८ वैशाख २०८१ शनिबार
विचार

एसियाकै दोस्रो!

बुढानीलकण्ठ स्कुलमा पढ्दा सबैले भन्थे- यो स्कुल एसियाकै दोस्रो ठूलो आवासीय विद्यालय हो। अनि महाराजगञ्जस्थित शिक्षण अस्पताल र पुल्चोकको इन्जिनियरिङ क्याम्पस पनि क्रमशः एसियाकै दोस्रो उत्कृष्ट संस्थाहरू । कञ्चनपुरको १.४ किमि लामो दोधारा चाँदनीको झोलुंगे पुल एसियाकै दोस्रो लामो। एसियाकै दोस्रोको फेहरिस्त हामीकहाँ लामै छ । जलविद्युत्मा त झन् संसारकै दोस्रो धनी।

हाम्रा नेताहरू बेला बेलामा अलौकिक ‘गफ’ दिन्छन्, जनतालाई। प्रधानमन्त्री केपी ओलीले तीन वर्षअघि एउटा कार्यक्रममा ‘राइनो’ होइन, गैँडा भनेर भाषण गरे। माधवकुमार नेपालले अलिक वर्षअघि बिजुली उत्पादन गरेर भू–उपग्रहबाट अन्य देशलाई बेच्ने ‘गफ’ दिए। अनि संसारकै उत्कृष्ट वा दोस्रो राम्रो विकसित देश बनाउने उद्घोष त यो देशमा कति भए कति!

नेता बाँसुरी फुकिरहन्छन् र हामी जनता त्यही एसियाकै दोस्रोको धुनमा कम्मर मर्काइरहन्छौँ।

आखिर किन यस्ता हावादारी गफ र तथ्यविहीन कथनहरू हाम्रो समाजमा फैलन्छन्? किन हाम्रा नेता, शिक्षक र अन्य बुद्धिजीवी पनि यी कथाहरूलाई दोहो-याउँछन्? यस्ता ‘गफ’ हाम्रो समृद्धि हासिल गर्ने बाटोमा ठूलो मानसिक अवरोध बनेर बसेका छन्। तर, यस्तो शृंखला जारी छ।

भारतमा सन् १९८० पछि गिनिस बुकमा रेर्कड राख्ने राष्ट्रिय लहर आजसम्म पनि जारी छ। संसार आर्थिक प्रगतिको पथमा द्रुतरूपमा अघि बढ्दै गर्दा पिछडिएको विशाल देश आफ्नो राष्ट्रिय पहिचान र शक्ति आर्जनको भोकको परिणाम रेकर्ड राख्ने लहरका रूपमा अव्यक्त भयो। विशाल जनसंख्या भएको देशलाई कहिलेकाहीँ आफ्नो संगीन समस्या एकैछिन भुल्ने ललिपप पनि बनेको छ, गिनिस रेकर्ड भारतमा।

यस्तै, तथ्यविहीन एसियाकै दोस्रो रोगले हाम्रो राष्ट्रिय मानसपटललाई संकुचित, विकास विरोधी र समस्या समाधानबाट धेरै पर धकेलेको छ। वाम गठबन्धनको चुनावी घोषणापत्र पढेर मख्ख पर्ने हामी नेपालीले घोषणापत्रका वाचाहरू कति तर्कसंगत छन्, कति आवश्यक छन् र कति यथार्थपरक छन् भन्ने गहन र मिहिन छलफल गर्दै गरेनौँ। सबैले पत्याए, भोट हाले तर ती वाचा पूरा गर्नेतर्फको कडा परिश्रम हाम्रो सरकारी कार्यशैलीमा पटकै झल्कँदैन।

वाम गठबन्धनको घोषणपत्रका कतिपय कार्यक्रम आगामी ५ वर्षमा पूरा गर्न नसकिने होइन। तर त्यसका लागि प्रधानमन्त्री, मन्त्री र राज्य संयन्त्रले गम्भीर होमवर्क गरि चुस्तरूपमा काम गर्नुपर्छ। अध्ययन गर्नुपर्छ। प्रधानमन्त्री दिनहुँ २/३ वटा कार्यक्रममा जान्छन्, अनि कति बेला काम गर्ने? मन्त्रीहरूलाई भाषण र उद्घाटनमै फुर्सद छैन, अनि कहिले बसेर, राय लिएर जिम्मेवारीपूर्वक काम गर्ने? यो गाह्रो काम हो। यसका लागि कठिन अनुशासन चाहिन्छ । कसले गर्ने यो?

एसियाकै दोस्रो राम्रो भनेपछि किन सुधार्नुप-यो महाराजगञ्ज शिक्षण अस्पतालको पढाइ? एसियाको दोस्रो राम्रो पुलचोक इन्जिनियरिङ क्याम्पसलाई किन छुनुप-यो? चलेकै छ। भ्रमले ‘मार्केट’ लिएकै छ। नेताले भनिदिन्छन्— एसियाकै दोस्रो ठूलो क्याम्पस त हामीकहाँ नै छ त।

डा.हरिमान श्रेष्ठले मस्को पावर इन्स्टिच्युटमा अध्ययन गर्दा स्नातकोत्तर तहको शोधपत्रमा नेपाल नै नआई नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट लेखिदिए। सायदै नेपालमा यो भन्दा ठूलो ‘मिथ’ फैलिएको होला। बच्चाहरू अहिले पनि विद्यालयमा पढ्छन्-नेपाल ब्राजिलपछि जलस्रोतमा विश्वकै दोस्रो धनी!

