सोल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनको मंगलबार सिंगापुरमा भएको शिखर वार्ताले संसारभर कभरेज पायो। विश्वभरका सञ्चारकर्मीले सिंगापुर पुगेर तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीमार्फत प्रकाशन तथा प्रशारण गरे। तर, भेटवार्तासँग प्रत्यक्ष जोडिएको उत्तर कोरियामा भने ट्रम्प–किम भेटबारे कुनै खबरहरु प्रशारण भएनन्।
बीबीसीका अनुसार जुन बेला उत्तर कोरियाको संसारभर चर्चा भइरहेको छ, ठिक त्यही समयमा उत्तर कोरियाली समाचार च्यानलमा किम सिंगापुरको भ्रमणमा रहेको मात्र प्रशारण भइरहेको थियो। उनी ट्रम्पलाई भेट्न गएका हुन भने कुरा कही उल्लेख गरिएको छैन्।
उत्तर कोरियाको सरकारी टेलिभिजन च्यानल कोरियन सेन्ट्रल टेलिभिजन –केसीटिभी)ले किम र ट्रम्पको भेटवार्ताको बारेमा केही जानकारी दिएन। बरु समाचारमा किम जोङ उन सिंगापुर भ्रमणमा छन् भनिएको छ।
टेलिभिजनमा समाचार वाचिका महिलाले किमको सिंगापुर भ्रमणको खबर पढेर सुनाइन्। तर यसमा कुनै भिडियो वा तस्बिर भने देखाइएन।
त्यसैगरी उत्तर कोरियाको सत्तारुढ दलको मुखपत्र रोडोंग सिनमुनले किम जोङ उनको सिंगापुर भ्रमणसँग जोडिएका १४ तस्बिर सार्वजनिक गरेको छ। यसमा किम सिंगापुरका अधिकारीसँग भेटिरहेको मात्र उल्लेख छ।
सरकारी रेडियोले समेत्र किम सिंगापुर पुगेर र त्यहाँ विभिन्न उच्च अधिकारीसँग भेट गरिरहेको खबर प्रशारण गरेको छ।
जानकारहरुका अनुसार उत्तर कोरियाका जनता अमेरिकालाई देखिसहँदैनन्। उनीहरु प्रमुख दुश्मन मान्छन्। यसैकारण आफूविरुद्ध जनताको असन्तुष्टि बढ्ने बुझाईका कारण किमले ट्रम्पसँग भेटको खबरहरु प्रशारणमा रोक लगाएको बताइन्छ।
यसअघि रक्षामन्त्री र सैनिक नेतृत्वबाट ट्रम्पसँग भेट्न नहुने सुझाव आएपछि किमले उनीहरुलाई पदबाट बर्खास्त गरी आफ्ना निकटस्थलाई नियुक्त गरेका थिए। आफूविरुद्ध सैनिक विद्रोह हुनसक्ने ठानेर उनले ट्रम्पसँग भेटको पूर्वसन्ध्यामा सेना प्रमुख परिवर्तन गरेका थिए।
प्रकाशित: २९ जेष्ठ २०७५ १३:१६ मंगलबार