coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अछाममा छाउपडी प्रथाको कहालीलाग्दो अवस्था,छाउगोठमै महिलाहरु ज्यान गुमाउँदै

छाउपडी गोठमा बसीरहेकी महिला।तस्विर : खम्म खत्री/नागरिक

अछाम-अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढा र उनकी साथी राधिका बुढा छाउगोठमा सुतिरहेका थिए। जेठ २६ गते शनिवार रातको साढे एक वजेको थियो १८ वर्षीया पार्वतीको शरिरमा सुतिरहेको गोठको छानावाट सर्प खस्यो। उनि चिच्याईन्। संगै सुतेकी राधिकाले उज्यालो वालेर हेर्दा उनको दायाँ हातको औलामा सर्पले टोकेको थियो। राधिकाले भनिन्, ‘मैले सर्पले टोकेको ठाउँमा पानीले पखाली दिए, अनि हामी सुत्यौ विहान उनि बेहास थिईन् वोलाउँदा टाउको मात्र हल्लाईरहेकी थिईन्।’ राधीकाले अगाडी भनिन् ‘मैले सोचे पानीले पखाले पछी सर्पको विष पखालीहाल्छ।’ परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर भयो गाउँलेहरु जम्मा भईसक्दा सम्म उनको ज्यान गईसकेको थियो।

पार्वती र राधिका दुवै जना महिनावारी भएका थिए। राधिकालाई त्यो दिन पाँच दिन भएको थियो भने मृतक पार्वतीलाई चार दिन भएको उनले वताईन्। राधीकाकी दिदी प्रेमकला बुढाका अनुसार हिउँदयाममा केहि परिवार बेसीतिर गाईबस्तुसहित छानामा बस्ने गर्दछन्। जेठको महिनामा मकै छर्ने र असारमा धान रोपिसकेपछी बेसीवाट माथी गाउँमा आउने गर्छन्। बेसीतिर वस्दा नजिकै महिनावारी भएको बेला सुत्ने गोठ पनि निर्माण गरिएको हुन्छ। मृतक पार्वती विश्वज्योती माविमा कक्षा १० मा अध्ययनरत थिइन।

तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने ‘खवर त मलाई आईतवार विहानै भएको थियो। गाउँका दाजुभाईले सर्पले टोकेर मरी के गर्ने होला भने? मैले गाडदेउ भने। प्रहरीलाई खवरै नगरी विना पोष्टमार्टम शवलाई गाडिएको उनले वताए। मृतककी दिदी प्रेमकला बुढाले भनिन् ‘यस्तो कुरा सबैलाई जानकारी गराउनु हुन्न भनेर गाउलेहरुले हतारमा कसैलाई पनि जानकारी नगराईकन लास गाडेका हुन्।’सोमवार गाउँलेहरुले उक्त छाउगोठ आगो लगाएर जलाएका छन्। जिल्ला प्रहरी कार्यालय अछामको टोली भने मंगलवार मात्रै घटना स्थलमा पुगेको स्थानीय शिवराज न्यौपानेले वताए । प्रहरीले मंगलवार घटनास्थलमा पुगेर जाँचवुझ गरेको छ। गोठ भत्काईएको ठाउँ तथा वरपरको वस्तुस्थीतीको फोटो र मुचुल्का तयार गरी प्रहरी घटना स्थलवाट फर्केको उनले जानकारी दिए।

गत पुसमा मात्र सोहि गाउँपालिका वडा नं ३ भैरवस्थानको लकान्द्रा की २२ वर्षीय गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा ज्यान गएको थियो। यस्तै गाज्राकी १५ वर्षीया रोशनी तिरुवाको गत वर्ष गोठमै ज्यान गएको थियो। देबिदेउता रिसाउने डरले महिला आफै घरमा नबसेर गोठमा बस्ने गरेको कतिपय महिलाहरुको भनाई छ। गत मंसिर महिनामा तिमिल्सेनकी २६ वर्षीया डम्बरा उपाध्यायले समेत गोठमै ज्यान गुमाउनु पर्याे। राती खाना खाएर छाउपडी गोठमा सुतेकी २६ वर्षकी डम्बरा उपाध्याय विहान मृत अस्थामा भेटिइन। घर नजिकै बनाईएको छाउगोठमा महिनावारी भएको चौथोदिनको राती उनी एक्लै सुतेकी थिइन्। दिनभर घरायसी काममा व्यस्त रहेकी उनी राति खाना खाएर सुतेकी थिइन्। बिहान अबेरसम्म नउठेपछि ढोका फोरेर हेर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

अछाममा पछिल्लो करिव एक दशकमा पार्वती लगायत १३ महिला तथा किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन्। पछिल्लो समय चार वर्षअघि अछामको रिडिकोट गाविस वडा नम्बर ४ की १५ बर्षीय शर्मिला भुलको छाउपडी गोठमै भएका बेला मृत्यु भएको थियो। त्यसअघी जिल्लाको ढकारी, बारला, पायल, हत्तिकोट लगायतका ठाउँमा महिलाले गोठमै ज्यान गुमाएका थिए। शर्मिला भुलको ज्यान गएपछि अछाममा छाउपडि गोठ भत्काउने अभियान सुरु भएको हो। जिल्लामा गोठमुक्त अभियान चलिरहे पनी महिलाले गोठमा ज्यान गुमाउने क्रम रोएिको छैन।

छाउपडी बार्ने प्रथालाई कुप्रथा घोषित गरी सरकारले यसलाई फौजदारी अपराधसमेत मानेर यस बिरुद्ध कानुन निर्माण गरीसकेपछि अछामका केहि स्थानीयहरु छाउपडी गोठ बिरुद्ध उत्रिएका छन् भने केहीको भने पुरातन सोचमा परिवर्तन आउन सकेको छैन्। सरकारले छाउपडी कुप्रथा बिरुद्ध कानुन निर्माण गरी आगामी भदौ ५ गते पछी छाउपडी गोठमा राख्नेलाई जेल सजाय सम्मको व्यवस्था गर्ने बताएपछि भने केहि डराएका छन्। अछामका केही स्थानीय तहले छाउपडी कुप्रथा अन्त्य गर्नका लागि गोठमा बस्नेलाई सेवासुबिधाबाट समेत बञ्चित गर्ने सम्मको निर्णय गरेका छन्। तर कार्यान्वनको अवस्था भने अत्यन्तै फितलो रहेको छ।

अछाममा छाउगोठमा मृत्यु भएका किशोरी तथा महिलाहरुको विवरण
१.पार्वती बुढा—तुर्माखाद—२०७५ जेठ २६
२.गौरी बुढा—तुर्माखाद—२०७४ पुष २४
३.रोशनी तिरुवा—गाज्रा—२०७३ असार     
४.डम्मरा उपाध्याय—तिमिल्सेन ७—२०७३ मसिर ४
५.शर्मिला भुल—रिडिकोट ३—२०६९ पुष ४
६.लक्ष्मी बुढा—ढकारी ४—२०६८ माघ १९
७.झुमादेबि शाही—बारल १—२०६८ माघ १
८.डिक्रादेबि ढकाल—बिरपथ—२०६७
९.रतन देबि बिक—पायल ५—२०६३ माघ
१०.झुप्री ढोली—पायल २—२०६७ फागुन
११.पार्बती दमाई—पायल
१२.हंसा जैसी—नाडा
१३.हंस देबि जोशी—रानीबन

प्रकाशित: २९ जेष्ठ २०७५ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App