४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

अमेरिकालाई चीनको आग्रह

बेइजिङ– व्यापारको विषयमा सही निर्णय लिन अमेरिकालाई चीनले आग्रह गरेको छ ।चिनियाँ सामग्रीमा भन्सार कर (ट्यारिफ) लाई सक्रिय बनाउनेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयारी गरिरहेकै बेला वासिङ्टनले विवाद गर्ने निर्णय रोजे त्यसको प्रतिवाद गर्न आफू तयार रहेको भन्दै बिहीबार बेइजिङले यस्तो आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि करिब ५० विलियन डलरबराबर ट्यारिफ लगाउने भनेर तयार पारेको चिनियाँ सामानको सूचीमा शुक्रबार पुनर्विचार गर्नसक्ने बताइएको छ । पुनर्विचारसँग जानकार अमेरिकी अधिकारीका अनुसार ट्रम्पले यसअघि तयार पारेको चिनियाँ सामानको सूचीको आकार केही मात्रामा घट्न सक्छ ।

जसअन्तर्गत सूचीमा रहेका केही सामान हट्न सक्छ भने केही सूची बाहिरका सामान थप हुन सक्छन्, रोयटर्सले जनाएको छ । ट्रम्पले विशेष गरेर प्राविधिकि क्षेत्रका सामानमा ट्यारिफको घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।सार्वजनिक भएको अर्को प्रशासनिक विधेयकअनुसार ट्रम्पले तयार पारेको नयाँ सूची ५० विलियन डलर बराबर हुने र करिब एक हजार तीन सय चिनियाँ सामानमा ट्यारिफ लगाइने छ । यद्यपी कुल डलर र सामानको संख्यामा परिवर्तन हुनसक्ने बताइएको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगै राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीन सरकारका वरिष्ठ कूटनीतिज्ञ एवं विदेशमन्त्री वाङ यीले अमेरिका–चीन व्यापारको विषय आउँदा दुईवटा विकल्प सँगसँगै आउने बताए ।
‘पहिलो विकल्प सहकार्य र द्विपक्षीय फाइदा हो भने अर्को विकल्प विवाद र आपसी घाटा हो ।

चीन पहिलो विकल्प रोज्छ,’ वाङलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘हामी अमेरिकाले पनि पहिलो विकल्प नै रोजोस् भन्ने चाहन्छौं । यदि अमेरिकाले दोस्रो विकल्प रोज्यो भने निश्चय पनि हामीले पनि त्यसको प्रतिक्रिया दिन तयारी गरेका छौं,’ पत्रकार सम्मेलनमा वाङले बताए ।

चिनियाँ सामानमा ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको कदमसँगै बेइजिङले अमेरिकी कृषि र ऊर्जासम्बन्धी सामान खरीद गर्ने र अमेरिकासँगको व्यापार घाटा घटाउने विषयलाई केन्द्रमा राख्दै दुई देशबीच पटक पटक वार्ता भएका छन् ।बेइजिङमा चिनियाँ अधिकारीहरुसँग यसै महिना भेटेका अमेरिकी वाणिज्यमन्त्री विल्बर रोससमक्ष चीनले ७० विलियन डलर बराबरको थप अमेरिकी सामग्री तथा उत्पादनमूलक सामान खरीद गर्ने प्रस्ताव गरेको थियो । यद्यपी चीनको यस्तो प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले भने अझै स्वीकार नगरेको उनी निकट व्यक्तिलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

दुई देशबीचको असमझदारीलाई समाधान गर्न पछिल्ला समय भएका सम्झौतालाई रचनात्मक रूपमा प्रयोग गर्नुपर्ने वाङले बताएको रोयटर्सले जनाएको छ ।‘मलाई लाग्छ अमेरिकाले यो विषयलाई गम्भीरताका साथ लिनेछ जसका कारण दुवै देशले जित हासिल गर्नेछन्,’ वाङलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

‘पछिल्लो समय अमेकिरा र चीनबीच पटक पटक वार्ता भइरहेकै बेला अमेरिकाले एक पक्षीय रूपमा कुनै अप्रिय निर्णय लिँदैन भन्ने मलाई लागेको छ,’ उनले बताए । वाङसँगै रहेको अमेरिकी विदेशमन्त्री पोम्पेओले चीनसँगको अमेरिकी व्यापार घाटा अझै कैयौं गुणा माथि रहेको भए पनि वाङसँग सुख्द वार्ता भएको बताए ।‘चीनसँगको व्यापार अझै सन्तुलित होस् भन्ने विषय अमेरिकी राष्ट्रपति ट्रम्पका लागि कति महत्वपूर्ण छ भन्नेबारे म जोड दिन चाहन्छु । हामीबीचमा सुख्द र रचनात्मक छलफल भयो,’ चिनियाँ समकक्षी वाङसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा पोम्पेओले बताए ।

प्रकाशित: १ असार २०७५ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App