त्यसैले सजिलो बाटो भनेको जनताकोमा गयो, कार्यक्रम ग-यो गुलिया मीठा भाषण ग-यो, जनतालाई पुलकित गरायो अनि केही समयलाई भ्रमको खेती चलिहाल्छ, अनि फेरि अर्को फण्डा ग-यो। बस्, देश चलिरहन्छ, कसलाई के बितेको छ र?

प्रधानमन्त्री पानीजहाज, रेल अनि के के सपना बाँडेर थाकेका छैनन्। तर दुर्गमका तुइनबाट खोलामा परेर जनता मरिरहेकै छन्। सिन्डिकेटका खेलाडीहरू अझ बलिया भएका छन्। आसेपासेका धन्दा जारी छन्। ठेकेदारले आफ्नो कामचोर प्रवृत्ति रोकेकै छैनन्, र उल्टै राज्य संयन्त्रलाई चुनौती दिन्छन्। अनि जनताले कल्पना गरेको समृद्धि उही कतारबाट सस्तो काठको बाकसमा आइरहेकै छ। एसियाकै दोस्रो ठूलो कामदार निर्यात गर्ने देश।

अनि एसियाकै दोस्रो राम्रो भनेपछि किन सुधार्नुप-यो महाराजगञ्ज शिक्षण अस्पतालको पढाइ? एसियाको दोस्रो राम्रो पुलचोक इन्जिनियरिङ क्याम्पसलाई किन छुनुप-यो? चलेकै छ। भ्रमले ‘मार्केट’ लिएकै छ। नेताले भनिदिन्छन्-एसियाकै दोस्रो ठूलो क्याम्पस त हामीकहाँ नै छ त।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि एउटा कार्यक्रममा भनेका थिए, ‘विकास त भइरहेकै छ त ।’ मानौँ, नेपालीलाई अहिलेभन्दा बढी विकास, प्रगति चाहिँदैन र गर्नै हुँदैन। २००७ देखि ०७५ सम्म आइपुग्दा त विकास कति कति । तर हाम्रा नेताले विश्व कुन गतिमा कहाँ पुगिसक्यो भन्ने भेउ पाउँदैनन् कि?

हाम्रा प्रायःजसो राष्ट्रिय तहका नेतामा अहिले झुण्डिएको शब्दावली हो विकास र समृद्धि। तर एकाध बाहेकलाई यो विकास भनेको के हो, कसरी ल्याउने समृद्धि भन्नेबारे न त अध्ययन, विचार, विमर्श गर्छन् न त तत् क्षेत्रमा विशिष्ट ज्ञान र अनुभव सँगालेकासँग सल्लाह नै लिन्छन्। पढेका, बुझेका अर्थविद् र अन्य विशेषज्ञलाई पार्टी विशेषको बिल्ला झुण्डायो बस् ! अनि, उही आसेपासे वा भरौटेलाई विज्ञमा नियुक्ति ग-यो अनि विकासको आगो बालेर जनतालाई जाडोमा सेकाइरह्यो।

गोरखाको मेरो गाउँको पारि ठूलो पहाड छ। हेर्दै डर लाग्ने अग्लो त्यो पहाड देखाएर अहिले पनि गाउँका बूढापाकाहरू भन्छन्-यो पहाड त एसियाकै दोस्रो ठूलो र अमेरिकाले अर्र्बाैं डलरमा किन्छु भन्दा पनि हाम्रा नेताले नबेचेको रे। अनि त्यस्तो खतरा अर्बाैंको पहाडको अगाडि बस्न पाएपछि हामी नेपालीलाई किन चाहियो समृद्धि? किन फोड्न दिने त्यस्तो पहाड ? फेरि त्यही पहाडभित्र सुन खानी भेटिएला र देश रातारात फ्याट्ट धनी बन्यो भने चौपट!

अमेरिकाले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति निर्वाचित गरेपछि उनले त्यहाँका ठूला–ठूला मिडिया कम्पनीलाई हरेकजसो पत्रकार सम्मेलनमा फेक मिडिया अर्थात् झुटा समाचारको खेती गर्ने संस्थाका रूपमा चित्रित गर्छन्। अमेरिकाको प्रतिष्ठित दैनिक पत्रिका ‘वासिङ्टन पोस्ट’का अनुसार डोनाल्ड ट्रम्पले ४६६ दिनसम्मको शासन अवधिमा ३००१ पटक झुटो बोलेका छन् । अर्थात् औसतमा उनले दिनको ६.५ पटक झुटो बोल्छन् । तर पनि अमेरिकाको ४० प्रतिशतभन्दा बढीले उनलाई विश्वास गर्छन् । ट्रम्पले जलवायु परिवर्तन स्वीकार गर्दैनन् । तर पनि उनको झुटको खेती अहिलेका लागि चलेकै छ!

