७ वैशाख २०८१ शुक्रबार
अन्य

पोर्टफोलियोको आकर्षण

रमेश बेल्बासे 
पोर्टफोलियो म्यानेजर (ग्लोबल आईएमई क्यापिटल लिमिटेड)

लगानी (पोर्टफोलियो) व्यवस्थापन सेवा के हो ? 

साधारणतः व्यक्ति वा संस्थाले विभिन्न क्षेत्रमा गर्ने लगानीलाई पोर्टफोलियो भनिन्छ । लगानीकर्ताले विभिन्न क्षेत्रका कम्पनीको सेयरमा गर्ने लगानीलाई इक्विटी पोर्टफोलियो भनिन्छ । 

साधारण भाषामा व्यवस्थापकले जिम्मा लिएर व्यक्ति वा संस्थाको लगानी प्रवद्र्धन गरिदिन्छ भने त्यसलाई पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिस भनिन्छ । जसलाई लगानी व्यवस्थापन सेवा पनि भनिन्छ । 

व्यक्ति तथा संस्थाको लगानीलाई व्यवस्थापन गरिदिने कम्पनी पोर्टफोलियो म्यानेज्मेन्ट कम्पनी हो । पोर्टफोलियो म्यानेज्मेन्ट कम्पनीले लगानीकर्ताको रकम लगानी गरिदिन्छ ।  

पोर्टफोलियोलाई पैसाको बास्केट पनि भन्ने गरिन्छ ।  लगानीकर्ताको उद्देश्य तथा जोखिमलाई आधार मानेर व्यवस्थापकले विभिन्न कम्पनीका सेयरमा लगानी गरी पोर्टफोलियोको सिर्जना गर्छ । यसरी पोर्टफोलियोमार्फत् लगानी गर्दा लगानीकर्ताको रकमले राम्रो परिणाम दिन सक्छ । त्यसैगरी लगानी गरेको रकमको जोखिम न्यूनीकरण हुन्छ । 

पोर्टफोलियोको व्यवस्थापकको आवश्यकता

हामी नेपालीसँग आफ्नो आयलाई बचत गर्ने बानी छ । बचत गरेको रकम हामी लगानी गर्न चाहन्छौं भने कतिपय  हामीमा लगानी गर्ने ज्ञानको कमी छ । सेयरमा लगानी गर्न झन्झटिलो ठान्छौँ । लगानी गरे पनि उत्कृष्ट नतिजा प्राप्त गर्न सक्दैनौँ । पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसबाट लगानीकर्ताले फाइदा लिन सक्छन् । पोर्टफोलियो म्यानेज्मेन्ट टिममा विशेषज्ञ हुन्छन्, दक्ष हुन्छन् । कुन क्षेत्रमा लगानी गर्दा लगानी सुरक्षित हुन्छ भन्ने सूक्ष्म रूपमा अध्ययन गरिन्छ ।

विभिन्न क्षेत्रमा लगानी गर्दा जोखिम कम हुन्छ । लगानीको बाँडफाँड हुन्छ । राम्रो मुनाफा पाउन सकिन्छ पार्टफोलियो म्यानेजरले धेरै क्षेत्रमा लगानी गर्ने भएकाले कुनै एउटा क्षेत्रमा घाटा भए पनि अर्को क्षेत्रबाट पूर्ति हुन्छ । 

कानुनी प्रावधान

नेपालमा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेज्मेन्ट) सेवा दिनका लागि धितोपत्र बोर्डबाट इजाजत लिनुपर्ने कानुनी प्रावधान छ । नेपालमा करिब २० वटा पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसका लागि इजाजत लिएका कम्पनी छन् । लगानीलाई व्यवस्थित गर्न धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली,२०६४ जारी गरेको छ भने लगानी व्यवस्थापन निर्देशिका, २०६७ पनि छ । 

पोर्टफोलियो म्यानेज्मेन्ट ब्रोकर कम्पनी हैन । लाइसेन्स प्राप्त सेवा प्रदायक संस्था हो । निश्चित मापदण्ड पूरा गरेपछि पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसको स्थापना गर्न पाइन्छ । 

