coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दाबेदार फ्रान्सलाई जित निर्विकल्प

काजान – व्यावसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरुको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्ननसकेको दुई दशक पूरा भएको छ। घरमै १९९८ को संस्करण आयोजना गर्दा च्याम्पियन बनेको टोली त्यसयता विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सधै निराश हुँदै आएको छ। अझ दुई वर्षअघि आफैले आयोजना गरेको युरोपियन च्याम्पियनसिपमा पनि फ्रान्सले पोर्चुगलसँग फाइनलमा पराजय भोग्नुपरेको थियो।

यसपाली रुसमा जारी विश्वकप फ्रान्सका लागि दोस्रो पटक विश्व च्याम्पियन बनाउन उपयुक्त थलो बन्न सक्छ। छनोट चरणमा इतिहासकै सर्बोत्कृष्ट नतिजा निकाल्दै रुसको टिकट पक्का गरेको फ्रान्सले शनिबार अष्ट्रेलियासँग खेल्दै विश्वकपको यात्रा थाल्नेछ। समूह ‘सी’ को पहिलो खेलमा जित हासिल गर्न सके नकआउट चरण सहज हुने डिडियर डेशच्याम्पसको टोलीलाई राम्ररी थाहा छ। यसपाली उपाधि जित्ने लक्ष्यमा रहेको टोलीको मनोबल कायम राख्न पनि फ्रान्ससामू जितको विकल्प छैन।

चार वर्षअघि ब्राजिल विश्वकपको पहिलो खेलमा होन्डरुसविरुद्ध ३–० को सहज जित हात पार्दा प्रशिक्षक डेशच्याम्पससँग अग्रपंक्तिमा धेरै विकल्प थिए। यसपाली पनि डेशच्याम्पसको टोलीमा एन्टोनी ग्रिजम्यान, ओलिभर जिरौड र किलियन एमबाप्पेजस्ता स्टार खेलाडीको साथ छ। मिडफिल्डमा पाउल पोग्बा लयमा फर्कनु डेशच्याम्पसका लागि अर्को सुखद पक्ष बन्न सक्छ। तर, रक्षक बेन्जामिन मेन्डे घुँडाको चोटका कारण खेल्नेमा दुविधा छ। जुन प्रशिक्षकका लागि चिन्ताको विषय हो। २००६ को उपविजेता फ्रान्स सन् २०१० र २०१४ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो।

यता दुई चरणको प्लेअफ पार गर्दै विश्वकपमा पाइला टेकेको एसियाली राष्ट्र अस्ट्रेलिया फ्रान्ससँग अंक खोस्ने लक्ष्यमा छ। प्रशिक्षक बर्ट भान मार्विचको प्रशिक्षणमा रहेको अस्ट्रेलिया प्रतियोगितामा दरिलो उपिस्थिती देखाउन पनि फ्रान्ससँग कम्तिमा अंक खोस्न चाहन्छ। अस्ट्रेलियाको प्रशिक्षण सम्हाल्नुअघि मार्विच साउदी अरेबियाका प्रशिक्षक थिए। उनकै प्रशिक्षणमा साउदी अरेबियाले विश्वकपको टिकट पक्का गरको होे। अस्ट्रेलियाली फुटबल संघले गत वर्ष मार्विचलाई एन्जे पोस्टेकोग्लुको ठाउँमा नियुक्त गरेको थियो।

अस्ट्रेलियाका कप्तान टिम काहिल रुसमा गोल गर्दै ब्राजिलका पेले तथा जर्मनीका युइए सिलर र मिरोस्लाभ क्लोजसँगै आफूलाई पनि विश्वकपका चार संस्करणमा गोल गर्ने खेलाडीको रुपमा उभ्याउन चाहन्छन्। भेट्रान फरवार्ड काहिलले यसअघि २००६, २०१० र २०१४ को विश्वकपमा गोल गरेका थिए। यद्यपी २००६ को विश्वकपमा अन्तिम १६ सम्म पुग्नु अस्ट्रेलियाले विश्वकपमा पाएको अहिलेसम्मकै ठूलो उपलब्धी हो। २०१० र २०१४ मा भने अस्ट्रेलियाको विश्वकप यात्रा समूह चरणमै सिमित बनेको थियो।

समुह ‘सी’ को अर्को खेलमा पेरु र डेनमार्क दुवै सुखद नतिजाका साथ अघिल्लो चरणको यात्रालाई सहज बनाउने लक्ष्यमा हुनेछन्। दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहेपछि पेरु दुई चरणको प्लेअफमा भाग्यमानी साबित हुदै रुस भ्रमण पक्का गर्न सफल भएको थियो। पेरुले १९८२ पछि पहिलो पटक विश्वकपमा पूनरागमन गरेको हो।

२००२ देखिका सबै विश्वकप खेलेको डेनमार्क पनि पेरुको चुनौती पन्छउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ। डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन पेरुको रक्षापंक्तिका लागि खतरा हुन सक्छन। टोटेनह्यामका २६ वर्षे इरिक्सनले डेनमार्कबाट ७७ अन्तर्राष्ट्रिय खेलमा २१ गोल गरिसकेका छन्।

६४ वर्षे एज हारेडेको प्रशिक्षणमा डेनमार्कले खेल्न लागेको यो पहिलो ठूलो प्रतियोगिता हो। फ्रान्समा सम्पन्न युरोपियन च्याम्पयनसिपमा टोलीलाई छनोट गराउन नसकेपछि तत्कालिन प्रशिक्षक मार्टिन ओनिलले राजिनामा दिएका थिए। त्यसपछि डेनमार्कले हारेडेलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो। डेनमार्कलाई विश्वकपमा छनोट गराउँदै आफ्नो क्षमता प्रमाणित गरिसकेका हारेडे रुसमा पनि सुखद नतिजा निकाल्दै आफूलाई थप प्रमाणित गर्न चाहन्छन्।

 

प्रकाशित: १ असार २०७५ २०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App