ट्रम्प–किम ऐतिहासिक बैठक

अमेरिका—उत्तर कोरिया सम्बन्ध नयाँ युगमा

बुधबार, ३० जेठ २०७५, ०६ : २० अशोकराज पाण्डे

काठमाडौं - एकआपसमा कट्टर दुस्मन मानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच पहिलोपटक मंगलबार सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको छ । बैठकपछि दुई देशबीच चारबुँदे बृहत् सम्झौता भएको छ । सम्झौतासँगै अमेरिका–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ।

अन्तर्राष्ट्रि समाचार एजेन्सी रोयटर्सले ट्रम्प र किमबीचको बैठकपछि चारबुँदे बृहत् सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ । अमेरिका–उत्तर कोरियाबीच नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा दीर्घकालीन तथा मजबुत शासन स्थापना गर्ने विषयमा बृहत्, गहिरो र हार्दिकतापूर्ण विचार आदानप्रदान भएको ट्रम्प–किम बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सुरक्षा ग्यारेन्टीको प्रतिबद्धता गरेको र उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे आफ्नो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गरेको विज्ञप्तिलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ ।

सिंगापुरको सेन्टोसा टापुस्थित क्यापेल्ला रिसोर्टमा करिब ४० मिनेट अनुवादकसहित भएको ‘वान टु वान’ ट्रम्प–किम वार्तापछि दुवै नेताले आफ्ना प्रतिनिधिमण्डलसहितको बैठक गरेका थिए ।बैठकपछि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले बृहत् सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा भएको विवरण सुरुमा सार्वजनिक गरिएन । पछि ट्रम्प र किमले संयुक्त विज्ञप्तिमार्फत सम्झौता सार्वजनिक गरेका थिए ।

विज्ञप्तिमा अमेरिका र उत्तर कोरियाबीच भएको सहमतिका चार बुँदासहित बैठकमा भएका घटनाक्रम व्याख्या गरिएको छ । विज्ञप्तिमा अमेरिका र उत्तर कोरियाबीच स्थापना भएको नयाँ सम्बन्धले कोरियाली प्रायद्वीपमा शान्ति तथा स्थायित्व ल्याउने विषयमा दुवै नेता सहमत देखिएको उल्लेख छ । दुवै नेताले आपसी विश्वास बढाएर कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्न सहयोग पुर्याउने सम्झौतापत्रमा उल्लेख गरेका छन्।

रोयटर्सका अनुसार सम्झौतापत्रको पहिलो बुँदामा दुवै देशका नागरिकको शान्ति र स्थायित्वप्रतिको चाहनाअनुसार अमेरिका र उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्ध रहेको उल्लेख छ । दोस्रो बुँदामा कोरियाली प्रायद्वीपमा दीर्घकालीन, स्थिर एवं शान्तिपूर्ण सत्ता स्थापनाका लागि दुवै देशले संयुक्त प्रयास गर्ने लेखिएको छ ।

गत अप्रिल २७ मा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय –इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको पान्मुनजोम वार्ता र घोषणाप्रति पुनः प्रतिबद्ध रहँदै कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्नेतर्फ लाग्न उत्तर कोरियाले प्रतिबद्धता व्यक्त गरेको विषय तेस्रो बुँदामा समेटिएको छ ।

चौथो बुँदामा अमेरिका र उत्तर कोरिया दुवैले बाँकी युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाको अवशेष खोजी गर्ने र पहिचान भइसकेका मानव अवशेषलाई तत्काल सम्बन्धित देशमा पठाउने विषयमा सहमति जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली अधिकारीले यथासक्य चाँडो मितिमा वार्तालाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा ट्रम्पले के भने
उत्तर कोरियाली सर्वोच्च नेतासँगको ऐतिहासिक बैठकपछ आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिबाहेकका विषय पनि खुलाए । ट्रम्पले दक्षिण कोरियासँग मिलेर गर्दै आएको संयुक्त सैन्य अभ्यास बन्द गर्ने घोषणा गरे । ट्रम्पको यस्तो घोषणालाई अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

अमेरिका–दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास किम शासनलाई च्युत गर्ने रिहर्सलका रूपमा उत्तर कोरियाले बुझ्दै आएको छ । ट्रम्पले दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकलाई स्वदेश फिर्ता गर्ने चाहना रहेको समेत खुलासा गरेको रोयटर्सले जनाएको छ । हाल दक्षिण कोरियामा लगभग ३० हजार अमेरिकी सैनिक तैनाथ छन् ।

आफूसँग उत्तर कोरियाको प्रमुख क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्ने विषयमा समेत किम सहमत भएको ट्रम्पले पत्रकार सम्मेलनमा बताए । उनले यसबारे मिति भने खुलाएनन् । उनले उत्तर कोरियाको निःशस्त्रीकरण प्रक्रिया चाँडै नै सुरु हुने र उक्त कार्यको प्रमाणीकरण धेरैको रोहबरमा हुनेसमेत बताए ।

