४ वैशाख २०८१ मंगलबार
समाज

छाउपडी विरुद्ध तिज

जुम्ला–रारालिही गाविस– ३ की विमला रावत अघिल्लो तिजमा कम्मर मर्काइ मर्काइ छमछमी नाचिन्। उनको नचाइमा ताल र लयको राम्रो मेल थियो। तर गीतको सन्देश भने पटक्कै थिएन। त्यो बेला तिजको नाच र गीतले कुनै अर्थ नराखेको भन्दै अर्को आउने तिजमा सन्देश मुलक नाचगान गर्ने जनाएकी थिइन उनले। सोही अनुसार यो वर्षको तिजमा छाउपडी विरुद्धको गीत गाएरै नाचेरै सन्देश दिइन्। उनका गीतमा शब्द छाउपडीमा आधारित थिए भने  पहिरन स्थानीय थियो।

मालिकाठाँटा गाविसकी चैती वुढा पनि यो पटक छाउपडी गीतमा नाचिन्। सहकर्मीले रचेका छाउपडी गीतमा राम्रोसँग नाचिन्। नाचगान हेर्न आएका सवैलाई छाउपडीको अवस्था र यसले निम्त्याएको समस्याका बारेमा दशाइन्।

 उनी जस्तै यो पटक जिल्लाको तातोपानी, कुडारी, लाम्रा, हाँकु र रारालिही गाविसका महिलाले यो वर्षको तिजलाई छाउपडी विरुद्धको अभियानका रुपमा मनाए। महिलाको प्रमुख ‘दुश्मन’का रुपमा रहेको छाउपडी प्रथाले समाजमा नकारात्मक असर पारेको भन्दै यसको निर्मुलीकरण अहिलेको आवश्यकता रहेकोमा महिलाहरुले जोड दिए।

एक आपसमा मिल्ने साथी एकै थलोमा भेला भएर स्थानीयलाई मनोरंजन दिँदै छाउपडी उन्मुलन निर्देशिका २०६४ कार्यन्वयनका लागि तिज गीत मार्फत माग गरे। उनीहरुले महिलाले भोग्दै आएको छाउपडी विरुद्धको अभियानमा जिल्लास्थित सरोकारवाला निकाय सचेत भई अघि बढ्नु पर्ने सुझाए। लाम्रा– ७ की अम्विका न्यौपाने मध्ये तथा सुदुरपश्चिममा जगडिएर बसेको छाउपडीको अन्त्य गर्न सरकारले कार्ययोजना बनाएर अघि बढ्नु पर्ने बताइन। उनका अनुसार यो वर्षको तिज स्थानीय संस्कृतिको जगेर्ना हुने र कुकृत्यका रुपमा रहेको छाउपडी सन्देश दिन केन्द्रित बनाइएको हो।

महिलाहरुले छाउपडी न्युनिकरणकालागि धामी झाँक्री र जेष्ठ नागरिकको दिमाग माझ्नु पर्ने र स्थानीय भाषा शैलीमा आधारित क्रियाकलापलाई तिव्रता दिनु पर्ने बताए। लाम्रामा दुर्गा उमावि, तातोपानीमा हिमशिखर उमावि र रारालिहीमा सिता उमाविमा छाउपडी विरुद्धको तिज आयोजना गरिएको हो।

 स्थानीय कला संस्कृतिको प्रयोग भन्दा आयातित संस्कृतिको बढी देखासिकी र संरक्षण गरिरहेको भन्दै गाउँका स्थानीय महिलाले चुनौति दिएका हुन। क्यासेट गीतमा नाचेर तिजको महत्व दर्शाउन नसकिने भन्दै गाउँ ठाउँ अनुसारको संस्कृति अनुशरण गर्नु पर्ने महिला अधिकारकर्मी विष्णुमाया बुढा बताउँछिन ।उनले भनिन्, ‘विकृतिजन्य गीत सुनाएर समय खेर फाल्नु भन्दा स्थानीय कला र प्रतिभाहरुको प्रस्फुटन हुने गरी तिजका कर्यक्रम आयोजना गरेका हौं।’

गाउँका अधिकांश महिलाले यो पटक तिज सन्देश मुलक मनाएका छन्। महिला हिंसा, छाउपडी प्रथा, वाल विवाह, वहुविवाह, जारी प्रथा, महिला वेचविखन बारेका गीत संगितद्वारा तिज मनाए।

 

प्रकाशित: १९ भाद्र २०७३ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App