७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘पूर्ण निःशस्त्रीकरण नभएसम्म नाकाबन्दी रोकिँदैन’

दक्षिण कोरियाको राजधानी सोलस्थित विदेश मन्त्रालयमा भएको त्रिपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा तस्बिर खिचाउँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ–ह्वा र जापानी विदेशमन्त्री टारो कोनो (बायाँबाट क्रमशः) । तस्बिर :

वासिङ्टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण सम्पन्न नगरेसम्म उसविरुद्धको कडा नाकाबन्दी कायम रहने बताएका छन्।

दक्षिण कोरियाली तथा जापानी समकक्षीसहित बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै अमेरिकी विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाले पूर्ण निःशस्त्रीकरण गरेको नदेखाएसम्म उसविरुद्धको नाकाबन्दी कायम रहने बताएका हुन्।

‘निःशस्त्रीकरण र नाकाबन्दीलाई सिलसिलेवार ढंगले लानुपर्छ भन्ने विषयमा राष्ट्रपति ट्रम्प प्रस्ट हुनुहुन्छ,’ विदेशमन्त्री पोम्पेओले पत्रकार सम्मेलनका क्रममा बताए । ‘हामीले पूर्ण निःशस्त्रीकरण प्राप्त गरेपछि मात्रै उत्तर कोरिया नाकाबन्दीबाट मुक्त हुनेछ,’ पोम्पेओलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसै साताको मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच भएको शिखर बैठकको मर्मअनुसार आफूविरुद्धको नाकाबन्दी हट्ने सोच बनाएको प्योङयाङको धारणाविपरित अमेरिकी विदेशमन्त्रीको भनाइ बाहिरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यमले ट्रम्प–किमबीचको शिखर बैठकका क्रममा दुवै नेताले कोरियाली प्रायद्वीपमा शान्ति प्राप्ति र निःशस्त्रीकरणबारे चरणबद्ध सिद्धान्त पहिचान गरेको विषय बुधबार प्रकाशन गरो थिए ।

सिंगापुरमा मंगलबार भएको शिखर बैठकमा ट्रम्प र किमले नयाँ सम्बन्ध स्थापना भएको जिकिर गर्दै चार बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।शिखर बैठकमा उत्तर कोरियाली सर्वोच्च नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्न काम गर्ने आफ्नो पूर्व प्रतिबद्धतालाई पुनः पुष्टि गरेका थिए भने ट्रम्पले उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति गराएका थिए।

शिखर बैठकपछि आयोजना भएको पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अन्त्य गर्ने घोषणा गरेका थिए । यद्यपी बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक भएको शिखर बैठकको सम्झौतामा उत्तर कोरियाले कसरी उसको आणविक हतियार त्याग्छ भन्ने विषय नभएको र निःशस्त्रीकरणको प्रक्रिया कसरी प्रमाणित गरिन्छ भन्नेबारे पनि केही उल्लेख नभएकाले कतिपय विश्लेषकले मंगलबारको सम्झौताप्रति संशय प्रकट गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच मंगलबारको ऐतिहासिक शिखर बैठकको उपलब्धी र अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास रोक्नेबारे राष्ट्रपति ट्रम्पको आश्चर्यजनक घोषणाको विषय क्षेत्रीय गठबन्धन राष्ट्रलाई जानकारी गराउन अमेरिकी विदेशमन्त्री पोम्पेओ सिंगापुरबाट सोझै दक्षिण कोरिया पुगेका थिए।

दक्षिण कोरिया पुगेका पोम्पेओले मंगलबारको शिखर बैठकले अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा ‘टर्निङ प्वाइन्ट’ भएको समेत बताए पनि पछिल्लो विकासक्रमबाट आफूले सुविधा पाउने दाबीसहित राज्य सञ्चालित उत्तर कोरियाली सञ्चारमाध्यममा आएका समाचारलाई भेन खण्डन गरेको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य अभ्यास रोक्ने बताए पनि अमेरिका, दक्षिण कोरिया र जापानको सम्बन्ध मजबुत रहेको विदेशमन्त्री पोम्पेओले पत्रकार सम्मेलनका क्रममा बताए । अमेरिका–दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास आफ्नो सुरक्षाका लागि महत्वपूर्ण रहेको दक्षिण कोरिया र जापानले सधैं दाबी गर्दै आइरहेका छन् भने सोही अभ्यासलाई लिएर उत्तर कोरिया क्रुद्ध हुने गरेको छ ।

पत्रकार सम्मेलनमा दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ–ह्वाले पनि विदेशमन्त्री पोम्पेओकै भनाइलाई समर्थन गर्दै वासिङ्टन र सोलबीचको सम्बन्ध पहिलेजस्तै मजबुत रहेको बताइन् । त्यसैगरी जापानी विदेशमन्त्री टारो कोनोले पनि अमेरिका–उत्तर कोरियाबीचको शिखर बैठक चुनौतीपूर्ण भए पनि त्यसले महत्वपूर्ण प्रक्रियाको सुरुवात गरेको भन्दै तीन देशबीचको संयुक्त प्रयासलाई जारी राख्ने बताए।

 

 

प्रकाशित: १ असार २०७५ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App