सांस्कृतिक सहरको अाधुनिक सपना

शुक्रबार, ०१ असार २०७५, ०७ : १२ शिवहरि घिमिरे  | @shivsamir

372


६ किमी हाराहारी क्षेत्रफलमा फैलिएको सिंगो भित्री सहर। सहर छिर्नेवित्तिकै भेटिन्छ, मौलिकता कला संंस्कृति । दुई तलेसम्मका एकैनासे घर। प्रत्येक घरको छानोमा झिंगटी र बाहिरपट्टि कलात्मक काठ र इँटा। चोकचोकमा नेवार समुदायको संस्कृति र रहनसहन झल्कने कलाहरू।

निर्माण कार्यले चुस्तता पाए केही वर्षपछि भक्तपुरको मुख्य सहर (भित्री सहर) यस्तै बन्ने छ। नगरपालिकाको १ देखि १० नम्बर वडा सांस्कृतिक सहरभित्र पर्नेछन्। यी वडा छिर्नेवित्तिकै कुनै मौलिक र सांस्कृतिक सहरमा छिरेको महसुस हुनेछ। त्यतिबेला पुरानो सहरको लोभलाग्दो रूप धेरैको लागि उदाहरणीय बन्नेछ। नेपालमा मात्रै नभएर बाहिरी देशहरूमा पनि चर्चा हुनेछ, भक्तपुरको मौलिक सहरबारे।
अहिले सहरको मौलिकता फर्काउन र पुरानै शैलीमा पुनर्निर्माण गर्न नगरपालिका तातेको छ। स्थानीय पनि सरकारी निकायलाई सघाएर अघि बढ्न लागेका छन्। सबैतिर पुराना सहरको मौलिकता खोसिँदै गर्दा भक्तपुरले भने पुराना सहरको आधुनिक सपना बुनेको देख्दा उनीहरू गद्गद् छन्। ‘यो क्षेत्रको विशेषता नै बेग्लै छ, कतिपयले पुराना मौलिकता मेटाएर आधुनिक सहर बनाउनुपर्छ भनेर भाजो हाले,’ स्थानीय सुरवीर नकर्मीले भने, ‘भक्तपुर सहर यहाँका स्थानीयको मात्रै होइन, यो नेपालकै धरोहर हो, यसको मौलिकता जोगाउनु सबैको दायित्व हो।’

प्रत्येक घरको छानोमा झिंगटी र बाहिरपट्टि कलात्मक काठ र इँटा। चोकचोकमा नेवार समुदायको संस्कृति र रहनसहन झल्कने कलाहरू। निर्माण कार्यले चुस्तता पाए केही वर्षपछि भक्तपुरको मुख्य सहर (भित्री सहर) यस्तै बन्ने छ। नगरपालिकाको १ देखि १० नम्बर वडा सांस्कृतिक सहरभित्र पर्नेछन्।

त्यसो त यो योजना नौलो भने होइन, २०५४ सालमै नगर क्षेत्रलाई मौलिक र सांस्कृतिक सहर बनाउने भनेर योजना अघि सारिएको थियो। तर, योजनालाई मूर्त रूप पाएन। जनप्रतिनिधि आएपछि भने यसले मूर्त रूप पाउन लागेको छ । उनीहरूले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

अर्का स्थानीय कृष्णराम लाखेमरुले यो सहरको गरिमा जोगाउन स्थानीयले पनि लामो समयदेखि पहल गर्र्दै आएको बताए। ‘सरकारी निकायले ध्यान नदिँदा २० वर्ष अघिदेखि व्यक्तिहरूले मौलिकता मिचेर आफूखुसी घर बनाएका छन्। ती घरले भित्री सहरको मौलिकता खोसेका छन्,’ उनले भने, ‘त्यसैले जस्ताको छानो भएका, सटर भएका र मौलिकता नअपनाएका ती घरहरू भत्काउनुपर्छ।’ उनले नगर पुराना कला कौशलको जर्गेना गर्न सरकारी निकाय नै जाग्नुपर्ने बताए। ‘हाम्रो आफ्नो सम्पत्ति भनेकै पुर्खाले सिर्जेका धरोहर हुन्,’ उनले थपे, ‘पाटी, मठ–मन्दिर, पौवा, ढुंगेधारा, सत्तल, पोखरीलाई मास्न हुन्न।’

