८ वैशाख २०८१ शनिबार
समाज

डुबेर बालबालिका मृत्यु हुने क्रम बढ्दो ,सुनसरीमा १९ जनाको मृत्यु, दुई बेपत्ता

इटहरी–डेढ साताअघि स्कुलका विद्यार्थीलाई अप्ठ्यारो पर्ने गरी खनिएको पोखरीमा डुबेर सुनसरी अमडुवाका तीन जना बालिकाको मृत्यु हुन पुग्यो। अमडुवा– ९ को जनता प्राथमिक स्कुलभन्दा तीन सय मिटर दुरीमा गाउँलेले माछा पाल्नका लागि खनिएको पोखरीमा डुबेर ९ वर्षीया करुण ऋषिदेव,  सोही उमेरकी नन्दनी ऋषिदेव र १० वर्षीया दिपीका ऋषिदेवको मृत्यु भयो।  यी तिनै जना गर्मी खप्न नसकेर स्कुल छुट्टी भएपछि पोखरीमा गएर नुहाउँदा मृत्यु भएको थियो।

अघिल्लो असार पहिलो साता दाउरा संकलन गर्न जादा सप्तकोसी नदीमा डुबेर महेन्द्रनगर–४ की १३ वर्षीया अस्मिता राईको मृत्यु हुन पुग्यो। दाउरा संकलन गर्न जाँदा तीन जना बालिका एक साथ डुबेकोमा अस्मिताको मृत्यु भएकोमा अन्य दुईलाई भने प्रहरी र स्थानीयबासीले उद्दार गरेका थिए।

महेन्द्रनगरमा अघिल्लो असार मै दुई जना बालबालिका एकै ठाउँमा डुबेर मृत्यु भयो। महेन्द्रनगर–३ का राजधन लिम्बुको दुई वर्षीय छोरा सेमेहाङ् र सोही ठाउँका सुकहाङ् लिम्बुकी दुई वर्षीया छोरी प्रतिक्षाको मृत्यु भएको थियो। यी दुई बालबालिकाको अभिभावककै लापरबाहीले गर्दा मृत्यु भएको प्रहरीको रिपोर्टमा उल्लेख छ।

अघिल्लो बर्षको भदौं महिनामा मधेली–३ का बद्री शर्माको डेढ वर्षीया छोरी वविता घर नजिक खाल्डोमा डुबेर मृत्यु हुन पुग्यो। केही दिनअघि नरसिंह– ९ का प्रकाश उरावको २ वर्षीय छोरा राकेशको मृत्यु भयो। राकेशको घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा डुब्दा सिकिस्त भएकोमा उपचारका लागि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

इटहरी–२२ का बीरबहादुर परियारका दुई बर्षीय नाति सुमन पनि घर अगाडिकै पैनीमा डुबे । उनी डुबेको गाउँलेले देखे । हत्तपत्त उद्दार गरी अस्पताल लाने क्रममा बाटैमा मृत्यु भयो । यस्तै, पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका मधेसा–५ का रमेश सिग्देलको पाँच वर्षीय छोरा मानबहादुर बुधबार शव फेला प¥र्यो । मानबहादुरको इनरुवा वडा नं. ३ स्थित नहरमा शव फेला परेको हो ।
एकपछि अर्को घटनामा बालबालिकाले ज्यान गुमाउने क्रम बढ्दो  छ। यही क्रममा सुनसरी खोलमा डुवेर शनिबार मात्र दुइ जना बालिका

बेपत्ता भएका छन् । नरसिंह वडा नं. १ का मिश्रलाल मण्डलको ८ वर्षीया छोरा मनित र ६ वर्षीया छोरी बविता वेपत्ता भएका हुन् ।
 घर नजिकै खोला वगरमा दिदीबहिनीसँगै अन्य बालबालिका खेल्दा बविता चिप्लिएर लडी खोलामा डुब्दा दिदी पनि उनलाई बचाउँन सँगै खोलामा पस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । उनका अनुसार डुवेर बेपत्ता भएका बालिकाको खोजी भइरहेपनि भेटाउन सकिएको छैन् ।

जिल्लामा खोला, नदी र पोखरीमा डुबेर श्रृख्लाबद्ध रुपमा मृत्यु हुने क्रम बढ्दो  छ। २०७२ साउनदेखि २०७३ भदौ १९ गतेसम्म १९ जना बालबालिकाको डुबेर मृत्यु भइसकेको  छ। दुई जना बालिका बेपत्ता भएका छन् । बालबालिकाको यसरी श्रृख्लाबद्ध रुपमा मृत्यु हुनुमा अभिभावककै लापरबाही रहेको प्रहरीले जनाएको  छ।

 

प्रकाशित: १९ भाद्र २०७३ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App