८ वैशाख २०८१ शनिबार
समाज

नत्र नवौं सत्याग्रह : डा. केसी

पोखरा- चिकित्सा शिक्षाभित्रका बेथितिविरुद्ध लड्दै आएका डा. गोविन्द केसीले दसैंअघि आफ्ना माग पूरा नभए पुनः सत्याग्रहमा फर्कने घोषणा गरेका छन्। आठौं पटक सत्याग्रहमा रहँदा सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि अहिलेसम्म त्यसका लागि कुनै पहल नगरेकाले पुनः सत्याग्रहमा फर्कनुपर्ने अवस्था आएको उनले बताए।

'आठौं पटकको सत्याग्रह तोड्दा खाना खाएर लड्ने भनेको थिएँ तर, माग पूरा गर्न सरकारले उति चासो दिएको छैन,' शनिबार पोखराको मानवअधिकारचोकमा आयोजित कार्यक्रममा उनले भने, 'खाएर आन्दोलन गर्दा सुनुवाइ नभए फेरि सत्याग्रह (भोक हड्ताल) मा फर्किनुको विकल्प छैन।' उनले दसैंंभित्र आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिन अहिले खाना खाएरै आन्दोलन गरिरहेको बताए।

'खाना खाएर लड्दा अहिलेसम्म माग पूरा हुने लक्षण देखिएन। खाएर त अहिले पनि लडिरहेको छु  तर, माग पूरा हुने संकेत मिलेको छैन,' उनले थपे, 'यस्तै हो भने अब खाना नखाई नवौं पटक सत्याग्रहमा जानुको विकल्प छैन।' 'सोलिडारिटी फर डा. केसी' ले आयोजना गरेको उक्त कार्यक्रममा उनले आफूले विधिको शासन माग गरेको बताए। 'सत्यको सधैं विजय हुन्छ। हामी पक्कै जित्छौं,' उनले भने, 'हामीले मागेको अरु केही होइन विधिको शासन हो।' आठौं पटकको सत्याग्रहपछि सरकारसँग भएको सम्झौता बिथोल्न राजनीतिक दल लागिसकेको आरोप पनि उनले लगाए।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्ना मागबारे जानकारी गराएको केसीले स्मरण गरे। 'प्रधानमन्त्री दाहालसँगको भेटमा अघिल्ला सरकारले मसँग गरेको सम्झौता कार्यान्वयन गर्नुस् भनेको छु,' उनले भने, 'तर, प्रधानमन्त्री दाहालले अरुभन्दा आफू फरक रहेको जबाफ दिनुभयो। मैले धेरै प्रधानमन्त्रीलाई मागबारे जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ भएनन्। तपाईं (प्रधानमन्त्री दाहाल ) ले सम्झौता कार्यान्वयन गर्नुस् भनेको छु।'

केसीले आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध तत्काल संसदले महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने माग राखेकोमा त्यसका लागि सांसद तयार नभएको बताए। 'लोकमानलाई महाअभियोग लगाउन २५ प्रतिशत सांसद पनि तयार भएनन्। एक सय ५० जना सांसद पनि यसबारेमा तयार छैनन्,' उनले भने, 'एक चौथाइ सांसदले नै खुट्टा कमाए। राजनीतिक दल नै लोकमानलाई कारबाही गर्न सक्दैनन्।' राजनीतिक दल भ्रष्ट हुँदा लोकमानमाथि कारबाही हुन नसकेको केसीको भनाइ छ।

उनले अख्तियार प्रमुख कार्कीलाई कारबाही गर्ने क्षमता प्रमुख दलहरूसँग नरहेकोे बताए। 'मुखले एकातिर भन्ने, तर काम गर्ने क्षमता उनीहरूमा छैन,' केसीले भने, 'मसँग भएको सम्झौता बिथोल्न राजनीतिक दलका नेता नै सक्रिय छन्।'

अख्तियार प्रमुख कार्कीले संगठित समानान्तर सरकार चलाएको केसीको दाबी छ। 'कार्कीले कसैलाइ टेर्दैनन्,' केसीले भने, 'भ्रष्टाचार निर्मूल गर्न खटिएको मान्छे आफंै भ्रष्टाचार गरेर आफ्ना आसेपासे, नातागोताको स्वार्थमा लागेका छन्।' करोडौं भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नसक्ने अख्तियारले ८–१० हजार रुपैयाँ घुस लिएर काम गर्नेलाई भने कारबाही गरेको उनले बताए। 'कार्कीले करोडौं, अर्बौ रुपैयाँ खानेसँग मिलेर काम गरेका छन्। त्यही भएर उनलाई कारबाही नभएको हो,' उनले भने।

अख्तियार प्रमुख कार्की सुशासनको साटो कुशासनमा लागेको केसीको आरोप छ। 'हामीले त्यो कुशासनको विरोध नगर्ने हो भने नयाँ पुस्ताले हामीलाई धिक्कार्नेछ,' उनले भने, 'माफियाले नै देश चलाएका छन्। हामीले त्यसमा थिति बसालौं मात्र भनेका हौं। आउने पुस्तालाई समृद्ध मुलुक हस्तान्तरण गरौं भनेका हौं।' उनले कार्कीको नियुक्ति गैरकानुनी रहेको पनि बताए।

केही राजनीतिक दलले देशलाई पैत्रृक सम्पत्ति ठान्ने गरेको उनले बताए। 'हामीले सबै क्षेत्रलाई राजनीतिक भागबण्डाबाट मुक्त गरौं भनेका हौं। स्वास्थ्य उपचार राम्रो भए जनता स्वस्थ हुन्छन् भन्ने हाम्रो माग हो।' मुलुकका अझै ७६ प्रतिशत जनता आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेको उनले बताए।

स्वास्थ्यमन्त्री गगन थापासँगको भेटले भने आफूलाई केही विश्वस्त बनाएको उनले बताए। 'गगनले मलाई पहिलेदेखि नै साथ दिनुभएको होे। के, के गर्नुपर्छ भन्ने पनि उहाँलाई थाहा छ,' केसीले भने, 'हिजो (शुक्रबार) पनि मैले उहाँलाई भेटेको छु। मेरा माग सम्बोधन गर्छु भन्नुभएको छ।'

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनेबारे अरु सांसद सक्रिय हुनुपर्ने स्वास्थ्यमन्त्री थापाको भनाइ रहेको केसीले बताए। 'स्वास्थ्य मन्त्री गगन थापाले मात्रै सबै गर्ने होइन। सरकार र संसद पनि छ। उहाँ (स्वास्थ्य मन्त्री थापा) ले सक्नेजति काम गर्नेमा म विश्वस्त छु,' केसीले भने, 'उहाँले सकारात्मक कदम चाल्नेमा म विश्वस्त छु।'

केसीलाई साथ दिन कार्यक्रममा चिकित्सा क्षेत्रका विद्यार्थी भेला भएका थिए। पोखराका केही चिकित्सक पनि सोही कार्यक्रममा सहभागी थिए। केसी बिहान फिर्केखोला सरसफाइमा सहभागी भए। चिप्लेढुंगा क्षेत्र सफा अभियानमा पनि केसीले स्थानीयलाई साथ दिए।

प्रकाशित: १९ भाद्र २०७३ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App