५ वैशाख २०८१ बुधबार
खेल

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

मस्को – विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन च्याम्पियनसिपको पहिलो सहभागितामै ठूला भनिएका देशलाई स्तब्ध बनाउन सफल आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध पनि त्यस्तै नतिजा निकाले आश्चर्य मान्नु पर्ने छैन।

युरो २०१६ मा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलविरुद्ध १–० ले पछि परेको स्थितीमा उत्कृष्ट पूनरागमन जनाउँदै आइसल्यान्डले १–१ को बराबरीमा खेल टुंगाएको थियो । अप्रत्यासित नतिजाबाट हतास बनेका रोनाल्डोले आइसल्यान्डलाई प्रतियोगितामा केही गर्न नसक्ने भन्दै विपक्षीको रक्षात्मक रणनीतिको खिस्सी उडाएका थिए।

तर, दोस्रो खेलमा हंगेरीसँग १–१ को बराबरी खेलेको आइसल्यान्डले अन्तिम खेलमा अस्ट्रियालाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो । अन्तिम १६ मा इङल्यान्डलाई २–१ ले स्तब्ध पार्दै आइसल्यान्डले क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो । पहिलो सहभागितामै क्वार्टरफाइनल खेलेपछि आइसल्यान्डले आफूलाई विश्व फुटबलमा उदाउँदो राष्ट्रका रुपमा उभ्याएको थियो।

युरोपियन च्याम्पियिनसिपमा गरेको प्रदर्शनले मात्र आइसल्यान्डलाई अर्जेन्टिनाको कठिन प्रतिस्पर्धीका रुपमा रुपमा उभ्याउनु हतार हुन सक्छ । ‘विश्वकपमा पहिलो खेल, त्यसमाथि प्रतिद्वन्द्वीका रुपमा दुई पटकको विजेता अर्जेन्टिना । हाम्रा लागि यो भन्दा राम्रो स्वागत अरु के हुन सक्छ,’ आइसल्यान्डका प्रशिक्षक हेइमार हलग्रिमसनले ६ महिनाअघि भनेका थिए, ‘हामी अर्जेन्टिनाविरुद्धको खेलका लागि उत्साही छौं।’

२००६ र २०१० को विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरिएको अर्जेन्टिना ब्राजिलमा ४ वर्षअघि जर्मनीसँग फाइनलमा १–० ले पराजित भएपछि उपाधिबाट विमुख भएको थियो । अझ २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पेनाल्टी सुटआउटमा निराश भएको पीडा पनि अर्जेन्टिनी टोलीसँग छ । लगातारका निराशा भुलाउन अर्जेन्टिना शनिबार प्रष्ट नतिजा निकाल्दै उपाधिमाथि दाबेदारी पेश गर्न चाहन्छ । ‘मैले टोलीलाई अन्तिम ४ सम्म प्रवेश गुर्नुपर्छ भनेको छु,’ अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीले भने, ‘कुनै पनि प्रतियोगितामा पहिलो खेलले धरै महत्व राख्छ । पहिलो खेलमा जित्यो भने टोलीको आत्मविश्वास बढ्छ।’

अघिल्लो संस्करणमा पनि अर्जेन्टिनालाई नवप्रवेशी बोस्निया एन्ड हर्जगोभिनाले कडा चुनौती पेश गरेको थियो । तथापी मेसीको निर्णायक गोलमा अर्जेन्टिना २–१ को विजयी नतिजा निकाल्न सफल भएको थियो । अग्ला कद र एयर बल खेल्ने भएकाले आइसल्यान्डको चुनौती अर्जेन्टिनाका रक्षक निकोलस ओटामेन्डी र मार्कुस रोहोलाई पेचिलो बन्न सक्छ । केही दिनम ३१ वर्षमा टेक्ने मेसीको यो अन्तिम विश्वकप बन्न सक्छ । पाँच पटकका विश्व वर्ष खेलाडी मेसीले हाल सम्म अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन् । मेसीले अर्जेन्टिनालाई २०१४ को विश्वकप र त्यसपछि लगातार दुई कोपा अमेरिकाको फाइनलसम्म डोहोर्याए पनि उपाधि उचाल्न सकेका छैनन् । मेसी उपाधि जित्दै फुटबलमा सबै खाले सफलताको स्वाद चाख्न चाहन्छन।

क्रोएसिया र नाइजेरिया समेतको उपस्थितीका कारण ग्रुप अफ डेथ मानिएको समूह ‘डी’ मा सबैका लागि पहिलो खेल जित्नैपर्ने दबाब छ । नकआउट चरणमा पुग्नका लागि पहिलो खेलको जित महत्वपूर्ण हुन सक्छ । पहिलो खेलमा निराश भए जुनसुकै टिम पनि चाढै घर फर्किनु पर्न सक्छ । अर्जेन्टिना विजेताका रुपमा आगामी चरण प्रवेश गर्ने समूहको अर्को खेलमा शनिबार जितकै लक्ष्यमा क्रोएसियाले नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागि क्रोएसिया दुई दशकपछिको पुनरागमन जितका साथ गर्न चाहन्छ।

२० वर्षअघि फ्रान्समा सम्पन्न विश्वकपमा क्रोएसियाले सनसनीपूर्ण प्रदर्शनका साथ तेस्रो स्थान हात पारेको थियो । तर क्रोएसियाका स्ट्राइकर आन्द्रेज क्रामारिचले भने विगतको प्रदर्शनले वर्तमानमा ठूलो अर्थ नराख्ने बताए । उनले विगतको सफलतामा रमाउनु भन्दा अहिले राम्रो गर्नुपर्नेमा जोड दिए।

‘हामी उच्च मनोबलका साथ प्रतियोगितामा होमिएका छौं,’ क्रामारिकले भने, ‘हाम्रो उद्देश्य राम्रो प्रदर्शन गर्दै नकआउट चरणसम्म पुग्नु हो । नाइजेरिया समूहकै कठिन प्रतिद्वन्द्वी हो, तर हामी उनीहरुको चुनौतीको सामना गर्न तयार छौं ।’ रियाल मड्रिडका स्टार लुका मोडरिच नाइजेरिका लागि चुनौती बन्न सक्छन् । ‘मोडरिच विश्वकै उत्कृष्ट खेलाडी हुन्,’ उनले थपे, ‘उनको उपस्थिती टोलीका लागि महत्वपूर्ण छ।’

प्रकाशित: १ असार २०७५ २०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App