coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुध्रिएनन् पृथ्वी राजमार्गका होटल

पृथ्वी राजमार्गअन्तर्गत पर्ने एक होटलमा अनुगमन गर्दै धादिङको बजार अनुगमन टोली । तस्बिर :सरिता/नागरिक

धादिङ - गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम । उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारीसाधन राजमार्गका होटलमा रोकिने गर्छन् । गर्मी छल्न र भोक मेटाउन यात्रुहरु पनि आतुर हुन्छन् ।

जाममा परेर भोक र प्यासले रन्थनिएका यात्रुहरु होटलवालाले जति मूल्य भन्यो त्यति नै तिर्न बाध्य हुन्छन् ।पृथ्वी राजमार्ग छेउछाउमा सञ्चालित होटलमा बढी मूल्य लिएको भन्ने जनगुनासो दिनहुँ आउने गरेको छ । न सरसफाइ ध्यान दिइएको छ न त होटेलमा मूल्यसूची नै राखिएको छ ।

होटल सञ्चालको लापरबाहीले राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरु आजित भइसकेका छन् । होटलमा खानेकुरा खाँदा आफूहरु ठगिनु परेको र खानाबारे सोधपुछ गर्दा उल्टै दुव्र्यवहार सहनु परेको काठमाडौं जाँदै गरेका धादिङबेसीका रामजी अधिकारीले बताए । ‘चर्को घाम र जामले थकित भएर आएका हुन्छौं, यता होटलवालाले जति भन्यो त्यति नै तिर्नुपर्छ,’ अधिकारीले भने, ‘खाना खुवाउने वहानामा यात्रुलाई लुट्ने गरेका छन् ।’ चालक र होटल मालिकको मिलेमतोमा नै यात्रुहरु ठगिने गरेको यात्रुको भनाइ छ ।

बस तथा माइक्रोबसबाट यात्रा गर्ने यात्रुलाई खाजा, खाना खुवाउने अधिकांश होटलले खानामा मिसावट गरेको भेटिने गरेको छ । बाहिरबाट टिलिक्क देखिएका होटलको खानामा पनि गुणस्तर नभएको उपभोक्ताको गुनासो छ । होटल सञ्चालकले किचन र भाँडा माझ्ने एउटै ठाउमा बनाएको भेटिएको छ । ‘बाहिर हेर्दा सरसफाइ देखिन्छ तर खाना गुणस्तरीय हुँदैन,’ अधिकारीले भने, आफ्नै मनोमानीमा चल्ने गरेका छन्।’

पृथ्वी राजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटल मालिकले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको धेरै गुनासो आउने गरेका छन् । दुषित खाने कुरा खुवाउने गरेको गुनासो आएपनि अनुगमनमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक धोलकराज ढकालले त्यस्तो नभेटिएको प्रतिकृया दिए । ‘पहिलेको तुलनामा केही मात्रामा होटल सुध्रिएका छन्,’ ढकालले भने, ‘अटेरी गर्ने होटलवालाको नामावली तयार पारी कारबाहीको सूचीमा राखेका छौं ।’

राजमार्गका होटललाई शुद्ध र सफा बनाउन जिल्ला प्रशासन कार्यालय धादिङ, वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत बेला बेलामा अनुगमन गर्ने गरेको भएपनि खासै प्रभावकारी हुन सकेको छैन । अनुगमनमा परेका अधिकांश होटल फोहोरी भेटिएका छन् । अनुगमन गर्दा सरसफाइमा ध्यान दिन, मूल्यसूची राख्न, दर्ता र नवीकरण गर्न, म्याद नाघेका सामान बिक्री नगर्न निर्देशन दिँदै आए पनि व्यवसायीले पालना गरेका छैनन्।

राजमार्गमा होटलसँगै राखिएका किराना पसलबाट पनि म्याद नाघेका खाद्य सामग्री समेत भेटिने गरेको छ । उपभोक्ता संरक्षण ऐन २०५४ ले उत्पादकको नाम, ठेगाना, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन र म्याद सकिने मिति अनिवार्य उल्लेख गर्न भनेको छ । कानुनले यी सबै विषय नखुलाई सामान बेच्नु गैरकानुनी भनेर प्रस्ट पारेको छ । तर अधिकांश होटलमा खानेकुरा नछोपी राखेको, यात्रुलाई वितरण गर्ने खाना र फोहोर छेउमै राखेको फेला परेको थियो । फ्रिजमा राखेको अचार र धनिया लथालिंग अवस्थामा भेटिएको थियो ।

धादिङमा अनुगमन टोलीले एकसाता लगाएर गरेको बजार अनुगमनमा म्याद नाघेका खाद्य पदार्थ बरामद गरेको छ । म्याद नाघेका चाउचाउ, बिस्कुट, कोक, रेडबुल, कुरकुरे, आलु चिप्स लगायता सामान बरामद गरेको हो । एकातिर म्याद गुज्रेको खानेकुरा अर्कोतिर दोब्बर रकम तिरेर बेच्ने गरेका छन् । प्रशासनले अनुगमनका क्रममा मात्रै नभई निरन्तर रुपमा यस्ता विषयलाई निगरानी गर्नुपर्ने स्थानीयको भनाइ छ । आर्थिक वर्षको अन्त्यमा अनुगमनको बहानामा भएका बजेट सकाउन अनुगमन गरेको स्थानीयले आरोप लगाएका छन् ।
 

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App