coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सौराहाका निजी हात्तीलाई साङ्लोमुक्त गरिँदै

चितवन - सौराहा क्षेत्रमा पालिएका केही निजी हात्तीहरूलाई साङ्लोमुक्त (चेन फ्रि) गरिएको छ । सपना भिलेजमा पालिएका चारवटा हात्तीलाई बुधबार साङ्लोमुक्त गरिएको हो । हात्तीलाई साङ्लोमुक्त गर्ने अभियानअन्र्तगत व्यक्तिगत रूपमा पालिएका हात्तीलाई पनि चेन फ्रि गरिएको हो।

अमेरिकी नागरिक संरक्षणकर्मी डोना मार्सलको पहलमा सौराहाका नीजि हात्तीलाई चेन फ्रि अभियान थालिएको हो । पर्यटन व्यवसायीले पालेका नीजि हात्तीलाई साङ्लोले नबाँधिकन स्वतन्त्र राख्न थालिएको अभियानअन्तर्गत सौराहामा पालिएका सबै नीजि हात्तीलाई चेन फ्रि बनाइने छ । सौराहा क्षेत्रमा मात्र ६५ वटा नीजि हात्ती छन्।

साङ्लोले बाँधेर राखिने हात्तीलाई चेन फ्रि गरेर खुला राख्न डाइरेट एड नेपालले सहयोग गरेको छ । हात्तीलाई चेन फ्रि गरेर राख्न विद्युतीय तारबारको घेरा बनाइएको छ । सौर्य ऊर्जाबाट विद्युत प्रवाह हुने तारबारभित्र हात्तीलाई स्वतन्त्र छाडिएको छ ।
साङ्लोमा बाँधेर राखिँदा हात्तीलाई हुने शारीरिक र मानसिक पीडा कम गर्न ‘चेन फ्रि’ अभियान थालिएको संरक्षणकर्मी मार्सलले बताइन् । उनका अनुसार साङ्लोले बाँधिरहँदा हुने तनावले समेत हात्तीलाई आक्रमणकारी बनाउने गर्छ । साङ्लोमुक्त बनाएर स्वतन्त्र रहन दिँदा हात्तीलाई मानसिक र शारीरिक रूपमा सहज हुुने उनको भनाइ छ।

नेपालमा पहिलोपटक निजी हात्तीहरूमा गरिएकोे यो अभ्यास अत्यन्त लाभदायक हुने उनको विश्वास छ । सपना भिलेजका चार हात्तीलाई चेन फ्रि गर्न संस्थाले १५ लाख रुपैयाँको लागतमा ‘फेन्सिङ’ बनाएको छ । यसअघि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा पोस्टहरूमा राखिएका हात्तीलाई साङ्लोमुक्त बनाइएको थियो । हात्तीलाई साङ्लोमुक्त गरी निश्चित ठाउँमा कोलार फेन्सिङ गरेर राखिएको थियो।

निकुञ्जका हात्तीहरूमा चेन फ्रि गरिएको चार वर्षपछि नीजी हात्तीलाई पनि चेन फ्रि गरिएको छ । हात्तीलाई चेनमुक्त बनाएर पाल्ने प्रकृतिमैत्री हुने सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी बताउँछन् । पर्यटकीय नगरी सौराहालाई जनावरमैत्री क्षेत्रका रूपमा चिनाउन पनि चेन फ्रि अभियानले सहयोग गर्ने उनले बताए ।

हात्तीलाई फेन्सिङमा राखेर चेनमुक्त गरिँदा माहुते र हात्तीको सम्बन्ध सुमधुर हुने अनुभव संरक्षणकर्मी मार्सलको छ । शारीरिक रूपमा ठूलो वन्यजन्तुमा पर्ने हात्तीको स्वभाव एकै ठाउँ बसिरहनेभन्दा हिँड्न, डुल्न रुचाउने हुन्छ । आफ्नो स्वभावअनुसार घुमफिर गर्न पाउने भएकाले हात्ती राख्न बनाइएका टहरामुनि बसीराख्नुपर्ने बाध्यता नरहेको भिलेजका प्रबन्ध निर्देशक गिरीको भनाइ छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App