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति आफ्नो कार्यकालमा यो सपना पूरा हुने बताउँछन्। उनी भन्छन्, ‘हामीले लामो अध्ययन र सरोकारवाला निकायबीचको छलफलपछि यस्तो अवधारणा ल्याएका हौं। यसमा पुरानै योजना छैन, नयाँ योजनाहरू थप भएका छन् । सहरलाई कुनै आधुनिक रूप दिइने छैन। पहिले जे–जे थिए, बरु तिनलाई फर्र्काइनेछ। पुराना सहरको अस्तित्व खोजिने छ । सहरलाई मौलिक र सांस्कृतिक सहर भनेर चिनाइने छ।’ उनका अनुसार कला–संस्कृति र मौलिकतालाई नगरपालिकाले नै नगरस्तरीय योजनाको रूपमा अघि सारेको छ।

अहिले नगरपालिकाले पुुनर्निर्माणको कामलाई जोड दिएको छ। ०७२ सालमा १ सय ३० सम्पदा भत्किएका थिए । तीमध्ये २७ सम्पदा मर्मतसम्भार तथा पुनर्निर्माण भइसकेका छन्। नगरपालिकाले सुरूमा भूकम्पमा ढलेका सम्पदा उभ्याउने र जीर्णोद्धार गर्ने योजना बनाएको छ। ‘पहिले मोटामोटी पुनर्निर्माण सक्छौं,’ मेयर प्रजापतिले भने, ‘त्यसपछि बल्ल पुराना मौलिकता फर्काउन र भित्री सहरलाई एउटै रूप दिनतर्फ लाग्छौं।’ उनले पाटी, ढुंगेधारा, सत्तल, पाखेरी र मासिएका अन्य सम्पदाहरूको पनि खोजी गरी तिनलाई व्युँताइने बताए। उनका अनुसार अहिले पानी नआउने ढुंगेधारामाहरू पानी खस्ने बनाइने छ। सुकेका पोखरी भरिने छन्। पुराना पार्टी भएका ठाउँ पहिचान गरी पुरानै रूप दिइने छ। घरमुनिबाट हिँड्ने बाटो (चोपुगली) बनाइने छ।

गत वर्ष सांस्कृतिक सहरकै लागि भनेर भक्तपुर नगरपालिकाले १९ करोड रूपैयाँ बजेट छुट्याएको थियो। अहिले बजेटको आकार बढाउने तयारी नगरपालिकाले गरेको छ। ‘यो वर्ष बजेटको आकार बढ्छ, सबैभन्दा बढी बजेट सम्पदामै केन्द्रित हुन्छ। स्थानीय, संस्कृतिविद्, पुरातत्वविद्लगायतसँग बजेटबारे छलफल गर्दैछौं,’ मेयर प्रजापतिले भने। गत वर्ष नगर क्षेत्रमा ढुंगा छाप्न १० करोड रूपैयाँ विनियोजन भएको थियो। उक्त काम अहिले भइरहेको छ।

वागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले भक्तपुर लोक परम्पराले भरिपूर्ण क्षेत्र भएकोले यसो गरिनु उचित रहेको बताए। उनले भने, ‘यहाँका कला संस्कृति गनेर सकिन्न, बिहानैदेखि बेलुकीसम्म भित्री सहरमा केही न केही पर्व चलेकै हुन्छ, त्यसैले भक्तपुर कला संस्कृतिको केन्द्र हो।’ उनले टोलैपिच्छे रहेका बाजागाजा र विभिन्न विशेषता बोकेका नेवार समुदायभित्र पनि धेरै कला, संस्कृति लुकेको जानकारी दिए। ‘भक्तपुर मात्रै होइन, पुराना कला–कौशलको जर्गेना गरी संसारकै ध्यान खिँच्न सकिन्छ, यसमा माथिल्लो निकायले नै चासो दिएर अघि बढ्न जरुरी छ,’ उनले भने।

संस्कृतिविद् ओम धौवडेलले भक्तपुर सहर एकताका नेपाल मण्डलको राजधानी रहेको बताए। उनले सांस्कृतिक राजधानीको रूपमा भक्तपुरलाई चिनाउने सकियो भने त्यसले यहाँका कला संस्कृतिहरूको संरक्षण गर्न मद्दत गर्ने बताए। ‘यहाँ उच्च संस्कृति छन्, मूर्त र अमूर्त सम्पदा छन्, आधुनिक युगमा आइपुग्दा पनि सहर छिर्दा पुरानो मौलिकता भेटिन्छ,’ उनले भने, ‘अझ भन्ने हो भने यहाँको स्थानीयको दैनिकी नै सांस्कृतिक छ। उनीहरूको दैनिक जीवन सांस्कृतिक हेरचाहमै जान्छ।’