पोर्टफोलियोमा लगानी गर्ने तरिका तथा प्रक्रिया

लगानीको जिम्मा व्यवस्थापनले लिएको हुन्छ । पोर्टफोलियोमा लगानी गर्न सबैभन्दा पहिले ग्राहक र व्यवस्थापकबीच सम्झौता हुन्छ । लगानीकर्ताले कति रकम लगानी गर्न सक्छ ? कति समयका लागि लगानी गर्न सक्छ ? लगानी कर्ताले लगानी गरेबापत कति आम्दानी चाहेको छ जस्ता विषयमा व्यवस्थापकले अध्ययन गर्छन् । छलफल गरेपछि सम्झौता हुन्छ । व्यवस्थापक र लगानीकर्ताबीच हुने सो सम्झौतालाई ‘पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिस एग्रिमेन्ट’ भनिन्छ । 

स्वेच्छिक लगानी व्यवस्थापनलाई ‘डिस्क्रिस्नरी म्यानेज्मेन्ट सर्भिसेस’ पनि भनिन्छ । प्रक्रियाअनुरुप लगानीकर्ताकै नाममा खाता खोलिन्छ । खाताको सञ्चालनको सम्पूर्ण जिम्मेवारी पोर्टफोलियो म्यानेजरलाई दिइएको हुन्छ । लगानीकर्ताको खातामा भएको रकम कहाँ र कसरी लगानी गर्ने भन्ने जिम्मा पोर्टफोलियो म्यानेजरले लिएको हुन्छ । यो व्यवस्थामा लगानी गर्दा लगानीकर्तालाई सोधिरहनु पर्दैन । 

गैर—स्वेच्छिक लगानी व्यवस्थापन (नन् डिस्क्रिस्नरी सर्भिसेस)मा पनि लगानीकर्ताकै नाममा खाता हुन्छ । नन् डिस्क्रिस्नरीमा  कुन ठाउँ तथा कस्ता कम्पनीमा लगानी गर्ने, नगर्ने लगायतका बारेमा लगानीकर्तालाई सोधिन्छ । लगानीकर्ताले लगानी गर्ने अनुमति दिएको खण्डमा लगानी गरिन्छ । लगानीकर्ताले असहमति जनाएको खण्डमा त्यस्ता कम्पनीमा लगानी गरिँदैन । 

पोर्टफोलियो म्यानेज्मेन्टमा खरिद तथा बिक्री परामर्श सेवा पनि हुन्छ । यसमा लगानीकर्ताको आफ्नै नाममा खाता हुन्छ । खाताको अधिकार पनि पोर्टफोलियो म्यानेज्मेन्टले पाएको हुँदैन । सम्पूर्ण कारोबार लगानीकर्ताले नै गर्छ । कुन ठाउँमा लगानी गर्ने, कहाँ लगानी गर्ने, कति फाइदा हुन्छ लगायतका सल्लाह पोर्टफोलियो मेनेजरले दिन्छ । सो सेवा दिएवापत केही शुल्क म्यानेज्मेन्टले लिन्छ । 

पोर्टफोलियो म्यानेज्मेन्टमा छुट्टै ‘एड्मिनिस्ट्रेटिभ सर्भिसेज’ पनि हुन्छ । यसमा बढी डकुमेन्टेसनको काम हुन्छ । सेयर, बोनस, हकप्रद सेयर, डिभिडेन्ट, लिइदिने, सेयर भरिदिने लगायतका काम गरिदिन्छ । सो बापत म्यानेज्मेन्टले केही शुल्क लिन्छ ।  

लगानीको क्षेत्र

नेपाल धितोपत्र बोर्डले निर्धारण गरे अनुसारका क्षेत्रमा पोर्टफोलियो म्यानेजरले लगानी गर्छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत कम्पनीमा लगानी गर्नुपर्छ । नेप्सेमा सेयरको कारोबार गर्ने कम्पनीमा लगानी गरिन्छ । बैंकिङ क्षेत्र, फाइनान्स कम्पनी, हाइड्रोपावर, होटल लगायतका क्षेत्रमा पोर्टफोलियो म्यानेजरले लगानी गर्छ । 
लगानी गर्दा दोस्रो बजारलाई प्राथमिकता दिइन्छ । दोस्रो बजारमा दैनिक रुपमा सेयरको कारोबार भैरहने भएकाले दोस्रो बजारमा बढी लगानी गरिन्छ । 

प्राइमरी मार्केटमा पनि कारोबार गरिन्छ । लगानी गरिन्छ । विशेषज्ञ टोलीले अध्ययन गरेर मात्रै लगानीको क्षेत्र निर्धारण गरेको हुन्छ । 