उत्तर कोरियाले उसको प्रमुख क्षेप्यास्त्र इन्जिन परीक्षण केन्द्र ध्वस्त गर्नेबारे सहमति गरेको भए पनि प्योङयाङमाथिको आर्थिक प्रतिबन्ध हाललाई भने कायम नै रहने ट्रम्पले बताए । सम्झौतापत्रमा हस्ताक्षर गर्ने समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको निःशस्त्रीकरण प्रक्रिया तत्काल सुरु हुने बताएका थिए । दुई नेताबीच विशिष्ट खालको सम्बन्ध विकास भएको भन्दै किमलाई निश्चय पनि ह्वाइट हाउस बोलाउने ट्रम्पले बताए ।सम्झौतापत्र हस्ताक्षर समारोहमा उपस्थित पत्रकारले चिच्याउँदै ‘ह्वाइट हाउस जानुहुन्छ’ भनेर सोधेको प्रश्नलाई किमले भने बेवास्ता गरेको समाचार एजेन्सी एसोसियटेड प्रेसले जनाएको छ । किमले आफ्नो निमन्त्रण स्वीकार गरेको ट्रम्पले बताए ।

सम्झौतापत्र हस्ताक्षर समारोहमा उत्तर कोरियाली नेता किमले ‘विश्वले प्रमुख परिवर्तन देख्ने’ घोषणा गरेका थिए । ट्रम्प र किम दुवैले विगतलाई छोड्ने निर्णय भएको समेत बताएका थिए । शिखर सम्मेलनको समाप्तिमा ट्रम्प र किमले कुनै अनुवादकबिना नै हात मिलाएर बिदाइ साटासाट गरेका थिए।

१३ सेकेन्डसम्म हात मिलाइयो

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको बैठक दुई नेताले हात मिलाएपछि सुरु भएको थियो । करिब १३ सेकेन्डसम्म हात मिलाउने काम भएको थियो । क्यापेल्ला रिसोर्टको दुईविपरीत ठाउँबाट दुई नेता बैठकस्थल आएका थिए । सुरुमा ट्रम्पले दिएका थिए, त्यसपछि किमले । हात मिलाउँदै गर्दा ट्रम्पले किमको काँधमा धाप पनि मारेका थिए । हात मिलाइसकेपछि त्यहाँ उपस्थित फोटोग्राफरअघि फर्किएर उनीहरुले तस्बिर खिचाएका थिए।

‘वान टु वान’ वार्ताअघि भएको संक्षिप्त पत्रकार सम्मेलनमा ट्रम्पले आफूले अत्यन्तै खुसी महसुस गरिरहेको बताएका थिए । उनले आफूहरुबीच बृहत् छलफल हुने र आश्चर्यजनक सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । किमले भने अमेरिकी राष्ट्रपतिसँगको वार्तासम्म आइपुग्नु सजिलो कार्य नभएको बताएका थिए । उनले विगत, पुरानो पूर्वाग्रह र परम्परा दुई देशबीच नयाँ सम्बन्ध स्थापनाका लागि बाधक भए पनि हामीले त्यसलाई पार गरेका कारण यो ठाउँमा आइपुगेको बताएका थिए । किमले अनुवादकमार्फत यस्तो भनाइ राख्दै गर्दा ट्रम्पले पनि सहमति जनाएका थिए ।

मानवअधिकारबारे कुरा उठेन
ट्रम्प र किमबीच सिंगापुरमा भएको शिखर बैठकमा आणविक हतियारलाई पूर्णरूपमा ध्वस्त गर्नेबारे उत्तर कोरियाको ठोस प्रतिक्रिया नआएको रोयटर्सले जनाएको छ । यस्तै सम्झौतापत्रमा उत्तर कोरियामा उल्लंघन भइरहेको मानवअधिकारको विषय ट्रम्प–किम सम्झौतापत्रमा उल्लेख नभएको भन्दै आलोचना भएको छ ।

नेपालद्वारा  स्वागत

काठमाडौं– नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा भएको शिखर वार्ताको स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै ऐतिहासीक शिखर वार्ताको स्वागत गरेको हो । वार्तापछि चार बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको थियो ।

‘अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच आज (मंगलबार) भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त विज्ञप्तीको नेपाल स्वागत गर्दछ,’ परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘शिखर वार्ताले जुन गति लिएको छ त्यसलले निरन्तरता पाउने छ भन्ने विश्वास नेपालले लिएको छ र विज्ञप्तिमा उल्लेख गरिएका प्रतिबद्धता कार्यन्यन भई कोरियाली प्रायद्विपमा शान्ति र स्थीरता कायम हुने आशा हामीले लिएका छौं ।’

शिखर सम्मेलनपछि सिंगापुरबाटै जारी भएको चार बुँदे संयुक्त विज्ञप्तिमा ट्रम्प र किम दुवैले हस्ताक्षर गरेका थिए । वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प किम चलाख नेता भएको टिप्पणी गरेका थिए । संयुक्त विज्ञप्तिमा अमेरिका र उत्तर कोरिया नयाँ सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध रहेको उल्लेख छ ।

यस्तै, दुवै देशले कोरियाली प्रायद्विपमा शान्ति र स्थीरता कायम गर्न प्रयास गर्ने विज्ञप्तिमा जनाइएको छ । उत्तर कोरियाले गत अप्रिल २७ का दिन दक्षिण कोरियासँग भएको ‘पान्मुनजोम’ सम्झौता अनुसार कोरियाली प्रायद्विपमा निशस्त्रीकरणको लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । दुवै नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा युद्धबन्दी तथा हराएकाको खोजी गर्ने र पहिचान भएकालाई तुरुन्त आ–आफ्नो देशमा फिर्ता पठाउने उल्लेख छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।