coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सालाह खेल्नेमा कुपर विश्वस्त

मस्को – इजिप्टका प्रशिक्षक हेक्टर कुपरले शुक्रबार उरुग्वेविरुद्ध हुने खेलमा स्ट्राइकर मोहम्मद सालाह खेल्नेमा विश्वस्त भएको बताएका छन् । ‘सालाह मंगलबारबाट अभ्यासमा सहभागी भएका थिए,’ कुपरले भने, ‘उनी क्रमिक रूपमा फिट हुँदै छन् । टोलीको महत्वपूर्ण सदस्य भएकाले उनको उपस्थिति टोलीका लागि बलियो मनोबल बन्न सक्छ।’

लिभरपुलका स्ट्राइकर सालाह गत महिना रियाल मड्रिडविरुद्धको च्याम्पियन्स लिगको फाइनल खेलमा काँधको चोटका कारण मैदानबाट बाहिरिएका थिए । सालाहको उत्कृष्ट प्रदर्शनमा इजिप्टले २८ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको थियो । अफ्रिकन छनोटको पहिलो चरणको ६ खेलमा ५ गोल गरेका सालाहले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा इजिप्टले सन् १९९० पछि विश्वकप टिकट काटेको थियो।

‘हामीले २८ वर्षपछि पुनः एक पटक विश्वकप छनोट सपना साकार पारेका छौं,’ मंगलबार केही समय अभ्यासमा देखिएका सालाहले भने, ‘हामी यो उपलब्धिलाई सार्थक बनाउने प्रयास गर्नेछौं ।’ इजिप्ट विश्वकपअघि खेलिएका दुवै अभ्यास खेलमा जितविहीन बनेको थियो । पहिलो अभ्यास खेलमा कोलम्बियासँग गोलरहित बराबरी गरेको इजिप्टले दोस्रो खेलमा बेल्जियमलाई ३–० को नतिजा सुम्पिएको थियो।

यता उरुग्वेका लुइस स्वारेज र इड्सन काभानी इजिप्टको रक्षापंक्तिका लागि मुख्य चुनौती बन्न सक्छन् । काभानीले गत सिजन पेरिस सेन्ट जर्मनबाट फ्रान्सेली लिग वानमा ४० गोल गरेका थिए भने दक्षिण अमेरिकी छनोटमा समेत १० गोल गरेका थिए । सन् २०१० को विश्वकपमा चौथो स्थान हात पारेको उरुग्वेले सन् २०१४ को विश्वकपमा भने अन्तिम १६ मा कोलम्बियालाई नतिजा सुम्पिँदै प्रतियोगिताबाटै बाहिरिएको थियो।

तर स्वारेजले विपक्षी खेलाडीमाथि गर्ने व्यवहार भने उरुग्वेका लागि टाउको दुखाइ बन्न सक्छ । सन् २०१० को विश्वकपमा घानाका डोमिनिक आडियाएको प्रहार गोललाइनमा ह्यान्ड गर्दै जोगाएका स्वारेज सन् २०१४ को विश्वकपमा इटालीका रक्षक जर्जियो केलेनीलाई टोकेपछि प्रतिबन्धमा परेका थिए । प्रशिक्षक ओस्कार टार्भेजको प्रशिक्षणमा उरुग्वे विश्वकपमा सहभागी भएको यो लगातार तेस्रो पटक हो भने समग्रमा चौथो पटक । यसअघि उनले उरुग्वेलाई सन् १९९०, २०१० र २०१४ मा पनि प्रशिक्षण दिएका थिए।

यस्तै समूह ‘बी’ मा बलियो प्रतिद्वन्द्वी स्पेन र पोर्चुगलसँगै रहेकाले मोरक्को र इरान शुक्रबार आमनेसामने हुँदा स्पष्ट तीन अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न चाहन्छन् । सन् १९९८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको मोरक्को अहिलेसम्म अन्तिम १६ पार गर्न सकेको छैन । मोरक्कोले सन् १९८६ मा अन्तिम १६ मा प्रवेश गरेको थियो । त्यसयताका तीन विश्वकपमा मोरक्कोको यात्रा समूहचरणमा सकिएको थियो।

मोरक्को अफ्रिकन छनोटको तेस्रो चरणमा गोल नखाने एक मात्र टोली हो । मोरक्कोलाई विंगर नाबिल डायररको अनुपस्थिति भने खल्लो बन्न सक्छ । चोटका कारण डायररले विश्वकप अघि खेलिएका स्लोभाकिया र स्टोनियाविरुद्धको दुवै खेल गुमाएका थिए । यता कार्लोस क्वरोजको प्रशिक्षणमा लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको इरान पनि प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ।

हालसम्म तीन विश्वकपमा सहभागी भएको इरानले प्रतियोगिताको समूह चरण पार गर्न सकेको छैन । निलम्बनमा परेका साहिद इजाटोलाही तथा चोटका कारण मैदान बाहिर रहेका मेहदी तारेमी र अस्खान डेजाघाको अनुपस्थिति इरानका लागि महँगो बन्न सक्छ।

प्रकाशित: १ असार २०७५ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App