८ वैशाख २०८१ शनिबार
विचार

बहादुर बादलको रामराज्य

जसरी मुख्य रङहरू तीनवटा हुन्छन्, त्यसैगरी देश चलाउने पनि तीन मूल मन्त्रालय मानिन्छन् । रङहरूमा रातो, निलो, पहेँलो मूल रङभएझैँदेश सञ्चालनका लागि तीन मन्त्रालय गृह, अर्थ र परराष्ट्र नै मूल मानिन्छन् ! जसरी तीन रङको अभावमा रङहरूको विस्तार हुनसक्दैन, तीन मन्त्रालयको प्रभावकारिताविना सरकारको काम पनि देखिँदैन ।

बादलले थालेका लागुपदार्थ निषेध, मदिरा नियन्त्रण, सुन तस्करी, यातायात सिन्डिकेटको अन्त्य जस्ता काम अगाडि बढाइरहे भने यिनी भविष्यमा ओलीका सही उत्तराधिकारी बन्न सक्छन् ! अर्थात् भविष्यका प्रधानमन्त्री । विगत हे¥यौँ भने गृहमन्त्री नै प्रधानमन्त्री भएको देखिन्छ ।

त्यसैले गृहमन्त्री रामबहादुर थापा ‘बादल’कानुन र व्यवस्था, प्रहरी, गुप्तचर, समग्र प्रशासन, सीमा सुरक्षा, अपराध अनुसन्धान, शान्ति सुरक्षाको ग्यारेन्टी, आतंकवाददेखि गुण्डागर्दी नियन्त्रण, लागुपदार्थ नियन्त्रण, प्राकृतिक विपत्ति, सामाजिक सौहार्दलगायत प्रत्येक नागरिकलाई प्रत्येक पल मेरो सुरक्षा गर्ने मेरो गृह संरचना छ भनेर राज्यको तर्फबाट प्रत्याभूति दिने मियो बन्नुपर्छ ।

देशको सुरक्षा र जनताको अमनचैन नै गृहको पहिलो काम हो । यो अत्यन्त संवेदनशील र महत्वपूर्ण मानिन्छ ।

त्यसैगरी प्रधानमन्त्रीको चेहरा गृह, अर्थ र परराष्ट्रमन्त्रीमा विम्बित भइरहेको हुन्छ । हुनत क्याबिनेट सिस्टममा सबै मन्त्रालय र मन्त्रीहरू प्रधानमन्त्रीका सारथि हुन् । त्यसमा यी तीन मन्त्रालयका मन्त्रीका क्रियाकलापहरू भने डे टु डे अपरेसनमा समेत प्रधानमन्त्री विम्बित हुन्छन् । कतिपय हाम्रा बुद्धिजीवीलाई भ्रम छ, अर्थमन्त्री आफ्नै कार्यक्रम ल्याउँछन्, परराष्ट्रमन्त्री आफ्नो विचार दिन्छन् र गृहमन्त्री आफ्नै सुरमा चल्छन् । तर वास्तविकता के हो भने, न अर्थमन्त्रीको आफ्नो कार्यक्रम हुन्छ, न त परराष्ट्रको आफ्नो विचार र गृहमन्त्रीको एक्सन नै ! सबै प्रधानमन्त्रीकै विचार, कार्यक्रम र एक्सन हुन् । उनीहरूले फरक भूमिका र जिम्मेवारी मात्र पाएका हुन् । 

त्यसैले गृहमन्त्री देशमा शान्ति सुरक्षा र अमनचैन चुस्त दुरुस्त राख्ने प्रमुख जिम्मेवार हुन् । उनले संयोजन गरेनन् वा उनीबाट कमजोरी प्रदर्शन भयो भने सरकारको ओज घट्छ । त्यस्तै विदेशमन्त्रीले कूटनीतिक क्षमता प्रदर्शन गर्न सकेनन् भने बाह्य सम्बन्ध नारायणहरि हुनपुग्छ । अर्थमन्त्रीको महत्व शरीरमा रक्त सञ्चार प्रवाह गर्ने जत्तिकै मानिन्छ किनभने अर्थ सञ्चालन र परिचालन भएन भने सबैकाम ठप्प हुन पुग्छन् ।

