जानुका र रामप्रसादहरू नै सामेल थिए भन्नेचाहिँ केही अत्तोपत्तो थिएन । र, पनि बाटाभरि रामप्रसादले मोबाइलमा यसरी जानुकासँग कुरा गर्दा उहाँलाई केही शंका त लागिसकेको रहेछ । तर, पनि छोरो दुर्घटनामै परेको हो र केही घाइते मात्रै होला भन्ने मानेर उहाँ लुरूलुरू हिँडिरहनुभएछ ।साँझतिर भरतपुर अस्पतालमा पुगेपछि रामप्रसादले उहाँलाई भनेछ, ‘बुबा, भाइ त बितिसकेछ !’

त्यो सुन्दा उहाँ बेहोस भएर ढल्नुभएछ । उनीहरूलाई त झन् राम्रो भयो होला । अब बाबु पनि मरिदिए हुन्थ्यो भन्ने ठानेका होलान्।
पोस्टमार्टम गरेर लास जलाउनका लागि कागजपत्र ठिक्क पारेर राखिसकेका रहेछन् । ‘मृतक मेरो छोरा हो, सदगत गर्न मैले बुझिलिए“’ भनेर उहाँको नाममा पत्र नै तयार भइसकेको थियो अरे ! त्यस कागजमा बाबुछोराकै नाम, थर, ठेगाना थियो अरे ! सायद, अघिल्लै दिन सब कागजपत्र मिलाइसकेका होलान् ।बगरमा लगेर लास पोल्ने बेलामा उहाँले छोराको टाउकाबाट भुलभुल रगत निक्लेको देख्नुभएछ ।

गोलीले टाउकामा प्वालैप्वाल पारेको रहेछ । दुवै हात, दुवै घुँडा भाँच्चिएर लन्द्रङ–लन्द्रङ झोल्लिरहेका थिए अरे ! रडले पनि हानेर यातना दिएका रहेछन् ।‘रामेले त मलाई छोरा गाडी दुर्घटनामा पर्याे भनेको थ्यो,’ उहाँ त्यहीँ कराउन थाल्नुभएछ, ‘दुर्घटनामा परेको मान्छेको टाउकामा कसरी गोली लाग्छ ?’तर, केही नबोली उनीहरूले पोलेछन् । त्यसपछि उहाँ भोलिपल्ट घर आउनुभयो । मचाहिँ घाइते भए पनि छोरो ल्याउलान् भनेर पर्खिबसेकी थिएँ । निन्याउरो मुख लगाएर एक्लै आएको देखेपछि डराईडराई सोधें, ‘छोरो खोइ त ?’
‘छोरालाई खाएछन्,’ उहाँले भन्नुभयो, ‘तँ नरो, झन् शत्रु हाँस्छन् फेरि ।’ सुनेर म खङ्ग्रङ्गै भएँ ।

प्रकाशित: २ असार २०७५ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App