८ वैशाख २०८१ शनिबार
समाज

रगतको लागि सेना प्रहरीकै भर

सुत्केरीको लागि रगत दिँदै नेपाली सेनाका जवान। तस्बिरः नागरिक

बैतडी– जिल्ला अस्पताल बैतडीमा प्रसूति गराउन आउने हरेकले अप्रेसन नगर्नु परोस् भन्ने कामना गर्छन्।

अप्रेसन गराएर बच्चा जन्माउँदा रगत आवश्यक परे सास्ती हुन्छ भनेर हरेक सेवाग्राहीले यही कामना गर्ने गरेका हुन् । जिल्लामा ब्लड बैंक नहुँदा रगत खोज्न समस्या हुने गरेको छ । सितिमिति रक्तदाता भेटाउनै गाह्रो हुन्छ, भेट्टाएमा ग्रुप नमिल्ने चिन्ता हुने गरेको सेवाग्राही बताउँछन् । रगतकै लागि ग्रामीण क्षेत्रबाट प्रसूति गराउन जिल्ला अस्पताल पुग्दा स्थानीयले सास्ती भोग्ने गरेका छन् ।

  जिल्लामा जटिलतायुक्त प्रसूति सेवा सुरु भएपछि रगतको आवश्यकता पर्न थालेको हो । जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरू भएयता रगत खोज्न समस्या हुँदै आएको हो । रक्तसञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छन् । रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ।

    रक्त संकलन केन्द्र नहुँदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ । चिनेजानेका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन् । त्यहाँ नपाए अन्य उपाय नै छैन । ‘अस्पताल पुग्ने बित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछांै,’ जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवन जोशीले भने ।

  पछिल्लो समय अस्पतालको सेवामा सुधार आएपछि छिमेकी जिल्ला दार्चुला, बझाङबाट समेत उपचारका लागि बैतडी आउने गरेका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको हो । जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा सुरू भएपछि रगतको आवश्यकता बढेको हो ।

गत वर्ष २६ जनाले जटिलतायुक्त प्रसूति गराइएका थिए भने यो वर्षको जेठसम्म १२ जनाले यो सेवा लिएका छन् । समान्य सुत्केरी हुन नसक्ने अवस्था आएपछि चिरफार गरेर बच्चा जन्माउने गरिएको छ । जटिलतायुक्त प्रसुती (चिरफार) गराउँदा रगत आवश्यक पर्दा समस्या हुने गरेको छ ।  जिल्लामा रगत अभाव र बढी समस्या भएको केश भने अन्यत्र रिफर गर्ने गरिएको छ ।  जिल्लामा प्रसूति गराउन समस्या भएका गत वर्ष २९ र यो  यो वर्ष जेठसम्म ४१ जना रिफर गरिएको छ । जटिल प्रकृतिका जिल्ला अस्पतालले नसकेका  केश मात्र रिफर गरिएको  अस्पतालले जनाएको छ ।

अप्रेसन गर्नु अघि नै रक्तदाता तयार गर्नुपर्ने हुन्छ । रगत आवश्यक परे तुरुन्तै रगत दिन यस्तो गरिएको हो । तर रक्तदाता पाउनै समस्या हुने गरेको जिल्ला अस्पतालले जनाएको छ । रक्तदाता नपाएर बिरामीलाई रिफर गर्नुपर्ने अवस्था कम गर्न सुत्केरी हुन अस्पताल आउने महिलासँगै श्रीमान् वा जिम्मेवार पुरुष आउनु पर्ने नियम अस्पतालले बनाएको छ । पुरुष साथमा भए दौडधुप गरेर रक्तदाता खोज्न सक्ने र अन्य व्यवस्थापनमा सजिलो हुने भएकाले यसो गरेको अस्पतालले जनाएको छ ।

पटकपटक रक्तसञ्चार केन्द्र बनाउन छलफल गरेपनि अन्य सरोकारवालाले चासो नदेखाउने गरेको स्वास्थ्य कार्यालयको आरोप छ । स्वास्थ्य कार्यालयले रगतको व्यवस्था गर्न पटकपटक जिल्लास्थित सरोकारवालासँग आग्रह गरेको बताएको छ । राजनीतिक दल, कर्मचारी र अगुवाले आफ्नो संस्थाका तर्फबाट रक्तदान गर्न चाहनेहरूको विवरण  तयार गर्ने प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयन गरेका छैनन्। रगत नपाउँदा चिकित्सक आफैले रगत दिएर उपचार गर्ने गरेका छन् । जिल्ला अस्पतालकै चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीले धेरैपटक रगत दिएर बिरामीको उपचार गरेको सूचना अधिकारी जोशीले बताए ।

साउन यता मात्र जिल्लामा सात जनाले रगत दिएका छन् । जसमा  चार जना नेपाली सेना, दुई जना स्वास्थ्यकर्मी र एक सर्वसाधारणले रगत दिएका हुन् ।‘जिल्लामा ब्लडबैंक छैन,’ नेपाल रेडक्रस बैतडी शाखाका मन्त्री रमेशसिंह भण्डारीले भने, ‘ब्लड बंैक नहुँदा रेडक्रसले रक्तदाताको ग्रुप छुट्याएर सम्पर्क नम्बरसहित नामावली तयार गरेको छ ।’ तर रगत चाहेको बेलामा ति व्यक्ति सम्पर्कमा नआउदाँ रगत खोज्न समस्या हुने गरेको छ । नजिक उपलब्ध भएका व्यक्तिको रगत समूह नमिल्दा सास्ती हुने गरेको हो ।

 

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App