coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

गीतको एक दृश्यमा अभिनय गर्दै खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का।

काठमाडौं – दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म ‘छक्का पन्जा ३’ र अशोक शर्माको फिल्म ‘जय भोले’ दशैंको फूलपातीका दिन भिड्ने खबरले चर्चामा छन्।

अशोक शर्मा उद्योगका पुराना खेलाडी र ‘छक्का पञ्जा’ ब्रान्डका कारण फूलपातीमा दुवै फिल्म रिलिज होलान् न नहोलान् अडकल बजारमा अनुमान चलिरहेको छ । तर ‘जय भोले’का निर्माता तथा निर्देशक अशोक शर्माले दशैंमा दुवै फिल्म आउने सम्भावना रहेको संकेत गरे।

फिल्म ‘जय भोले’को पहिलो गीत ‘उम्लियो भने पोखिन्छ’ सार्वजनिक कार्यक्रममा शर्माले रिलिजका विषयमा निरन्तर संवाद भइरहेको बताए । ‘दीपक मेरो भाइ हो । ऊसँग मेरो कुरा भइरहेको छ । दशैंमा ७ दिन जति विदा हुन्छ । त्यो फेस्टिभ मुडमा दुईवटा फिल्म आउँदा दर्शकले दुवै फिल्म हेर्नुहुन्छ । त्यसमा हलहरुमा के कसरी गरेर जाने भन्ने कुरा भइरहेको छ,’अशोकले भने,‘आफ्नो फिल्मलाई कुन तहमा कसरी रिलिज भन्ने कुरा हरेक निर्माताले सोचेका हुन्छन् । मैले पनि त्यही अनुसार सोचेको छु।

उनले घटस्थापनादेखि सुरु भएको दशैं पूर्णिमासम्म चल्ने भएकाले कुनै समयमा पनि फिल्म लाग्ने जनाए । ‘छक्का पन्जा आफैमा ब्रान्ड बनिसकेको छ । एक र दुईले ब्रान्ड बनाइसकेका छन् । दशैंसम्म जय भोले पनि एउटा ब्रान्ड बनिसक्छ । त्यसपछि दशैंमा दुईवटा ब्रान्ड रिलिज हुन्छ ।’ अशोकले भने, ‘दशैंमा दुई फिल्म चल्दा केही हुँदैन । दर्शकलाई मेरो आग्रह दुवै फिल्म हेर्नुहोस् र रमाइलो गर्नुहोस् भन्ने नै हो।’

अशोकको फिल्ममा नायिका स्वस्तिमा खड्का प्रमुख भूमिकामा छिन् । जबकि दीपक–दीपाको फिल्ममा पनि दर्शकले स्वस्तिमालाई देख्न पाउनेछन् । उनले ‘छक्का पन्जा ३’को एक गीतमा नृत्य गरेकी छन् । उनलाई पत्रकारले ‘छक्का पन्जा ३ को एउटा गीतमा देखिँदा जय भोलेलाई असर गर्छ जस्तो लाग्दैन ?’ भनी प्रश्न सोध्दा उनले आक्रामक जवाफ दिइन् । ‘के भयो त ? २ वटा फिल्म आउनै हुन्न भन्ने छ र ?’ उनले नायिका प्रियंका कार्कीको उदाहरण दिँदै भनिन्,‘प्रियंका दिदीको एकैचोटि ४ वटा फिल्म रिलिज हुँदा केही नहुने, मेरो दुईवटा आउँदा के भयो ? मेरो सम्बन्ध दिपकराज गिरी दाई र दिपाश्री निरौला दिदीसँग निकै माथिको छ । मलाई उहाँहरुले केमियो भूमिकाको अफर गरे पनि म नाइ भन्दिनँ।’

अभिनेता खगेन्द्र लामिछानेले फिल्ममा आफू ‘भिन्न चरित्रमा’ देखिने खुलाए । ‘मैले अहिलेसम्म फिल्ममा आफूले दुःखै दुःख पाएको चरित्रमा अभिनय गरेको छु । तर फिल्म ‘जय भोेले’को काम सुरु गर्दादेखि नै मलाई नौलो अनुभूति भइरहेको थियो । फिल्मको सुटिङका बेला पनि उस्तै रमाइलो भयो,’खगेन्द्रले भने,‘म व्यावसायिक फिल्ममा कमै देखिन्छु । तर यो फिल्ममा काम गर्दा बेला–बेलामा व्यवसायिक फिल्म खेल्नु पर्नेरहेछ भन्ने लागेको छ ।’ सार्वजनिक गीतमा नृत्यसमेत गरेका खगेन्द्रले आफूलाई नाच्न नआउने बताउँदा बताउँदै बाध्यताले नाँच्नु परेको खुलाए।

सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ ।  गीतमा राजनराजसँग गायिका मेलिना राईले सहकार्य गरेकी छन् ।
बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल र जयनन्द लामाले अभिनय गरेका छन् । फिल्ममा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, सुरवीर पण्डित, शारदा गिरी, रामचन्द्र अधिकारी, किशोर भण्डारी र सुरेन्द्र केसीको पनि अभिनय छ ।किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माता रहेको फिल्ममा खगेन्द्र लामिछानेको लेखन, पुरुषोत्तम प्रधानको छायांकन र राजु ढुंगानाको सम्पादन छ ।
 

प्रकाशित: १ असार २०७५ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App