सेवा शुल्क तथा कमिसन

सेवा दिएबापत पोर्टफोलियो म्यानेज्मेन्टले वार्षिक व्यवस्थापन शुल्क भनेर लगानीकर्ताबाट शुल्क लिइन्छ । सामान्यतः एकदेखि दुई प्रतिशतसम्म सेवा शुल्क लिइन्छ । सम्झौताअनुसार नै सेवा शुल्क लिइन्छ । पोर्टफोलियो एक वर्ष घाटामा गयो भने पनि अर्को वर्ष फाइदामा जान सक्छ । व्यवस्थापाकले लगानीकर्तालाई अधिकतम फाइदा दिने प्रयास गर्छ । 

धितोपत्र भनेको के हो ?

धितोपत्र भनेको कसैलाई पैसा दिएको थियो वा कसैबाट पैसा लिएको थियो भनी प्रमाण स्वरुप लिने—दिने कागजपत्र हो । (धितो पत्र किनबेच गर्न सकिने र नसकिने हुन्छन् । कुनै कम्पनीले पुँजी संकलन गर्दा लगानीकर्तालाई दिने पत्र किनबेच गर्न सकिने धितोपत्र हो । 

घाटाको सम्भावना अत्यन्तै न्यून

लगानीकर्ताले कारोबारको जिम्मा म्यानेज्मेन्टलाई दिएकाको हुन्छ । पोर्टफोलियो म्यानेज्मेन्टले लगानीकर्ताबाट संकलन भएको रकम विभिन्न कम्पनीमा लगानी गर्छ । लगानी गरेको रकमबाट आएको मुनाफा पाउँछ । र, अग्रिम सम्झौता बमोजिम निश्चित लाभांशभन्दा माथि आम्दानी भएमा व्यवस्थापनले फाइदाबाट आफ्नो भाग लिन्छ । 
व्यक्तिगत रुपमा कसैले सेयर किन्यो भने आफूले लगानी गरेको क्षेत्र फाइदामा गयो भने लगानीकर्ताले पनि लाभ लिन सक्छ । लगानी गरेको कम्पनी घाटामा गयो भने घाटाको भागेदारी पनि लगानीकर्ता नै हुनुपर्छ । 

पोर्टफोलियोमा भने एउटा लगानीको क्षेत्र घाटामा जाँदैमा सबै क्षेत्र घाटामा जान्छ भन्ने हुँदैन । मानौँ, लगानीकर्ताले पोर्टफोलियो म्यानेज्मेन्टलाई तीनलाख रुपैयाँ लगानी गर्न दिएको छ भने म्यानेज्मेन्टले त्यो रकम एकैठाउँमा लगानी गर्दैन । विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ । विभिन्न कम्पनीको सेयरमा लगानी गरिन्छ । रकमलाई विविधीकरण गरिन्छ । त्यसैले लगानीकर्ता घाटामा जाने सम्भावना अत्यन्तै न्यून हुन्छ । 

केहीकथं लगानी गरेको कम्पनी घाटामा गइहाल्यो भने पोर्टफोलियोमा पनि घाटाको भागिदार लगानीकर्ता नै हुनुपर्छ । फाइदा भए नाफाको भागेदार पनि लगानीकर्ता नै हुन्छ । 

कुन ठाउँमा लगानी गर्दा घाटा हुँदैन भनेर विज्ञको टोलीले निर्धारण गरेपछि मात्रै लगानी गरिन्छ । भविष्यमा आफूले लगानी गरेको क्षेत्र घाटामा जाने संकेत देखियो भने त्यस्तो सेयर बिक्री गरिन्छ । 

पोर्टफोलियो म्यानेजरले आफ्नो विशेषज्ञ टिमसँग सहकार्य गरी काम गर्छ । त्यो टिमको काम नै बजार विश्लेषण गर्ने हो । यसले सूक्ष्म रुपमा कम्पनीको अध्ययन गर्छ । 

