जीवन यात्रा

एक विदेशीको नेपाली बन्ने संघर्ष

मङ्गलबार, २९ जेठ २०७५, १६ : ०९ मनोज घर्तीमगर

उनी अविवाहित हुन् । तर, उनका एक छोरा, एक बुहारी, दुई नाति र तीन नातिनी छन् । विवाह नगरी कसरी भए सन्तान, दर सन्तान ? घर परिवारको कुरा गर्दा रगतको नातासम्बन्ध आइहाल्छ । बेलायती सेनाका सेवाविवृत्त लेफ्टिनेन्ट जेपी (जोन फिलिप) क्रस को मामलामा रगतको नाता सम्बन्धले काम गर्दैन । बेलायती भूमिमा जन्मेका उनको रगतको नाता नभए पनि उनका सन्तान दर सन्तान छन् । 

यो कथा सुरु हुन्छ । सन् तीसको दशकबाट । जतिबेला पश्चिमका मगर र गुरुङ गाउँ त छोड्दैछोड्दैनथे । अरू गाउँमा पनि छ्याप्छ्याप्ती भूपू गाउँगाउँ छिर्थे गोर्खा सैनिकहरु गल्लावाल भएर । उनीहरु युवालाई भर्ती लैजान फकाउँथे । यो बेला मलाया लाहुरे चल्तीमा थियो । बेलायतले मलाया हालको मलेसियामा राज गरिरहेको थियो । भर्ती भएपछि तालिम गर्न उतै जाने भएकाले तिनलाई मलाया लाहुरे नामले पुकारिन्थ्यो ।

गल्लावालको चर्को चहलपहल हुँदा लमजुङ अछुतो रहने कुरै भएन । अन्य गाउँमा झै लमजुङको दुराडाँडा ठुलस्वारामा बेला–बेला गल्लावाल गइरहन्थे । तिनले युवालाई फकाउँदै भर्ती लैजाँदै गर्थे । गल्लावालको राज बढ्दै गएपछि यहाँका केही युवा ‘मलाया लाहुरे’ भए । 

विसं. २०३२ सालमा लमजुङ दुराडाँडा ठुलस्वाराका टंकबहादुर दुराको जेठो छोरो बुद्धिमान दुरालाई पनि गल्लावाल धर्मसिंह गुरुङले भर्ती लाग्न उक्साए । गाउँघरको दुःखभन्दा लाहुरे भएपछि धेरै सुख पाइनेजस्ता थुप्रै लोभ, लालसा देखाएर गल्लावालले बुद्धिमानको मस्तिष्कमा लाहुरे बन्नैपर्ने भुतसवार गराइदिए । उनी भर्ती लाग्न तयार भए । 

२०३२ साल असोज महिना थियो । बुद्धिमानसँगै भर्ती लाग्न पक्लिहवा जान करापुटार रामबजारमा बास बस्दा २१ जना तन्नेरी जम्मा भएका थिए । गल्लावाल धर्मसिंहसँगै हिँडेर दोस्रो दिन उनीहरु पोखरा पुगे । तेस्रो दिन बस चढेर पक्लिहवा पुगे । जहाँ पूर्व–पश्चिमका हजारौं युवा भर्ती लाग्न आएका थिए । चौथो दिनमा गल्लावाल धर्मसिङका २१ युवाले छाति तन्काए । १७ जना मलाया लाहुरेमा भर्ती भए । बुद्धिमान दुरासहित चारजना भर्ती लागेनन् । बुद्धिमानको उचाइले साथ दिएन । १८ वर्षको भए पनि पाँच फिट दुई इन्चका थिएनन् उनी । 

तत्कालीन समयमा दुरालाई भर्ती खासै लिन्थेन बेलायतले । बुद्धिमानले बुद्धि लगाएर गुरुङ लेखाए । त्यसपछि अहिलेसम्म उनी पोखरामा बुद्धिमान दुरा तमु ‘धम्पु’ का नामले परिचित छन् । भर्ती नलागेपछि उनी खुब दुखित भए । ‘भर्ती नभएपछि यति दुःख लाग्यो भनी साध्यै छैन, बेस्सरी रोएँ’ बुद्धिमान सम्झन्छन्, ‘त्यसपछि पक्लिहवामै हवल्दारको मेसमा भाँडा धुने काम गरेँ । गाउँमा पढ्न नपाएको त्यहाँ बसेर पढेँ ।’

बुद्धिमानले काम गर्दै पढ्दै गरेको ज्ञानले मेस बारमा काम गर्न पाए । क्याम्पभित्र गरिने विभिन्न क्रियाकलापबारे जानकारी राख्दै गए । एक वर्षपछि २०३३ सालमा लेफ्टिनेन्ट कर्णेल जेपी क्रस भर्ती डिपोको प्रमुख भएर आए । त्यसपछि बुद्धिमानले अफिसर मेसमा काम गर्ने मौका पाए । दत्तचित्त भएर काम गर्ने बुद्धिमानलाई जेपी क्रसले खुबै मायाँ गर्थे । दिन बित्दै गए । 

