coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मित्रपार्क–गोकर्ण सडकको अस्तव्यस्त

ठुलठूला खाल्डाखुल्डी । खाल्डामा जताततै पानी जमेको छ । यो दृष्य मित्रपार्क–गोकर्ण सडकखण्डको नयाँबस्ती क्षेत्रमा शुक्रबार देखिएको हो । सडकको हिलो देख्दा लाग्छ– रोपाइँ गर्न ठिक्क पारिएको खेत हो।

समयमै मर्मत नहुँदा सडकको यो दुर्दशा भएको हो । जसका कारण यात्रुले सास्ती पाएका छन् । मर्मत गर्न पटकपटक माग गर्दा पनि सरोकारवालाले चासो नदिएको स्थानीयको दुखेसो छ ।‘सडक बिग्रँदा सास्ती खेप्दै आएका छौं,’ नयाँबस्तीका करुण सुवेदी भन्छन्, ‘तैपनि सरकार सडक मर्मत गर्नुको साटो आलटाल गरिरहेको छ ।’ उनका अनुसार ठेकेदारले निर्माण सामग्री सडक बीचमै राख्दा पनि समस्या आएको हो।

‘सडक बिग्रँदा सास्ती खेप्दै आएका छौं, तैपनि सरकार सडक मर्मत गर्नुको साटो आलटाल गरिरहेको छ ।’

स्थानीयका अनुसार सडक बिग्रिएको पाँच वर्ष भइसक्यो । सडक मर्मतको जिम्मा सडक डिभिजन कार्यालय, काठमाडौं १ को हो । कार्यालयले सडक मर्मत भइरहेको जनाएको छ । ‘हामीले मित्रपार्क–गोकर्ण सडक धमाधम मर्मत गरिरहेका छौं,’ काठमाडौं डिभिजन कार्यालय १ का प्रमुख मुकुन्द अधिकारीले भने । स्थानीयले भने ठेकेदारले कछुवा गतिमा सडक मर्मत गरेको आरोप लगाएका छन् । कार्यालयले भने मर्मत छिटो सक्ने गरी काम भइरहेको जनाएको छ । ‘प्योकज–प्याकेजमा काम भइरहेकाले त्यसको नतिजा नदेखिएको हो,’ कार्यालय प्रमुख अधिकारीले भने । उनका अनुसार सडक पाँच प्याकेजमा काम भइरहेको छ।

दुई प्याकेजको काम पूर्णरूपमा सकिएको उनले बताए । चावहिल खण्डको ओरालोमा ढलानको काम भइरहेकाले सडक मर्मत अन्तिम चरणमा रहेको उनको भनाइ छ ।कालोपत्रे नभएसम्म सडक मर्मत नदेखिने हुँदा काम नभएकोजस्तो देखिएको उनले बताए । ‘सडक मर्मतको धेरै काम सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘अबको केही महिनाभित्रै सबै सडकमा पूर्णरूपमा कालोपत्रे गराउनेछौं।’

 

प्रकाशित: १ असार २०७५ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App