८ वैशाख २०८१ शनिबार
खेल

दाबेदारबीचको भिडन्तमा स्पेनलाई दबाब

सोची (एपी)– उपाधिको मुख्य दाबेदारका रूपमा रूस भ्रमणमा निस्किएको स्पेनिस राष्ट्रिय टोलीमा बुधबार हलचल उत्पन्न भयो। शुक्रबार पोर्चुगलसँग खेल्दै समूह ‘बी’ को सुरुआत गर्ने तयारीमा रहेको स्पेनले प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै केही घण्टाभित्रै फर्नान्डो हायरोलाई नियुक्त गर्‍यो।

संघलाई कुनै जानकारी नगराई रियाल मड्रिडको प्रस्ताब स्वीकार गरेको भन्दै स्पेनिस फुटबल संघले लोप्तेगीलाई बर्खास्त गरेको थियो । अन्तिम समयमा मुख्य प्रशिक्षक परिवर्तन हुँदा टिमको लयमा त्यसले प्रभाव पार्न सक्छ। त्यसले टिममा समस्या रहेको पनि संकेत गर्छ । जुन २०१० को विश्व च्याम्पियन टोलीका लागि सुखद पक्ष होइन। तर सोचीस्थित फिस्ट रंगशालामा पोर्चुगलसँग खेल्दै विश्वकप २०१८ को सुरुआत गर्दा नवनियुक्त प्रशिक्षक हायरो जितका साथ ‘डेब्यु’ गर्न चाहन्छन्।

‘हामीले विगतका कुरा बिर्संदै पोर्चुगलविरुद्धको खेलमा केन्द्रित हुन आवश्यक छ,’ हायरोले भने, ‘हामीसँग लोप्तेगीको बर्खास्तगीमा दुखी भएर बस्ने समय छैन । हामीले उत्कृष्ट प्रदर्शन गर्दै परिपक्वता देखाउन आवश्यक छ। हामी सबैमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम छौं भन्ने अत्मविश्वाससमेत हुन आवश्यक छ।’

नयाँ प्रशिक्षकको भनाइलाई साथ दिँदै भेट्रान रक्षक जेरार्ड पिकेले १९८९ मा युनिभर्सिटी अफ मिचिगनको बास्केटबल टिमले भोगेको अवस्थाको स्मरण गरे। त्यो बेला एनसिएए प्रतियोगिता सुरु हुन केही समय मात्र बाँकी रहँदा मिचिगनले मुख्य प्रशिक्षक परिवर्तन गरेको थियो। तर प्रतियोगिता सकिँदा मिचिगन च्याम्पियन रहेको स्मरण गर्दै पिकेले आफूहरूले पनि त्यही टिमबाट प्रेरणा लिनु जरुरी रहेको बताए।

सन् २०१४ को विश्वकप र सन् २०१६ को युरोपियन च्याम्पिनसिपमा उल्लेख्य प्रदर्शन गर्न नसकेको स्पेनले लोप्तेगीको आगामनसँगै लगातार २० खेल सम्म अपराजित यात्रा गरेको थियो । यस क्रममा लोप्तेगीले लगातारको सफल नतिजासँगै स्पेनलाई पुनः एक पटक विश्व फुटबलको टिमको रूपमा उभ्याएका थिए।

‘पक्कै पनि प्रतियोगिताको एक दिनअघि नयाँ प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हाल्नु चुनौतीपूर्ण छ,’ हायरोले भने, ‘मसँग एक वर्ष रियाल ओभिडियोमा एक कार्यकाल मुख्य प्रशिक्षक र रियाल मड्रिडमा सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेको मात्र अनुभव छ । र म झन्डै ३० वर्ष यो खेलसँग नजिक छु । त्यसैले म सुखद नतिजा दिलाउनेमा विश्वस्त छु।’

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस भने टोलीलाई सन् २०१६ मा युरोपियन च्याम्पियन हुँदा अपनाएको रणनीति रूसमा दोहो¥याउन चाहन्छन् । सान्तोसले पोर्चुगल उत्कृष्ट टोली भए पनि आफूहरू विश्वकपको प्रमुख दाबेदार भने नभएको स्वीकारे । उनले स्पेनविरुद्धको खेल उत्कृष्ट हुने बताउँदै यसलाई दाबेदार टोलीबीचको भिडन्तका रूपमा बयान गरे।

सन् २०१६ को युरोपियन च्याम्पियन जित्दाका १३ खेलाडीले रूस विश्वकपमा पनि टोलीमा स्थान बनाउन सफल भएका छन्। उक्त खेलमा रहेका अन्य दुई सदस्य भेट्रान स्ट्राइकर नानी र युवा मिडफिल्डर रेनाटो सान्चेज भने टोलीमा छैनन्।

स्पेन र पोर्चुगल विश्वकपमा आमानेसामने हुन लागेको यो केवल दोस्रो पटक हो। यसअघि सन् २०१० को विजेता स्पेनले अन्तिम १६ मा पोर्चुगलको चुनौती समाप्त पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। यी दुई टोली अन्तिम पटक सन् २०१२ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनमा भिडेका थिए । उत्त खेल स्पेनले पेनाल्टी सुटआउटमा जितेको थियो।

 

 

प्रकाशित: १ असार २०७५ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App