coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रक्सोलमा नेपाली सामान पटकपटक लोड–अनलोड

रक्सोलस्थित रेल स्टेसनमा नेपालका लागि आएका सामान यार्ड बाहिर राखिँदै । तस्बिर ; रितेश- नागरिक

वीरगन्ज- नेपाली आयातकर्ताले रेलमार्गबाट रक्सोलसम्म मगाएका मालसामान पटकपटक लोड–अनलोड गर्न बाध्य भएको बताएका छन् । रेलबाट मगाइने धेरैजसो मालसामान सिधै नेपालमा भित्र्याउन मिल्ने संरचना स्वदेशमा नबनाइएकाले सीमापारी ती वस्तुहरु आयात गरी ल्याउनु पर्ने हुन्छ।

रक्सोल स्टेसनमा भने अपुग ठाउँ र अपर्याप्त उपकरणले नधाने पनि सीमित निर्धारित समयभित्र रेल्वेमा आयातित मालवस्तु अनलोड गरी त्यसलाई फेरि ट्रक, टिप्पर वा प्लेटफर्म ट्रकमा लोड गरी यता भित्र्याउनु पर्ने हुन्छ ।

नभए चर्को जरिवाना लाग्छ । जरिवानाबाट जोगिन आयातकर्ताले आयातित वस्तुलाई रेल स्टेसनको साँध सिामाना कटाएर पहिले भण्डारण गर्छन्, त्यसपछि नेपाल भित्र्याउँछन् । जिप्सम, फ्लाई ऐस, स्लेग जस्ता सिमेन्ट उद्योगका कच्चा पदार्थ, कोइला, कच्चा पदार्थको रुपमा मगाइने फलाम, बोराबन्द खाद्यान्न र साल्ट ट्रेडिङले समग्र नेपालका लागि आयात गर्ने नुनलगायत वस्तु अहिले रक्सोलमा नै अनलोड भएर आयात हुने गरेको छ।

तोकिएको समय नौ घन्टाभित्र एक र्याक अर्थात ४२ वा ५९ ‘बग्गी’ (डब्बा) मालसामान रेलबाट अनलोड गरी यार्डबाट हटाई हाल्नुपर्छ । यसका लागि आले एक सय ५० भारतीय रुपैयाँ अर्थात नेरु दुई सय ४० तिर्नुपर्छ । अनलोड गर्न एक डब्बा बाँकी रहँदा पनि पूरा र्याकमा घन्टाको प्रतिडब्बा थप दुई सय ४० रुपैयाँ विलम्ब जरिवाना लाग्छ । मालसामान यार्डबाट उठाएर लैजान १२ घन्टाको समयसीमा छ ।

उक्त समयभित्र सामान नउठाउन सके बाँकी रहेको परिमाणको प्रतिडब्बा अर्को दुई सय ४० रुपैयाँ गोदाम जरिवाना रेल्वेले लिन्छ । कहिलेकाही रेल्वेले जरिवाना ६ गुणासम्म पुर्याइदिने गरेको आयातकर्ता दिनेश पुजारीले बताए ।यस्तो अवस्थामा आयातकर्ता र उनीहरुका प्रतिनिधिले चर्को जरिवानाको मारबाट जोगिने उपायको खोजी गरिरहेका हुन्छन् । यसै क्रममा उनीहरु पहिले रेलबाट मालसामान अनलोड गर्छन् ।

त्यसपछि आफ्नो गाडीमा हाल्छन् । रेल्वे यार्ड बाहिरको ठाउँमा लगेर फेरि अनलोड गर्छन् । आफ्नो पूरै र्याक मालसामान उठाइसकेपछि फेरि गाडीमा लोड गर्छन् र नेपाल भित्र्याउँछन् । यसरी मालसामान भित्र्याउँदा निकै समय, पैसा र मिहेनत अनावश्यक खर्च भइरहेको छ । मासिक ५० र्याक जति मालसामान रक्सोल भएर आउँछ । एक र्याकमा करिब अढाई हजार टन अर्थात महिनामा करिब एक लाख २५ हजार टन मालसामान त्यहाँ भएर आउने हो ।

उसै पनि भन्सार नाका बिहान ५ बजे खुल्छ र ८ बजेदेखि कामकाज सुरु हुन्छ । राती ११ बजे नाका बन्द भइहाल्छ, यस्तोमा रेल्वेको समय गणना भने २४ घन्टा नै चलिरहेको हुन्छ । रक्सोल रेल स्टेसनमा मालसामानका लागि तीनवटा लिक रहेकामा एउटा प्रयोगमा छैन र दुईवटा लिक छ, जसमा जाम भइरहन्छ ।

यो जामको मूल्य पनि नेपाली आयातकर्ताले जरिवाना भनेर बुझाउनुपर्ने हुन्छ । ‘नेपाली पक्षले यसबारे बेलैमा विकल्प खोज्नु पर्ने हो,’ आयातकर्ता समेत रहेका उद्योग वाणिज्य महासंघ प्रदेश २ का उपाध्यक्ष अशोक कुमार बैधले भने, ‘१३ वटा सिमेन्ट उद्योग संकटग्रस्त अवस्थामा पुग्दा पनि सरकारले यसलाई महत्व दिएको छैन, आज सिमेन्ट र निर्माण सामग्रीको मूल्य अकासिनुको एउटा कारण हो कच्चा पदार्थ मगाउँदा आयात लागत बढ्नु ।’ क्लिंकरबाट धुलो उड्दा प्रदूषण भयो भनेर स्थानीयको विरोधपछि रक्सोलमा रेल्वे स्टेसनमा प्रदूषण नहुने खाले संरचना बनाउन भारतस्थित बिहारको उच्च अदालतले दिएको आदेशबाट पन्छिन गत पुसदेखि भारतीय रेल्वेले रक्सोलमा अनलोड हुने गरी क्लिंकर ल्याउन बन्द गरेको छ ।
 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App