हामीकहाँ पनि करिब करिब त्यस्तै प्रवृत्ति देखिन्छ। तथ्य, अङ्क र अकाट्य प्रमाणलाई हावादारी भन्ने। काल्पनिक तथ्य र सपना बाँड्ने । वायुयान र बोइङभन्दा पहिले नेपालमा ‘विमान’ उडेको जस्ता कथालाई लिएर प्रगतिको मीठो हौवा बाँड्ने अनि पत्रिकाले जे पनि लेख्छन् भनेर तथ्यलाई नकार्ने । यी सबै एसियाकै दोस्रा मीठा गफ त हुन् नि!

वास्तवमा हाम्रो शासन प्रवृत्ति किन यति साह्रै सतही छ ? किनकि हामी त्यसमै रमाएका छौँ। भारतले खिस्रिक्क केही ग-यो कि चार हात उफ्रिहाल्छौँ । नेताले त्यसलाई घोडा बनाएर सत्ता पल्टाइहाल्छ अनि कसलाई चाहियो साँच्चिकै विकास । देउवाले भने जस्तै विकास त भइरहेकै छ त!

जनताले कल्पना गरे जस्तै र नेताले भ्रम छरे जस्तै एसियाकै दोस्रो उत्कृष्ट हुन हामीमा निक्कै बुद्धिमतापूर्ण निर्णय, परिश्रम र लगनशीलता चाहिन्छ। ठूला योजना छिटो–छिटो सम्पन्न हुनुभन्दा अगाडि विश्वकै उच्च स्तरको इन्टरनेट सेवा, एकै पटकमा उद्योगधन्दा दर्ता, अनलाइनबाटै विविध सरकारी सेवा, सिन्डिकेटविनाको बजार र सहज काम गर्ने वातावरण त निर्माण गरौँ। मलाई पनि रमाइलो लाग्छ प्रम ओलीको भाषण सुन्न, पुलकित बनाउँछ मेरो दिमागका तन्तुलाई । तर यो रोग हो, सरुवा रोग ! नेताहरूले एउटा पुस्ताबाट अर्कोमा हस्तान्तरण गरेका ग¥यै छन्, अनि हामी जनता सधैँ त्यसको रोगले ग्रस्त!

एसियाको पहिलो अर्थतन्त्र हाम्रै उत्तरी छिमेकी राष्ट्र चीन अनि हामी एसियाको दोस्रो हुन उखान टुक्का र गफले हुँदैन। काठमाडौँ–तराई एक्सप्रेस वे, काठमाडौँ–रक्सौल रेलवे, काठमाडौँ फास्ट ट्रयाक, अनेकन् आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल योजना त कति हुन् कति। तर यी योजना हाम्रो कुन सामूहिक राष्ट्रिय लक्ष्यअन्तर्गत हुन् त ? यी आयोजनाले कसरी हाम्रो मुलुक अबका १२ वर्षमा मध्यम आय भएको मुलुकमा पुग्न सहयोग पुग्छ त ? कसले बुझाउने यी कुरा ? कुनै ठूला आयोजनाका बारेमा अलिक बहस ग-यो, विकास विरोधी हुने डर छ, सरकारलाई सुझाव दियो अमेरिका, भारत, चीन र क–कसको एजेन्ट भइएला भन्ने डर अनि एसियाको दोस्रो हुनबाट रोक्ने नालायक पो भइन्छ कि भन्ने डर!

न त बुढानिलकण्ठ एसियाको दोस्रो ठूलो आवासीय विद्यालय हो, न त पुल्चोक क्याम्पस र महाराजगञ्ज शिक्षण अस्पताल एसियाको दोस्रो राम्रा विद्यालय हुन्। त्रिभुवन विश्वविद्यालय विश्वमा ३,४१६ औँ र एसियाको १,२५० औँ स्थानमा पर्छन् । पुल्चोक र शिक्षण अस्पताल त्रिविभित्रै पर्छन् । अनि, न त मेरो गाउँपारिको पहाड अमेरिकाले अर्बौं डलरमा किन्न खोजेको थियो । कञ्चनपुरको दोधारा चाँदनी पुल एसियाको लामोमा पनि पर्दैन । जलविद्युत् सम्भावनामा हामी एसियाको दोस्रोको त कुरै छाडौँ, विश्वको प्रमुख २५ मा पनि पर्दैनौँ । हामी यो एसियाकै दोस्रोको रोगबाट ननिस्केसम्म यथार्थपरक प्रगति र विकासको बाटोमा लाग्ने सुरसार नै देखिँदैन। नेता बाँसुरी फुकिरहन्छन् र हामी जनता त्यही एसियाकै दोस्रोको धुनमा कम्मर मर्काइरहन्छौँ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App