झट्ट हेर्दा गृह मन्त्रालय अरूजस्तै एउटा मन्त्रालय मात्र देखिन्छ तर यो मन्त्रालय भनेको शरीरको मेरुदण्डजस्तै देशको सार्वभौमसत्ता कायम राख्ने मियो हो ।

गृहमन्त्री अरू मन्त्रीहरूको तुलनामा धेरै सक्रिय हुनुपर्छ । उनी देशको शान्ति सुरक्षामा हरदम संवेदनशील बनेनन् भने मुलुकका अरू क्रियाकलापलाई प्रत्यक्ष नकारात्मक असर पर्छ । त्यसैले गृहमन्त्री चाणक्यको विद्यार्थीझैँबकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, कागजत्तिकै चलाख रहनुपर्छ । गृहको नेतृत्व यस्तो हुन सकेन भने गृह प्रशासन नै सञ्चालन हुन सक्दैन किनभने चुस्त गृह प्रशासन, चुस्त गृहमन्त्रीविना सम्भव हुँदैन ।

विगतका गृहमन्त्रीले चाणक्यको नीतिअनुसार काम गरिदिएको भए देशको अवस्था यस्तो भाँडभैलोहुन पुग्ने नै थिएन । वर्तमान गृहप्रशासनलाई नियालेर हेरिरहेकाहरू भन्छन्, उनले थालेका लागुपदार्थ निषेध, मदिरा नियन्त्रण अभियान, सुन तस्करी, यातायात सिन्डिकेटको अन्त्य गर्न थालेका काम अगाडि बढाइरहे भने यिनी भविष्यमा ओलीका सही उत्तराधिकारी बन्न सक्छन् !किनभने संसारभरको रेकर्ड नै यस्तै छ, गृहमन्त्री बनेका प्रायःव्यक्ति नै देशको प्रधानमन्त्री बन्न पुगेका उदाहरण धेरै छन् ।

यसको उदाहरण हेर्न धेरै टाढा गइरहनै पर्दैन । बीपी कोइरालाले सात सालमा गृहमन्त्रालय सम्हालेका थिए । त्यस्तै शेरबहादुर देउवा ०४८ सालमा गृहमन्त्री भएका हुन् । अरू त अरू भइहाले वर्तमान प्रधानमन्त्री केपीओली ०५१ सालका सफल गृहमन्त्री हुन् । उनको शासनकालमा राज्यबाट एउटै व्यक्तिको हत्या हुन पाएन । तर के तिनै सफल गृहमन्त्री रहेका प्रधानमन्त्री ओलीले छानेका वर्तमान गृहमन्त्री बादलले केपीओलीको पाइला पछ्याएर गृहमन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्लान् ?सक्ने सम्भावना किन छ भने तिनै ओलीको प्रधानमन्त्रित्वमा बादल गृहमन्त्री बनाइएका छन् !

सवारी चालक लाइसेन्स लिनेबेलाको भन्दा बढी अप्ठेराहरू ल्याउन बीसौँ वर्षदेखि लुट, झुट र खुसखुस तन्त्र चलाइरहेकाहरूप्रधानमन्त्रीलाई असफल साबित गर्न गृहमन्त्री बादलका क्रियाकलापलाई अधिनायकवादी भनिरहेका छन् । जबकि मुलुकको शान्ति सुव्यवस्था, अमनचैन, सुशासन र कानुनको पालना गराउँदै कानुनीराज कायम गर्ने प्रधानमन्त्रीको पहिलो सिपाही नै गृहमन्त्री हुन् । उनले जुनसुकै समय जस्तोसुकै विषयमा पनि हस्तक्षेप गर्न र कानुनको परिपालना गर्न सक्छन् । यो संविधानको मर्म र कानुनी शासनको सामान्य नियम हो ।

