coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विजयी सुरुआतको लक्ष्यमा अायाेजक रूस

मस्को – विश्व फुटबलको सबभन्दा ठूलो मेला विश्वकपको २१औं संस्करण बिहीबारबाट रूसको मस्कोमा सुरु हुँदै छ।विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रूसले समूह ‘ए’ मा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियाको सामना गर्नेछ।

लुझनिकी रंगशालामा हुने खेलमा आयोजक रूस जित हात पार्दै प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ । रूसले गत अक्टोबरमा दक्षिण कोरियालाई पराजित गरेयताका ७ खेलमा जित हात पार्न सकेको छैन । विश्वकपअघि खेलेका दुई अभ्यास खेलमा पनि पराजित भएपछि रूसी टोलीको सर्वत्र आलोचना भइरहेको छ । त्यसैले दबाबमा रहेको टोली उद्घाटन खेलमा जित हासिल गर्दै लयमा फर्किएको प्रमाणित गर्न चाहन्छ।

प्रतियोगिताअघि केही प्रमुख खेलाडी चोटका कारण बाहिरिएपछि रूस दबाबमा परेको थियो । स्ट्राइकर एलेक्जेन्डर काकोरिन तथा रक्षक जर्जी डिज्किया र भिक्टर भासेन घुँडाको चोटका कारण टोलीबाट बाहिरिएका थिए । ‘हामी उत्कृष्ट प्रदर्शन गर्दै घरेलु समर्थकलाई खुसी दिन चाहन्छौं,’ स्ट्राइकर आर्टोम डेज्युवाले भने, ‘हामी विश्वकप उपाधिका दाबेदार होइनौं । हाम्रो उद्देश्य समूह चरण पार गर्दै रूसी टोली पनि फुटबल खेल्न सक्षम भएको प्रमाणित गर्नु हो।’

फिफाको विश्व वरीयतामा ७०औं स्थानमा रहेको रूस प्रतियोगिताको सबैभन्दा कम वरीयताको टोली हो भने ६७औं स्थानको साउदी अरेबिया प्रतियोगिताको दोस्रो न्यून स्तरको टोली हो । रूस र साउदी अरेबियाले हालसम्म एक पटक मात्र एक–अर्काको सामना गरेका छन् । सन् १९९३ अक्टोबमा भएको मैत्रीपूर्ण खेलमा साउदी अरेबियाले घरेलु मैदानमा ४–२ को विजयी नतिजा निकालेको थियो।

सोभियत युनियनको कालपछि रूसले हालसम्म विश्वकपको तीन सहभागितामा समूहचरण पार गर्न सकेको छैन । यसअघि सन् १९९४, २००२ र २०१४ को रूसको विश्वकप यात्रा समूह चरणमा सीमित भएको थियो । यी तीनै संस्करणमा रूसले समूहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो । हालसम्म दक्षिण अफ्रिकाबाहेक अन्य सबै आयोजकले प्रतियोगिताको दोस्रो चरणमा स्थान पक्का गरेका छन् । त्यसैले प्रतियोगितामा धेरै ठूलो उद्देश्य नराखेको रूस पनि सफल हुनेमा आशावादी छ।

यता पाँचौं पटक विश्वकपमा सहभागिता जनाइरहेको साउदी अरेबिया पनि घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गर्न चाहन्छ । तर रमदानको व्रतमा बसेका कारण साउदी अरेबियाका खेलाडीलाई केही कठिनाइ हुन सक्छ । मुस्लिमहरूको महान पर्व रमदानमा उनीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म निराहार बस्नुपर्छ । जसको फाइदा घरेलु टोलीले उठाउन सक्नेछ।

सन् २००६ को जर्मनी विश्वकपपछि पहिलो पटक प्रतियोगिताको टिकट काटेको साउदी अरेबियाले हालसम्म एक पटक मात्र प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो । साउदी अरेबियाले सन् १९९४ मा स्विडेन विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । सोही विश्वकपमा बेल्जियममाथि १–० को जित हात पारेपछि साउदी अरेबियाले त्यसपछि विश्वकपमा खेलेका पछिल्लो १० खेलमा ८ हार र २ बराबरी खेलेको छ।

सम्भावित टोली
रूस

गोलकिपर : इगोर यकिनफिभ (कप्तान)

रक्षक : मारियो फर्नान्डेज, फेडोर कुर्दासोभ, सेर्गी इनास्चेभ

मिडफिल्डर : एलेक्जान्डर सामिडोभ, युरी जिर्कोभ, डालर कुज्योभ, रोमन जोबिन, एलेक्जेन्डर गोलोभेन

स्ट्राइकर : फ्योडोर स्माोलोभ, अलान डाज्गोएभ

साउदी अरेबिया
गोलकिपर :
 अब्दुल्ला अल–मायोफ

रक्षक : यासिर अल शाहरानी, ओमार होसावी, ओसामा होसाबी, मोहम्मद अल बारिक

मिडफिल्डर : अब्दुल्लाह ओटिफ, सल्मान अल फाराज, याहया अल सिहरी, ताइसिर अल जासिम, सलिम अल डोसारी

फरवार्ड : फाहद अल मोलाड

प्रकाशित: ३१ जेष्ठ २०७५ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App