४ वैशाख २०८१ मंगलबार
खेल

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

रूस – २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। रूसको जितमा डेनिस चेरिसेवले २ तथा युरी गाजिन्स्की, आर्तेम डीजुबा र अलेक्सेन्डर गोलोभिनले गोल गरे। 

खेलको १२ औं मिनेटमा अलेक्सान्द्र गोलोभिनले दिएको क्रस पासलाई सदुपयोग गर्दै युरी गाजिन्स्कीले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेवले टिमका लागि दोस्रो गोल गरे। उनले ३ डिफेण्डरलाई छक्याउँदै शानदार गोल गरेका थिए।  पहिलो हाफमा २–० को अग्रता लिएको रूसले दोस्रो हाफमा ३ गोल थप्यो।

रूसका लागि तेस्रो गोल आर्तेम डीजुबाले गरे। उनले खेलको ७० औँ मिनेटमा मैदान प्रवेश गरेको एक मिनेटमानै गोल गर्दै टोलीको अग्रता तेब्बर बनाएका थिए। रूसका लागि थप २ गोल इन्जुरी समयमा भएको थियो। इन्जुरी समयको पहिलो मिनेटमा डेनिस चेरिसेवले व्याक्तिगत दोस्रो गोल गर्दा टोलीले अग्रता ४–० मा पुर्याएको थियो। रूसका लागि अन्तिम गोल इन्जुरी समयको अन्तिम मिनेटमा अलेक्सेन्डर गोलोभिनले गरे। जितसँगै आयोजक राष्ट्र रूस महत्वपूर्ण ३ अंक जोडन सफल भएको छ। 

समूह एमा रहेको साउदीले विश्वकपको उद्घाटन खेलमानै घरेलु टिम रसियासँग लज्जास्पद हार व्यहोरेको हो। फिफाको वरीयताक्रममा ६७ औँ स्थानमा रहेको साउदी अरेबिया र ७० औँ स्थानमा रहेको रुसबीचको खेल विश्वकपको उद्घाटन खेलको इतिहासमा तल्लो वरीयतामा रहेका देशहरुको खेल भएको हो। 

प्रतियोगिताअन्तर्गत शुक्रबार ३ खेलहरू हुँदैछन्। शुक्रबारको पहिलो खेलमा साँझ ५ः४५ मा इजिप्ट र उरूग्वे, बेलुकी ८ः४५ मा मोरक्को र इरान तथा राती ११ः४५ मा पोर्चुगल र स्पेनले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ३१ जेष्ठ २०७५ १७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App