८ वैशाख २०८१ शनिबार
राजनीति

बलियो हेडक्वार्टर बनाउनुपर्छ : दाहाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताएका छन्।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालको संयुक्त विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताले अन्तर्राष्ट्रिय आयाम दिएको र यसलाई ठीक ढंगले आत्मसात् गरेर समाजवादको नयाँ आधार तयार गर्न सक्नुपर्ने बताए।

“एक्काइसौँ शताब्दी सूचनाको शताब्दी हो। सूचना प्रविधिमा भएको क्रान्तिलाई ठीक ढंगले बुझ्न र जनतालाई ठीक ढंगले सञ्चार क्षेत्रले सम्प्रेषणको भूमिका खेल्नुपर्छ”, उनले भने, “एकता, बहस, संघर्ष, रुपान्तरणसहित नयाँ आधारको एकताबाट हाम्रो राजनीतिक कार्यदिशा र विचारलाई परिष्कार गरी समाजवादको लक्ष्यमा पुग्न एकमत भएका हौँ। अब हामीले पार्टीको बहुकेन्द्र नभई बलियो हेडक्वार्टर बनाउनुपर्छ।” उनले शक्ति सन्तुलनको आजको अवस्थालाई हेर्दा समृद्धि हुँदै समाजवादको आधार गर्ने अहिलेको प्राथमिकता रहेकाले यही विचारका आधारमा संगठनको एकता गर्न आग्रह गरे।

सत्तामा गएपछि जनताको सेवक नभई मालिक जस्तो ठान्ने प्रवृत्तिका कारण पूर्वी युरोप र सोभियत सङ्घको कम्युनिष्ट सत्ता ढलेको उदाहरणबाट सिकेर आलोचनात्मक चेतका साथ जनतासँग जीवन्तरुपमा जोडिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो। पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकतासँगै मातहतका कमिटी र जनसंगठनको एकता छिट्टै भई देशव्यापी उत्साहको सञ्चार दिने तयारी भइरहेको बताए। रासस

 

प्रकाशित: १ असार २०७५ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App