मुनाफा

पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसअन्तर्गत लगनीकर्ताले पाउने बोनस, डिभिडेन्ट लगायत लगानीकर्ताकै पोर्टफोलियोमा जम्मा गरिन्छ । यसरी पाएको लाभांशले गर्दा लगानीकर्ताको बास्केट बढ्न जान्छ । लगानीकर्तालाई फाइदै हुन्छ । 
पोर्टफोलियो म्यानेज्मेन्टमा ग्लोबल आइएमई क्यापिटलले गरेअनुसार लगानीकर्ताले बर्षमा एक पटक मात्रै नाफा लिन पाइने व्यवस्था छ । लगानीकर्ताले केही सानो शुल्क तिरी आफ्नो लाभांश पुनः लिन सक्छ । साँवा निकाल्न पाइँदैन । लगानीकर्ताले कमाएको रकम अर्थात् फाइदा मात्रै निकाल्न पाइन्छ । तीन लाख मात्रै लगानी छ भने सम्झौता अवधि भन्दा अगाडि त्यो रकम झिक्न पाइँदैन । लगानी गरेको कम्पनीले फाइदा कमाएकोे छैन भने लगानीकर्ताले पनि मुनाफा पाउँदैन । तीन वर्षका लागि लगानी गर्ने सम्झौता लगानीकर्ताले गरेको छ भने तीन वर्षसम्म साँवा रकम झिक्न  पाइँदैन । 

सामान्यतः नेपालमा  तीन वर्षको पोर्टफोलियो म्यानेज्मेन्ट सम्झौता हुन्छ । 

न्यूनतम लगानी तीन लाख 

पोर्टफोलियो भनेको व्यक्तिले पनि विविध कम्पनीको सेयर किन्छ भने त्यो पनि पोर्टफोलियो मानिन्छ । व्यक्तिको पोर्टफोलियोमा त जति पैसा राखे पनि हुन्छ । हामी यहाँ  पोर्टफोलियो व्यवस्थापकको कुरा गर्दै छौँ ।  
सामान्यतः नेपालमा पोर्टफोलियोमा न्यूततम तीन लाख लगानी गर्नुपर्छ । दस हजारबाट लगानी गरेर पनि पोर्टफोलियोमा लगानी गरेको पाइन्छ । सुरुमा दस हजार रुपैयाँ लगानी गरे पनि किस्ता तिर्दै तीन लाख पु¥याउनु पर्ने हुन्छ । निश्चित समयावधिमा तीन लाख पु-याउनु पर्छ । 

तीन लाखभन्दा कम लगानी गर्ने पूँजी भएका परिवारले पोर्टफोलियो म्यानेज्मेन्टमा लगानी गर्न कठिन हुन्छ । नेपालमा कम आय भएका परिवारका लागि पनि पोर्टफोलियो म्यानेज्मेन्टमा कसरी लगानी गर्ने वातावरण बनाउने भन्ने बहस चल्न थालेको छ । 

व्यक्तिगतभन्दा पोर्टफोलियोमा सुरक्षित 

सेयरकै नियम पोर्टफोलियामा पनि लागू हुन्छ । सामान्यतः पोर्टफोलियोमा पनि सेयरमा जस्तै प्राइमरी सेयरको प्रतिकित्ता मूल्य एक सय पर्छ । 

किनबेचको मूल्यमा सर्वसाधारणले किन्ने र पोर्टफोलियो म्यानेज्मेन्टले किन्ने सेयरको मूल्यमा फरक हुँदैन । यत्ति फरक हो कि सर्वसाधरण सबै व्यक्तिलाई कुन ठाउँमा लागानी गर्दा घाटा तथा नाफा हुन्छ भन्ने थाहा हुँदैन । पोर्टफोलियो म्यानेज्मेन्टले भने बजारको अध्ययय गरेर मात्रै लगानी गर्ने भएकाले जोखिम कम हुन्छ । पोर्टफोलियो म्यानेज्मेन्टले धेरै लगानीकर्ताबाट थोरै—थोरै रकम जम्मा गरेर धेरै रकम बनाउँछ  । विविध क्षेत्रमा लगानी गर्छ । व्यक्तिसँग त थोरै रकम हुन्छ । त्यो रकम एकै ठाउँमा लगानी गर्दा डुब्यो भने  सबै रकम डुब्छ । 

पारदर्शिता तथा लगानीका बोरमा थाहा पाउने तरिका

लगानीकर्ताले आफूले लगानी गरेको रकम के भइरहेको छ भन्ने बारेमा थाहा पाउने व्यवस्था मिलाइएको हुन्छ । पारदर्शिता पनि हुन्छ । लगानीकर्ताले आफ्नो रकम कहाँ लगानी भएको छ ? कुन—कुन क्षेत्रमा लगानी भएको छ ? नाफा वा घाटामा छ भन्ने पनि थााहा हुन्छ । पारदर्शिताका लागि आधुनिक प्रविधले समेत सहयोग गरेको छ । मोबाइल एप्सबाट समेत आफ्नो लगानी भएको रकमका बारेमा थाहा पाउन सकिन्छ । आधुनिक युगमा लगानीकर्तालाई पोर्टफोलियो म्यानेज्मेन्टले छक्याउन सक्दैन । 