यसरी छिर्न सकिनेछ सांस्कृतिक नगर
सांस्कृतिक सहर छिर्ने विभिन्न ढोका बनाइने छ। ती ढोका सहरको चारै दिशामा हुने छैन। ढोकाभन्दा बाहिरबाट पर्यटकहरू छिर्न पाउने छैनन्। व्यासी, कमलविनायक, इन्द्रायणी, च्यामासिंह, बाराही, राममन्दिरलगायत ठाउँमा मुल गेट बनाइने छ। यी नगरमा खास–खास ठाउँमा छिर्न विदेशीले टिकट काट्नुपर्ने छ । त्यस्तै नेपालीलाई पनि खासखास ठाउँमा छिरेको पैसा लिइनेछ। भित्री सहरमा बसोबास गर्ने स्थानीयले आफूखुुसी भवन बनाउन र व्यवसाय सञ्चालन गर्न पाउने छैनन्। नगरपालिकाले तोकेका व्यवसाय गर्न पाउनेछन्।

कालोपत्रे सडक र सटर हटाइने
भक्तपुरको भित्री सडकमा गरेको कालोपत्रे अहिले धमाधम उप्काउन थालिएको छ। सहरभित्रको कालोपत्रे सबै हटाएर यो सहर छिर्न इँटा ओछ्याइने छ। नगरभित्र रहेका सबै पक्की घर र सटर पनि भत्काइनेछ। घरहरूमा पिलर देखाउने गरी बनाउने पाइने छैन।

सांस्कृतिक सहरका लागि पुरातत्व विभाग, स्थानीय, संस्कृतिविद्, नगरपालिका, भक्तपुर संग्रहालयलगायतले हातेमालो गरेको मेयर प्रजापतिले जानकारी दिए। उनले अहिले ६ किमीभन्दा भित्रको कालोपत्रे सडक उप्काएर इँटा ओछ्याउने, सटर भएका घर भत्काउने, पुराना पोखरी र ढुंगेधारा भएको ठाउँको चिह्न लगाउनेलगायत काम भइरहेको जानकारी दिए। ‘मौलिकता दिँदा निकै महँगो पर्छ,’ उनले भने, ‘सकेसम्म पुरानै शैली अपनाएका छौं।’

पुरानो ऐनालाई सजाइने
भक्तपुर दरबार क्षेत्रमा एउटा पुरानो ऐना छ। उक्त ऐना नेपाललाई नेपाल सम्वत ८१८ मा भारतले चिनो दिएको थियो । उक्त ऐन अहिले दरबारभित्रको एक मन्दिरमा राखिएको छ। नगरपालिकाले उक्त ऐना सबैले देख्ने ठाउँमा राख्ने तयारी गरेको मेयर प्रजापतिले जानकारी दिए। उनले भने, ‘यो ऐना धेरै पुरानो हो, यसलाई सबैले देख्ने र हेर्न सक्ने ठाउँमा राख्नुपर्छ भनेर स्थानीयले माग गर्दै आएका छन्, त्यसैले हामीले यसलाई सही ठाउँमा राख्छौं।’ उनका अनुसार यो ऐन राजा भूपतिन्द्र मल्ललाई भारतीय मूलका एक राजाले उपहार दिएको रहेछ। उक्त ऐन भक्तपुर दरबारभित्र पर्ने लेकान्छेंव दरबारभित्र राख्न पहल भइरहेको छ।

के–के हुन्छ सांस्कृतिक सहरभित्र ?
घरको झ्याल तीनमुखे, चारमुखे र पाँचमुखे हुनेछन्। भित्री सहरमा बिजुुलीको तारलाई गाडिने छ। हरेक वडाका नाच र पर्र्वलाई जोगाइनेछ। पर्यटकहरूलाई मौलिक संस्कृति देखाउँदै परम्परागत घरमा बस्ने व्यवस्था गरिने छ। राती पनि पाटीहरूमा भजन गुन्जने छ। सहरमा आर्किटेक्चरल लाइट जडान गरिने छ, जसले राती पनि सहर उज्यालो हुनेछ। सटर र जस्ताले बनेका कुनै पनि संरचना देखिने छैनन्। भित्री गल्लीहरू सवारी छिर्न पाउने छैनन्। १ देखि १० वडासम्मको घेराभित्र छिर्ने मौलिक गेट हुनेछन्। पुराना पोखरीमा पानी भरिने छ। ढुंगेधारामा पनि पानी खस्ने बनाइने छ। पुराना सहरको अस्तित्व खोजिने छ। ३५ फिटे घरको बाहिरपट्टि पिलर र फलाम देखिने छैन। ठाउँ–ठाउँमा पुराना कला संस्कृति सजिएका हुनेछन्। त्यसले सहरभित्र छिर्नेलाई पुरानो सहरको झझल्को दिनेछ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...