८ वैशाख २०८१ शनिबार
अन्य

भाइको अबस्था बुझ्न ‘तडप’

डोटी–डिलासैनी–८ बैतडीका गणेश सिंह बोहरा भाइको अबस्था बुझ्न गत साउन २५ गते दिपायल पुगे। उनका भाइ सैनिक हबल्दार देबसिंह बोहरा सुदूरपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत छन्। नियमित घरमा सम्पर्क गरिराख्ने उनका भाइ ४÷५ दिनयता सम्पर्कमा थिएनन्। त्यतिञ्जेल परिवारका सदस्यले त्यसलाई सामान्य रुपमा लिइरहेका थिए।

साउन २३ गते सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायलबाट हतियार गायब भएको र त्यसमा अनुसन्धानकालागि कार्यरत सैनिक कर्मचारीलाई थुनामा राखिएको खबर संचारमाध्यममा आएपछि भने परिवारका सदस्यहरुमा आशंका पैदा भयो। सँगै थुनामा राखिएका सैनिक कर्मचारीलाई यातना दिइएको कुरा पनि ‘गाँइगुँइ’ सुनिन थाल्यो।

पृतनाको सम्पर्क नम्बर डायल गर्दा ‘कुरा गर्न नमिल्ने’ जवाफ आइरह्यो। साथीहरु, सेनामै कार्यरत आफ्ना मान्छेमार्फत पनि अबस्था बुझ्न गरिएको उनको प्रयास असफल भयो।

त्यसपछि भने बोहरा परिवारमा आशंका अझै बढ्दै गयो।  गणेश परिवारका जेठो छोरा हुन्। त्यसैले परिवारको जिम्मेवारी उनैको काँधमा छ। त्यसैले देबसिँहको अवस्था बुझ्ने दबाब उनकै काँधमा पर्यो। ‘बहिनीहरु, बृद्ध बुवा, भाइबुहारी सबैले अबस्था बुझ्न भनेर दबाब दिन थाले,’ उनले भने,‘म तालिमको सिलसिलामा धनगढीमा थिए। २४ गते उतैबाट रातारात भाइको अबस्था बुझ्न दिपायल पुगे।’

दिपायल पुगेपछि २५ गते बिहानै भाइलाई भेट्न भनी पृतना हेडक्वार्टरको गेटमा पुगे। गेटमा सुरक्षार्थ खटिएका सैनिक कर्मचारीले ‘एकैछिन पर्खन’ भने। आधा घण्टापछि जवाफ आयो, ‘माथिबाट आदेश भयो । भेट्न मिल्दैन् ।’ त्यसपछि उनले अबस्था जान्न खोजे। ‘उ कहाँ छ ? कस्तो अबस्थामा छ ? भेट्न किन नमिल्ने हो? भनेर मैले सोधे,’ उनले भने,‘उनीहरु(सुरक्षार्थ खटिएका सैनिक)ले आफूले केही भन्न नमिल्ने भनेर जवाफ दिए।’ त्यसपछि भाइलाई भेट्ने र अबस्था बुझ्ने उद्देश्यले तालिम छाडेर रातारात दिपायल पुगेका उनी केही पत्ता लाउन नसकी फिर्ता भए।

तर, भाइको अवस्था बुझ्ने उनको कार्य अझै समाप्त भएको थिएन। पटक–पटक मोवाइलमा सम्पर्क गर्न खोजे सम्पर्क हुन सकेन। पृतनाको सम्पर्क नम्बर डायल गर्दा ‘कुरा गर्न नमिल्ने’ जवाफ आइरह्यो। साथीहरु, सेनामै कार्यरत आफ्ना मान्छेमार्फत पनि अबस्था बुझ्न गरिएको उनको प्रयास असफल भयो।

यसैबीचमा स्वास्थ्यकर्मीसमेत रहेका उनको तालिम अछामको बयलपाटा अस्पतालमा पर्यो। संयोगले दिपायल भएर जाने अबसर मिल्दा उनी एकपटक फेरि पृतना गेटमा पुगे। यसपटक पनि अगाडिकै अबस्था दोहोरियो। उनी फेरि निरास भएर अछामतर्फ लागे।
यसैबीचमा थुनामै रहेका सैनिक हबल्दार दीपक बहादुर खड्काले ‘आत्महत्या’ गरेको प्रशंग पनि बोहरा परिवारले सुनिसकेको छ। यसले पनि परिवारमा सन्ताप अझ बढेर गएको गणेश बताउँछन्।

यसैबीचमा भदौ १५ गतेको नागरिक दैनिकको समाचार मार्फत संचारमाध्यमको ब्यापक दबाबपछि केही परिवारले ‘थुना’मा रहेका सैनिकहरुलाई भेट्न पाएको खबर बोहरा परिवारले पायो । त्यसपछि बोहरा परिवारमा पनि ‘अबस्था जान्न पाइने लालसा’ बढ्यो । त्यसपछि परिवारका सबै सदस्यले गणेशलाई फेरि दबाब दिन थाले। त्यही दबाबका बीचमा बिदा मिलाएर शनिबार उनी फेरि तेस्रो पटक पृतनाको गेटमा पुगे।
यसपटक जवाफ फेरियो । तर, उनले भेट्न भने नपाइने कुरा बताइयो । ‘भेट्नलाई थुनामा रहेकाको बुबाआमा, श्रीमती वा छोराछोरी मात्रै हुनुपर्छ। अरुले भेट्न पाउदैन्,’ यस्तो किसिमको जवाफ आयो।

उनका आँखा त्यही भरिएर आए । गला अबरुद्ध भयो। उनी त्यहाँ थप केही बोल्न सकेनन्। ‘आँशु नथामिएपछि सिधै तपाइँलाई (नागरिक संबाददाता) खोज्दै आएको हुँ,’ नागरिकन्युजसँगको भेटपछि आँशु झार्दै उनले भने,‘अब म के गरु ? बुबा ७५ बर्षका छन्। बिरामी छन्। गाउँबाट हिँडाएर ल्याउन  सकिन्न। आमा बितेको तीन वर्ष भयो।

उसकी श्रीमती स–साना छोराछोरी उती टाढाबाट यहाँ कसरी ल्याउने?’ अहिलेसम्म भाइको र परिवारको सबै जिम्मेबारी आफैंले पूरा गरेको र उसको(हबल्दार देबसिंह)को अभिभावक आफैं भएको उनले बताए। ‘उसको अभिभावक पनि मै हुँ । गत माघमै १६ वर्ष जागिर पुगेर पेन्सन भैसकेको थियो। अब के गरांै दाई भनेर सोधेको थियो,’ उनले भने,‘मैले घरमा खाली के बस्छस् । जागिर नछाड भनेको थिए। अहिले आफूले दिएको त्यही सुझाव भारी भैरहेको छ।’ भोलि भाइलाई दायाँबायाँ भए उसको परिवारको जिम्मेवारी समेत आफ्नै काँधमा आउने उनले बताए। ‘अहिलेसम्म ब्यहोरी रहेको छु। भोलिपनि मैले नै ब्यहोर्नुपर्ने हो। तर मलाइ नै पराई ठानेर भेट्न दिएन्,’ गहभरी आँशु पार्दै उनले भने ।

 

प्रकाशित: १९ भाद्र २०७३ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App