अहिलेको संवेदनशील समयमा बादलले चाङ लागेर थुप्रिएका समस्याहरूलाई भटाभट प्रहार गर्न चुके र अलमलिए भने लुटीलुटी ‘रेन्ट सिकिङ’ गरेर खान पल्किएका अपराधी, बिचौलिया, माफिया, भ्रष्ट, दलालहरूले बादलमार्फत ओली सरकारलाई नै सिध्याइदिनेछन् । त्यसैले सावधान बादल, हरेक पाइला फुकीफुकी चाल ! तिमी एउटै चालमा अलमलियौ भने त्यसपछि उनीहरूको चाल हाबी हुनथाल्नेछ ।

कीर्तिपुरसँगको सुरुको युद्धमा छिन्नभिन्न भएर भागेका पृथ्वीनारायण शाहलाई एउटी बूढी आमाले दिएको शिक्षाबाट तिमी पनि सिक बादल । होस नपु¥याईहडबडमा तिमीले कुनै पनि काम गर्नु हुँदैन । ट्राफिक पुलिसले चौबाटोमा रोक, हेर र अगाडि बढ भनेर हजारौँ हजार सवारीसाधनलाई जसरी विनादुर्घटना गन्तव्यमा पुग्न मद्दत गर्छ तिमीले पनि त्यसै गरी बिहान घरबाट निस्किएका प्रत्येक नागरिकलाई सहज रूपमा घर फर्कने वातावरण मुलुकमा कायम गर्नुपर्छ। यसकै लागि राज्यले तिमी मातहतका सुरक्षा निकायलाई दिउँसै हतियार बोकेर हिँड्ने, आवश्यक परेको समयमा त्यसलाई प्रयोग गर्ने विशेष अधिकार दिएको छ । देश र जनताको हितमा काम गर्दा बाधा अवरोध पु¥याउनेहरूलाई सिस्टमबाटै तह लगाउने तिम्रै सिस्टमले हो । यसमा कुनै द्विविधा र संकोच मान्नै पर्दैन । यो तिम्रै दायित्वभित्रको काम हो । यसका लागि तिमी हरदम इमानदार सिपाही भएर कर्तव्य परायणमा चुक्नु हुँदैन ।
बूढीआमैको शिक्षा

सुरुमै कीर्तिपुरको आक्रमणमा असफल भएपछि भागेर गोर्खा जान लागेका पृथ्वीनाराण शाह थाकेर चुर थिए । एक्लै थिए । भोकले हत्तु थिए । रात छिप्पिइसकेपछि एउटा सानो छाप्रो देखे । लखतरान पृथ्वीनारायणले दैलो ढक्कढकाए । एउटी बूढी आमैले ढोका खोलिन् । बटुवाले बास मागे । बूढीआमैले भनिन्, रातको पाहुनालाई कसरी बास नदिऊँ? आऊ बस ।

बूढीलेदियालो बालिन् । अनुहार हेर्दै भनिन्— थाकेर लखतरान भएका रहेछौ । भोको पनि देखिन्छौ । पख मसँग भएको जे छ त्यही पकाइदिन्छु । उनले तरकारी र भात पकाइदिइन् । पाक्नेबित्तिकै खाना पस्केर दिइन् । बटुवाले खानेकुरा झम्टिहाले । खानुको सट्टा हात पोलेर फु फु गर्न थाले ।

बूढी आमै भन्न थालिन्— नानी ! तिमी त पृथ्वीनारायणजस्ता पो रहेछौ !अनुभव नभएकाले बलियो कीर्तिपुरमाथि चढाइ गर्दा मार खाएर भाग्नुप¥यो । तिमीलाई पनि एकैपल्ट खान खोज्दा तातोले पोल्यो । त्यसरी खान हुन्न । वरिपरिवाट अलिअलि गर्दै खाँदै गयौ भने त्यतिन्जेलमा बीचको खाना पनि सेलाइसक्छ अनि सजिलैसँग पेटभरि खान सक्छौ । पृथ्वीनारायणले पनि एकैचोटि कान्तिपुर हान्नुभन्दा वरिपरिका साना राज्य कब्जा गर्दै गएका भए आखिरमा कान्तिपुर कब्जा गरिहाल्थे नि ।

