६ वैशाख २०८१ बिहीबार
राजनीति

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं  : केसी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका छन्। 

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सभापति देउवालाई पार्टीलाई एक ढिक्का भएर अघि बढाउन आफूले समेत पटक पटक आग्रह गरेको जनाए। उनले भने, ‘सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरुलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रुपमा चलाउनुपर्छ, त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं।’ उनले सभापति देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए। 

नेता केसीले आगामी पाँच वर्षभित्र पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न सक्ने तागत आफूहरुसँग रहेको पनि जिकिर गरे। उनले भने, ‘तर यसको लागि हामीभित्रै सुधारको आवश्यकत्ता छ, हामी सुधारवादी आन्दोलन गर्न गर्छौं, कांग्रेस थाकेको छैन, कसैले भगाएर पनि भाग्दैन।’ इतिहासमा कांग्रेस कहिल्यै नचुकेको पनि उनले बताए। 

केसीले पार्टी सभापति देउवाको कार्यशैली, सामन्तवादी प्रवृत्ति र स्वेच्छचारीको आफू विरोधी रहेको बताउँदै यही तरिकाले पार्टीले पूर्नजीवन नपाउने समेत ठोकुवा गरे। 

उनले आफू सभापतिले तत्काल राजिनामा दिनुपर्छ भन्ने पक्षमा नरहेको पनि सुनाए। बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र आफूबीच पछिल्लो समय भएको सहमति पार्टीलाई एक ढिक्का बनाउनको लागि नै भएकोले सभापति देउवापनि सहमतिमा आउनुपर्ने उनको माग छ। 

कांग्रेस इतिहासकै कालखण्डमा अत्यन्तै चूनौतिपूर्ण अवस्थामा रहेकोले आफूहरुले अहिले संयमित भएर आफ्नो भूमिका निर्वाह गरेको केसीले जनाए । उनले भने,‘हामी बजेट पेश गर्दा सुटकेश फोर्ने प्रतिपक्षी पनि होइनौं, हामी त लोकतान्त्रिक मर्यादा, परम्परा र सुसंस्कृतलाई ख्याल राख्दै आफ्नो भूमिका निर्वाह गर्छौं।’ समृद्ध नेपाल र सुखी नेपाली सबैको एजेण्डा भएकोले वर्तमान सरकारको काम हेर्नुपर्ने उनको भनाई थियो। उनले भने, ‘सरकार अहिले परीक्षाको घडीमा छ।’

नेता केसीले सरकारले हालै ल्याएको बजेट परम्परागत नै भएको जिकिर गरे। उनले भने, ‘उहाँहरुले जनतासामू गरेका आश्वासनहरु पनि छैन, स्वप्निल कल्पना छैन, बजेटमा लक्षित कार्यक्रमहरु केही पनि छैनन, आएका कार्यक्रमहरुपनि छरिएर आएका छन्, बजेटमा पपुष्टि र उडन्ते कुराहरुमात्रै छन्।’ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन ताका वृद्धवृद्धालाई घरमै ५ हजार भक्ता पुर्याउने भनेर गरेको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको उल्लेख गर्दै केसीले भने, ‘ग्रोयबल्स शैलीमा यस्तो झुठको खेती गर्नुहुँदैन।’

उनले सरकारले आगामी २०७६ भित्र कुनैपनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर सरकारले भनेको कुराको विरोध गर्दै भने, ‘कालो धनलाई वैद्यता दिनेमात्रै हो, काला धनहरुसँग कमिशन खाने र उसको लगानी गर्न बैद्यता गर्ने कुरामात्रै हो, यसमा अन्तरंग भ्रष्टाचारको दुर्गन्धहरु आउँछन्, त्यसलाई हामीले केलाउन सकेका छैनौं, हाम्रा पार्टीका अर्थविदहरुले पनि यसबारेमा एक्सपोज गर्नुपर्छ।’ 

वर्तमान सरकारका हरेक मन्त्रीहरुले समेत भ्रष्टाचारको ठूलो स्वरमा विरोध गरेपनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका जुनसुकै राजनीतिक दलका जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर भएपनि कारबाही गरेर देखायो भनेमात्रै वास्तवमा त्यो दिनदेखि यो सरकार भ्रष्टाचार विरोधी हो रैछ भनेर आफूहरुले विश्वास गर्ने केसीले स्पष्ट पारे। 

प्रकाशित: २९ जेष्ठ २०७५ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App