७ वैशाख २०८१ शुक्रबार
अन्य

सडकमा टिपर चालकको ‘दादागिरी’

जोरपाटीका रमेश पौडेल सडकमा हिँड्दा टिपर देखियो भने निकै डराउँछन् । मोटरसाइकल चलाउँदा पनि उनी उत्तिकै होसियार हुन्छन् । कतै टिपरले ठोकिहाल्छ भन्ने उनलाई डर छ । यसको कारण हो– टिपर दुर्घटना बढ्नु।

पछिल्लो समय उपत्यकामा टिपर दुर्घटना बढेको छ । पछिल्लो २२ दिनमा उपत्यकामा टिपर दुर्घटनाबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् ।

गत बुधबार अस्मिता भण्डारी (२४)को पनि टिपर दुर्घटनाबाट ज्यान गयो । स्कुटरमा सवार उनलाई सोही दिशामा गुडिरहेको बा ४ख ३५५० नम्बरको टिपरले ठक्कर दियो ।त्यसको १५ दिनअघि अर्थात् जेठ १५ गते ठूलो भर्याङमा नुवाकोटका शंखर कोइराला (४७) पनि टिपरको सिकार भए । मोटरसाइकलमा सवार उनलाई विपरित दिशाबााट आउँदै गरेको बा५ख ५०० नम्बरको टिपरले ठक्कर दियो ।

जेठ ९ गते भक्तपुरमा टिपरको ठक्करबाट तीन जनाको ज्यान गयो । साँगाबाट जगतीतर्फ आउँदै गरेको बा३ख ६६७४ नम्बरको टिपरले सोही दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो।

२२ दिनमा ५ को मृत्यु

चालू आर्थिक वर्षको १० महिनामा उपत्यकामा टिपर दुर्घटनाबाट ज्यान गुमाउनेको झन्डै दुई दर्जन छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार यस अवधिमा १९ जना ज्यान गइसकेको छ ।टिपर दुर्घटनामा घाइते हुनेको संख्या पनि उत्तिकै छ । गत जेठ २८ गते भैसेपाटीबाट खोकनातर्फ गइरहेको बा२ख ९३०१ नम्बरको टिपरले ठक्कर दिँदा खिलबहादुर बुढाथोकीलाई घाइते भएका थिए।

जेठ २४ गते भैसेपाटीमै टिपर दुर्घटना हुँदा ज्ञानीकुमार भुसाल घाइते भए । बा४ख १५०४ नम्बरको टिपरले सोही दिशामा गुडिरहेको बा७च ९४४२ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार भुसाल घाइते भएका हुन् । दुर्घटनाबाट कारमा पनि क्षति पुगेको थियो ।जेठ १७ गते कंलकीबाट थानकोट जाँदै गरेको बा४ख ३३९६ नम्बरको टिपरले सोही दिशातिर गुडिरहेको बा८४प ८०४९ नम्बरको स्कुटरलाई ठक्कर दियो । ठक्करबाट स्कुटर चालक यमबहादुर ढुंगाना घाइते भए।

महाशाखामा चालू आवको ११ महिनामा १२ सय ६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन् । चालकको लापरबाहीले दुर्घटना भइरहेको महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली बताउँछन् । ‘टिपर चालकले सडकमा ज्यादती नै गर्न लागेको देखिन्छ,’ उनी भन्छन्, ‘चालकको लापरवाहीले नै बारम्बार दुघर्टना हुने गरेको छ ।’ उनका अनुसार तीव्र गतिकै कारण टिपर दुर्घटना भएको हो । धेरै टिप गरेर बढी कमाउने मनसायले चालकले तीव्र गतिमा चलाउने गरेको र दुर्घटना हुने गरेको उनी बताउँछन् । टिपरले मोटरसाइकल, साना सवारी र पैदलयात्रीलाई ठक्कर दिने गरेको महाशाखाको तथ्यांकले देखाउँछ ।

चालकले सवारीमा ध्यान केन्द्रित नगर्नु, ओभरटेक गर्न खोज्नु, मोबाइल खेलाउनु, गीत–संगीत सुनेर रमाइलो गर्न खोज्नु र एउटै चालकले लामो समयसम्म सवारी चलाउनुले गर्दा दुर्घटना हुने गरेको प्रवक्ता मैनाली बताउँछन् ।ट्राफिक नियम मिच्नेलाई महाशाखाले जरिवाना गर्दै आएको छ । महाशाखाको तथ्यांक अनुसार वर्षेनी झन्डै १८ लाख सवारीसाधन कारवाहीमा पर्छन् । युवा चालकले चलाएका टिपर बढी दुर्घटना हुने गरेको प्रवक्ता मैनालीले बताए । चालक सुध्रिए मात्रै दुर्घटना घट्ने महाशाखा बताउँछन् ।

‘फितलो कारवाहीले घटेन दुर्घटना’
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा दुर्घटना गराउनेलाई सर्वस्वसहित जन्मकैदको व्यवस्था छ । तर, दुर्घटना गराउने चालकलाई सामान्य जरिवाना गराउने र ३५ दिन मात्रै जेलसजाय हुने गरेको छ।

‘दुर्घटना गराउने चालकलाई फितलो कारवाही गरिँदा दुर्घटना नरोकिएको हो,’ यातायातको विकृतिविरुद्ध आवाज उठाउँदै आएका रामबहादुर थापाले भने, ‘कडा कानुनी व्यवस्था नगर्ने हो भने सडक दुर्घटना रोकिने संकेत देखिन्न ।’ मनपरी ढंगले सवारीसाधन चलाउनेको चालक अनुमतिपत्र खारेज गर्ने, ज्यान मारे कम्तीमा दुई वर्षसम्म जेलसजाय गर्ने हो भने चालक सचेत हुने र दुर्घटना घट्न सक्ने थापाको अनुमान छ।

प्रकाशित: १ असार २०७५ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App