विभिन्न सञ्चार माध्यम तथा पत्रपत्रिकाबाट पनि पोर्टफोलियो म्यानेजमेन्टका बारेमा थाहा पाउन सकिन्छ ।
 
धेरै आम्दानी भएकाले पैसाको विविधीकरण  

धेरै पैसा भएका परिवारले पैसालाई विविधीकरण गर्न सकिन्छ । अहिलो पैसा लगानी गर्नु भनेको बुढेसकालको पेन्सन पनि हो । पोर्टफोलियोमा लगानी गर्दा सामान्यतः फाइदा नै हुन्छ । धेरै आय भएका परिवारले बैंक डिपोजिट, सुनचाँदी, घर—जग्गा, विभिन्न उद्योग व्यापारमा पनि लगानी गरेर पैसालाई डाइभर्सिफिकेसन गरेर लगानी गर्नु राम्रो हो ।

विद्यार्थीको वचत गर्ने बानी बस्छ 

अभिभावक संरक्षक भएर बाल बच्चाले पनि पोर्टफोलियोमा लगानी गर्न सकिन्छ । पोर्टफोलियोको लगानीले उच्चशिक्षामा सहयोग पु-याउँछ । विद्यार्थीलाई प्रयोगात्मक शिक्षाका लागि समेत उपयोगी हुने भएकाले पोर्टफोलियो मेनेज्मेन्ट सर्भिस लाभदायी छ । विद्यार्थीदेखि नै लगानी गर्ने वातावरणको बानी बस्यो भने भविष्यमा त्यस्ता विद्यार्थीको वचत गर्ने बानी बस्छ। 

उज्ज्वल भविष्य

घरमै बसेर कारोबार गर्ने सक्नेसम्मको प्रविधि आउनथालेका छन् । मानिसहरु जागरुक हुन थालेका छन् । मानिसहरुको सेयर मार्केटमा आकर्षण बढ्दो छ । लगानी पनि सुरक्षित हुने देखिन्छ । विज्ञ व्यक्तिहरु पोर्टफोलियो म्यानेज्मेनटमा आइरहेका छन् । त्यसैले पनि पोर्टफोलियोको भविष्य राम्रो छ । 

पोर्टफोलियोलाई पनि राजनितिक व्यवस्था, राष्ट्रको अर्थव्यवस्था, प्रविधि लगायतका तŒवले असर गर्छ । मानिसको क्रय शक्ति घट्यो भने पनि पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसलाई असर गर्छ । कारोबारको सुविधा, भौगोलिक अवस्था तथा यातायातले पनि असर गर्छ । नेपालमा भने क्रमशः सबै पक्षको सुधार हुँदै गएकाले पोर्टफोलियोको उज्ज्वल भविष्य देखिन्छ ।  

थोरै समय भएकाले पनि यसमा लगानी गर्न सकिन्छ । लगानी गर्नका लागि समय चाहिँदैन । समय नभएकालाई त झन् पार्टफोलियो म्यानेज्मेन्ट सेवा लगानी गर्ने उपयुक्त सेवा हो । धितोपत्र तथा लगानी सम्बन्धी राम्रो ज्ञान नभएकालाई पनि पोर्टफोलियो म्यानेजम्यान्ट सर्भिस उपयुक्त छ । 

पोर्टफोलियो म्यानेज्मेन्ट सेवाको काम तथा कर्तव्य

पोर्टफोलियो म्यानेजम्यान्ट सेवाको काम ग्राहकको लगानी व्यवस्थापन गर्नु हो । ग्राहकसँग सम्झौता भएबमोजिम खरिद —बिक्री परमर्श सेवा दिनुका साथै ग्राहकको बोनस लाभांशको व्यवस्थासमेत यसले गरिदिन्छ । ग्राहकलाई नसोधी जथाभावी लगानी गर्नसमेत हुँदैन । ग्राहकबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अनावश्यक फाइदा लिनु हुँदैन ।  

(बेल्बासेले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: २९ जेष्ठ २०७५ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App