६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

गर्मीले ज्वरोका बिरामी बढे

काठमाडौं - गर्मी र मनसुन बढेसँगै अस्पतालमा ज्वरोका बिरामी बढेको छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक औसत २० जना ज्वरोको बिरामी आउने गरेका छन् भने राजधानीर्क हेल्पिङ ह्यान्डस अस्पतालमा दैनिक १५ ज्वरोका बिरामी आइरहेका छन्। अस्पतालमा आउने बिरामीको स्थिति हेर्दा समुदायमै ज्वरोको समस्या फैलिँदै गएको हुनसक्ने चिकित्सकहरुको अनुमान छ।

ज्वरोको समस्या लिएर उपचारमा आउने बिरामीहरुमा टाइफाइड र हेपाटाइटिस (जन्डिस)का लक्षण देखिएको चिकित्सकहरुले जनाएका छन्। ‘कोही ज्वरो आएर घटिसकेको अवस्थामा आएका छन् भने कतिपय ज्वरो बढ्दै गएको अवस्थामा उपचारका लागि आएका छन्,’ हेल्पिङ ह्यान्डस अस्पतालका फिजिसियन डा. सविन थपलियाले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभागका डा. शेरबहादुर पुनले टाइफाइडकै जस्तो ज्वरोको लक्षण लिएर बिरामीहरु अस्पताल आउने क्रम बढेको बताए। केही दिनयता चर्को गर्मी बढेपछि ज्वरोका बिरामी आउने क्रम सुरु भएको डा. पुनले बताए।

पानीपुरी, घरबाहिरको खाना खानेहरु, पानी उमालेर नपिउनेहरुमा ज्वरो देखिने गरेको चिकित्सकले जनाए। ‘पानी पुरी खाने, स्कुल÷कलेज पढ्दै गरेका छात्रछात्रामा पनि ज्वरो आएको देखिएको छ,’ डा.थपलियाले भने। मनसुनमा उपत्यकाको पानीको स्रोत दूषित बनेर हेपाटाइटिस ‘ए’ र ‘इ’ तथा टाइफाइडको संक्रमणले ज्वरो आएको चिकित्सकहरुले बताएका छन्। कतिपय बिरामी मेडिकलबाट औषधी किनेर खाएर निको नभएपछि रोग जटिल बनिसकेको अवस्थामा अस्पताल आइपुगेको डा.थपलियाले बताए। ‘टाइफाइड जटिल बनेकाहरु आइसियुमै भर्ना गर्नुपर्ने अवस्थाका हुन्छन्,’ उनले भने।

राजधानीमा पहिलादेखि नै वर्षेनी बाह्रै महिना देखापर्ने टाइफाइडका किटाणुको क्षमता बढेकाले पहिला चलाउँदै आएका एन्टिवायोटिकले काम गर्न छोडेको डा. थपलियाले बताए। ‘उपत्यकाको पानी पहिलादेखि संक्रमण छ, पानी परेपछि यी रोगको संक्रमण बढेको हो,’ डा.पुनले भने। उनका अनुसार पानी परेपछि हाम्रो पानीको स्रोतमा फोहोर मिसिएर दूषित बन्ने र प्रदूषित पानी कुनै न कुनै रुपमा हाम्रो पेटमा पुगेपछि यी रोगको संक्रमण बढ्छ। दूषित पानी अर्थात् दिसा मिसिएको पानीमा हेपाटाइटिस ‘ए’ र ‘इ’ को संक्रमणले कलेजोमा असर पु-याउँछ भने सोही पानीमा पाइने ‘साल्मोनेला’ किटाणुले ठूलो आन्द्रामा प्वाल पार्नेलगायत असर गर्छ । टाइफाइड भएमा ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने, खाना नरुच्ने जस्ता लक्षण देखिन्छन् भने हेपाटाइटिस संक्रमण भएमा फियो सुन्निने, खाना नरुच्ने, सुरुमा ज्वरो आउने जस्ता लक्षण देखिन्छ।

कसरी बच्ने ?

  •  खाना खानुअघि र खाएपछि राम्रोसँग हात धुने
  •  व्यक्तिगत सफाइमा ध्यान दिने
  •  बाहिरको खाना सकेसम्म नखाने
  • बाहिर खानैपरे सफाइ व्यवस्थापन भएको ठाउँमा मात्र खाने

प्रकाशित: ३० जेष्ठ २०७५ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App