८ वैशाख २०८१ शनिबार
समाज

खुट्टा चल्न छाडेपछि खोरको बास

रविन्द्र सुवेदी

सिन्धुली – सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. ६ स्थित गहुखर्कका ६५ वर्षीय प्रेमबहादुर थापा दुई वर्षदेखि खोरमा छन्। खुट्टामा देखिएको अनौठो घाउका कारण उनी हिँड्डुल गर्न सक्दैनन्। बायाँ खुट्टाको कुर्कुचोको घाउ बढ्दै गएको छ, घाउको दुगन्धले नजिक जान सकिने अवस्था पनि छैन्।

घर २०७२ सालको भूकम्पले भत्काइदिएको छ, सरकारले दिएको अनुदान रकमबाट घर बनाउँदा बनाउँदै खुट्टाको घाउ बढेर हिँड्डुल गर्न नसक्ने भएपछि घरको काम अधुरै छ। कुर्कुचोमा देखिएको घाउले हिड्डुल गर्न नसकी थला परेका थापाको शरिर बिस्तारै सुक्दै गएको छ, जसका कारण लठ्ठीको साहारामा समेत हिँड्डुल गर्न सक्दैनन्। कुर्कुचोको घाउ अस्वभाविक रुपमा बढ्दै र सड्दै गएको जस्तो देखिन्छ, दुर्घन्धले गर्दा छिमेकीहरू समेत उनलाई भेट्न आउन मन गर्दैनन्।थापा ६७ वर्षीय दाई पुण्यबहादुरले बाख्रा पाल्न बनाएको खोरमा बस्छन्। हिँड्डुल गर्न नसक्ने भाईका लागि त्यही खोरको अर्को कुनामा खाल्डो खनेर चर्पी बनाइदिएका छन् दाईले। उपचार गर्ने पैसा छैन। दाईको परिवार पनि त्यस्तै हालतमा भएकाले अब कसैले उपचार गर्न लैजालान् कि भन्ने आशा पनि छैन।

कपडाको झोलाले ढाकेको खुट्टाको घाउ हम्किँदै थापा भन्छन्, ‘औषधि गर्न त अब के सकिन्थ्यो र ? यत्तिकै खुट्टो कुहिँदै कुहिँदै माथिसम्म आएर मर्छु होला, तर धेरै ढिलो मर्छु कि भन्ने पीर लाग्छ।’

सानैमा आफ्नो हातमा देखिएको अज्ञात रोगका कारण अपांगता भएपछि बिहे नगरी एक्लै बसेका थापा अहिले बुढेसकालमा बेसहारा बनेका छन्। उनका दुबै हातका औँलाहरू बांगा छन्, त्यसै कारणले उनले बिहे गरेनन्।

उमेरले नेटो काट्नै लाग्दा प्रेमबहादुर थापाको खुट्टामा अज्ञात रोगको आक्रमण भयो र बल्छिमा परेको माछा जस्तो भयो जीन्दगी, छट्टपाउन सक्ने, छुटकारा पाउन नसक्ने। अपांगताका कारण उ बेला कसैले आफूसँग विहे गर्न नचाहेको दुखेसो गर्छन् उनी। तै पनि ठिकठाक चल्दै गरेको जीवन गतिमा बायाँ खुट्टामा देखिएको सानो घाउले असाध्य पीडा थप्दै गएको छ। करिब दुई वर्ष यता आफ्नो जन्म गाउँ गहुँखर्कबाट दायाँबायाँ जान सकेका छैनन् उनी। 

दुई वर्षअघि खुट्टाको कुर्कुचोमा सानो घाउ देखापर्यो। ठिक भइहाल्ला भन्ने आश गर्दा गर्दै घाउ बढ्दै गयो, स्थानीय स्वास्थ्य संस्थामा देखाउँदा काठमाडौं गएर उपचार गर्ने सल्लाह पाए तर काठमाडौंसम्म पुर्याइदिने मान्छे र पैसाको अभावले त्यत्तिकै रह्यो। आँफै बेसहारा जस्ता वृद्ध दाजु भाउजुको शरणमा अहिले थापाको परानी धानिएको छ। 

६७ वर्षका दाई पुण्यबहादुर थापा पहिरोले पुरिएर अपांगता भएकी श्रीमती चित्राकुमारीको सेवा गर्नु कि, हिँड्न नसक्ने भाईको सेवा गर्नु वा घरखर्चका लागि पालेका पशु चौपायाको सेवा गर्नु ? समस्याहरूको चक्रब्युहमा छन्। दाई पुष्यबहादुरकी एकमात्र सन्तान छोरी बिहे गरेर गइसकेकी छन्। घरको उब्जनीले खान पुग्दैन। जमीन त छ तर खेती गरिदिने मान्छे छैन। कुखुरा र पाठा बेचेर आउने सानोतिनो पैसाले आफूहरू दुई जना र प्रेमबहादुरको ज्यान पाल्नु पर्ने अवस्था छ।

भाईको उपचार गर्न आफैले भए पनि काठमाडौं लिएर जाने आशा राखेका दाई पुण्यबहादुर भन्छन्, ‘कुखुरा र पाठा बेचेको पैसा चामल किन्दा सकिन्छ, कहाँबाट पैसा खोज्नु र उपचार गर्नु ?’

स्थानीय जनप्रतिनिधि सुनकोशी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य शिव थापा प्रेमबहादुरको उपचारका लागि आफूले धेरैसँग अनुरोध गरेको र आफ्नो कार्यालय र जिल्लामा पनि यसबारे कुरा चलाएको बताउँछन्। तै पनि अहिलेसम्म कतैबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको छैन। आफूले सहयोगका लागि अहिले पनि अपिल गरिरहेको र सहयोग प्राप्त भए काठमाडौं लगेर उपचार गराउने चाहना रहेको वडा सदस्य थापाले सुनाए।

प्रकाशित: ३० जेष्ठ २०७५ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App