८ वैशाख २०८१ शनिबार
प्रविधि

‘रिचार्ज पिट’ विना घर बनाउन नपाइने

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार परिसरमा रिचार्ज पिट निर्माणको तालिम लिदै डकर्मीहरु । तस्बिर:नागरिक

धरान– क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै जाने र सतहमा बाढी, भुकटान जस्ता विपत्ति न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले रिचार्ज पिट(खाल्डो)विना घरनक्सा पास नगर्ने कडा नीति लागु गरेको छ।

धरानजस्तो तीब्र शहरीकरण भइरहेको ठाउँहरु क्रंक्रिटका घर एवं भौतिक संरचनाहरुले ओगट्दा बर्षातको पानी जमिन मुनि जान नपाई ड्रेनमार्फत खोलामा पुग्ने र त्यसले बाढीको रुप लिएर घर, जग्गा बगाउने एवं कटान गर्नेजस्ता विपत्ति निम्त्याउने गरेको वातावरणविदहरुको भनाई छ । ‘अब अण्डर ग्राउण्ड वाटर रिचार्ज पिट विनाको घरनक्सा पास नै हुदैन । पहिला पनि थियो, तर अब कडाई गरिन्छ, र अनिवार्य हुन्छ,’ धरान उपमहानगरपालिकाका घरनक्सा शाखा प्रमुख बालकृष्ण कार्कीले भने । उनका अनुसार बर्षातमा धरान सधै खहरेको बाढीले जोमिखमा पर्छ । यहाँका खहरे हुदै बगेर गएको पानीले दक्षिणको इटहरी, पकली, बक्लौरीलगायत ठाउँ पनि बाढीको प्रकोप र डुबानमा पर्ने गरेको छ ।
क्रंक्रिटले जमिन मुनि पानी सोसिन नदिई पानीको स्रोत रित्याउने र जमिनको तापक्रम पनि बढाउछ । ‘नयाँ घरले अण्डर ग्राउण्ड वारट रिचार्ज पिट(पुर्नभरण खाल्डो) अनिवार्य बनाउनुपर्छ, यसले जमिनमुनिको पानीको स्रोत सुक्न दिदैन,’कार्कीले भने,‘रिचार्ज पिटमार्फत बर्षातको पानी, घरमा प्रयोग गरिएको पानी जमिन मुनि जादा रुखविरुवा हराभरा भइरहन्छ, पानीको स्रोत, ढुंगे धारा, कुवा पनि सुक्दैन ।’ साउद एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडिज(सियास)ले पानी श्रृंखलामार्फत निरन्तर पहल गरेपछि धरानले रिचार्ज पिटको अवधारणालाई नीतिगतरुपमा नै लागु गरेको हो । सियासले धरानमा जलवायु परिवर्तन, वातावरण संरक्षण र पानीको स्रोत सुक्न नदिन पानी श्रृंखलामार्फत सरोकारवालाहरुमाझ निरन्तर अन्र्तक्रिया र छलफल गराइरहेको छ।

खानेपानी समस्या(संकट) समाधान गर्न एसियाली विकास बैंकको ऋण तथा अनुदानमा खानेपानी आयोजना सञ्चालन भइरहेको धरानको लागि रिचार्ज पिट अति आवश्यक छ । आयोजनाले चारकोसे जंगलमा जमिन मुनिको पानी बोरिङ गरेर नगरबासीलाई वितरण गर्ने भएकोले रिचार्ज नगरे भुमिगत पानीको स्रोत सुक्ने चेतावनी वातावरणविदहरुले दिदै आएका छन् । उपमहानगर पनि यसमा सहमत छ । ‘हामीले त जमिन मुनिको पानी बोरिङ गरेका छौ, रिचार्ज गर्ने हो भने वाटर टेवल सुक्दै जान्छ । त्यो टेवललाई माथि उठाउन पनि पिट अनिवार्य बनाउनुपर्छ,’उनले भने ।

सियासका अनुसन्धानकर्ता कस्तुपराज न्यौपाने धरानका पक्की घरहरुले निलो छाना राखेर आकाशे पानीलाई पाइपमार्फत ड्रेनमा पुर्याउन गर्छन् । यसले सामान्य अवस्थाभन्दा छिटो आकाशे पानी ड्रेन हुदै खहरे खोलामा पुगेर बाढीको रुप लिने गरेको उनको भनाई छ । ‘क्रंक्रिट घर र निलो छानाबाट पाइपले थोरै पानी पर्दा पनि छिटो बगेर ड्रेन हुदै खोलामा पुग्छ, र बाढीकोरुप लिन्छ,’न्यौपानेले रिचार्ज पिटको फाइदाबारे भने,‘आकाशे पानी वा घरभित्रको पानी जमिनमुनि खसाउन सक्दा बाढीको प्रकोप कम हुन्छ, जमिन भित्रको पानीलाई पनि भरण गर्ने भयो । पानी जमिन मुनि जादा चिस्यान बढेर बोटविरुवा हराभरा हुन्छ, भुई चिसो भएर अहिले जस्तो तापक्रम पनि बढ्न दिदैन ।’

प्रकाशित: ३० जेष्ठ २०७५ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App