बूढी आमैका कुरा सुनिसकेपछि पृथ्वीनारायणछक्कै परे । त्यसपछि उनले भाइभारदारसँग गोर्खामा सरसल्लाह गरे ।पुरानो रणनीति त्यागे । बूढी आमैको शैलीले कान्तिपुर वरिपरिका साना राज्य कब्जा गर्दै अन्त्यमा उपत्यकामाथि विजय हासिल गरी नेपाल एकीकरण गर्न सके ।

शिक्षाको मर्म

पृथ्वीनारायणको सत्यकथालाई हरपल सम्झिएर रणनीतिक योजना बनाउँदै गृहमन्त्री बादल अगाडि बढे भने उनी सफल नहुने कुरै छैन किनभने उनलाई आमनेपालीको साथ छ । उनका हरेक अभियानलाई सहयोग गर्न जनता तयार छन् किनभने बादल उनीहरूकै लागि दैनिक १८ घन्टा काम गरिरहेका छन् भन्ने सुनिन्छ ।

प्रमुख प्रतिपक्ष सत्तापक्षका हरेक कामको विरोध गर्नुलाई आफ्नो बहादुरी ठानिरहेको छ । लोकतन्त्रमा विरोध गर्नु नै विपक्षीको धर्म हो भन्ने भट्याएर चुकिरहेको छ । तर के सत्तापक्षले गरेका ठीक कामलाई पनि विरोध नै गर्नुपर्छ र ? त्यस्तो होइन ।

सुन तस्करलाई कारबाही गर्दा होस् वा ठेक्का लिएर समयमा काम नगर्ने, उल्टो सरकारलाई दुहुनु गाई बनाउने ठग र अपराधीहरूलाई समयमा काम किन गर्दैनौ भनेर गृहमन्त्रालयले सोधखोज गरिरहनु गलत काम हो ?तर प्रमुख प्रतिपक्षका ठूला नेतासमेत भुराहरूलाई उचालेर सरकार अधिनायकवादतर्फ अगाडि बढ्यो भन्ने आरोप लगाउन उक्साउन थालेका छन् !

गृहमन्त्री बादलले अहिलेसम्म गरेका कामहरू राष्ट्र र जनताको हितमा छन् । उनले गरेको कामले गर्दा नै वर्षा सुरु नहुँदै मुग्लिङ–नारायणगढको बाटो सम्पन्न हुनसक्यो । अब पाँच सात घण्टा खर्चेर त्यति नै समय ज्यानको बाजी लगाउँदै सर्वसाधारणले यात्रा गर्नुपर्ने बाध्यता समाप्त भएको छ । गृहमन्त्री नतातेका भए समयमा काम नसक्ने ठेकेदारका कारण गएका वर्षमा झैँयो वर्ष पनि कतिजनाले जीवन गुमाउनुपर्ने थियो ।तर गृहमन्त्री बादलको कारण राष्ट्रिय राजमार्ग सुचारु भएको छ ।

त्यसैले गृहमन्त्री बादलको विरोध लोकतन्त्रका नाउँमा गर्नेहरूले बुझिराखे हुन्छ, लोकतन्त्र भनेको कानुनविहीनता होइन ! स्वतन्त्रता पनि कानुनविहीनता होइन । कानुनी राजको उल्लंघन गर्नेहरूलाई गृहमन्त्री बादलले सजग गराउनु उनको जिम्मेवारी हो । बादलले गरेका उचित कामलाई समेत विरोध गर्नेहरूले बुझे हुन्छ, लोकतन्त्रले भ्रष्टाचारलाई कुनै हालतमा ‘जस्टिफाई’ गर्दैन !यति हुँदाहुँदै पनि ख्याल गर बादल, तिम्रा सन्तान र आफन्तहरूले सरुवा, बढुवा र ठेक्कामा बिचौलियाहरू भेट्ने र संगत बढाइरहेको विषयले तिम्रा कामप्रति जनताको संवेदनशीलता अझै बढेको छ र नजर तिखा भएका छन् । आफन्तको लाभमा बहकियौ भने तिम्रा पक्षमा उठेका कलमहरू पनि भुत्ते हुन्छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App