क्याम्पमा बसेको दुई वर्षपछि जेपीको आँखामा एक्कासी समस्या देखियो । ‘बाबा अन्धोजस्तै हुनुभयो’ बुद्धिमानले त्यो दिन सम्झना गरे, ‘त्यसपछि बाबालाई स्याहारसुसार गर्ने जिम्मा मैले पाएँ ।’ जेपीले हङकङ पुगेर आँखा उपचार गराए । ‘मोतीबिन्दु भएको रहेछ’ बुद्धिमान भन्छन्, ‘हङकङमा तीन महिना लगाएर उपचार गराएपछि ठीक भयो ।’ उपचारबाट फर्केपछि जेपीले बुद्धिमानलाई खोजे । 

सँगै बस्दा बोलचाल गर्न सजिलोका लागि दुवैले साइनो खोज्नुपर्ने भो ।  
‘तिमीलाई मैले के भनेर बोलाउने’ एक दिन जेपी क्रसले बुद्धिमानलाई सोेधे । 
‘बाबा आमा छैन, म त टुहुरो मान्छे हजुर’ बुद्धिमानले जवाफ फर्काए । 
‘त्यसो भए म छोरो बनाउँछु, मान्छौं’ जेपीले सोधेपछि बुद्धिमानका आँखा खुसीले रसाए । अनि सुरु भयो, बुद्धिमान र  जेपीको पारिवारिक सम्बन्ध । 

जेपीलाई बाबुछोराको सम्बन्धलाई वैधानिकता दिन मन लाग्यो । दुवैजना बुद्धिमानको गाउँ लमजुङको ठुलास्वारा पुगे । धर्मछोरो बनाउन के गर्नुपर्छ भन्ने कुराकानी गरे । वकिल राखेर काम गर्ने योजना बनाइरहेका बेला १० वर्षभन्दा बढी उमेरकालाई धर्मछोरो बनाउन नमिल्ने नेपाली कानुन छ भन्ने थाहा पाएपछि दुवै पोखरा फर्किए । नेपाली कानुनले उनीहरूलाई बाबुछोराको नाता गाँस्न दिएन । तर, उनीहरूको नाता कहिल्यै नटुट्ने गरी गाँसियो । ‘धम्पु मेरो छोरो नभएको भए म उहिल्यै मरिसक्थेँ होला, यसले मेरो खुब सेवा गर्छ ।’ जेपीले हाँस्दै भने ।

अब पढौं जेपी क्रसको कथा । 

विसं १९८२ असार ८ गते बेलायतमा जन्मिएका जेपी दोस्रो विश्वयुद्ध उत्कर्षमा पुगेका बेला सैनिक सेवामा छिरे । यतिबेला १७ वर्ष ६ महिना पुग्ने बित्तिकै सेना हुनैपथ्र्योे । किन कि यतिबेला बेलायत र जर्मनको युद्ध चलिरहेको थियो । सन् १९९९ चैत २० (१९४३ अप्रिल २ ) मा भर्ती भएका जेपी आधारभूत तालिम सकेको एक वर्षपछि एक महिनासम्म पानीजहाज चढेर भारतको देहरादुन आए । जहाँ इष्ट इन्डिया कम्पनी सरकार चलाइरहेको बेलायतले तालिम केन्द्र सञ्चालन गरेको थियो । त्यहीँ उनले गोर्खा सैनिकसँग घुलमिल हुने मौका पाए । उनले त्यहीँ नेपाली भाषा सिके । गोर्खालीसँग गहिरो सम्बन्ध गाँसे । देहरादुनबाट सुरु भएको गोर्खालीको संगत उनी पल्टमा रहुञ्जेलसम्म भयो । जेपी र गोर्खा सैनिक एक सिक्का दुई पाटाजस्तै भए । फस्ट÷फस्ट (१÷१) गोर्खा राइफल्समा खटाइएका जेपी दुई साता तालिम सक्दानसक्दै बर्माको रंगुन जानुपर्ने भयो । जहाँ जापानीज र बेलायती सेनाको घमासान युद्ध चलिरहेको थियो ।

बर्मामा जापानसँगको युद्ध अन्तिम चरणमा पुगेको बेला उनी रंगुन हिँडे । उनको भाग्यले साथ दियो भनौं । त्यति ठूलो लडाइँमा उनीलगायत उनको युनिट सुरक्षित रह्यो । गोर्खा सैनिकको बहादुर सुनेका उनले प्रत्यक्ष यही पुगेर देखे । दोस्रो विश्वयुद्ध समाप्त भएपछि जेपी हालको भियतनाम तत्कालीन चीन पुगे । त्यहाँ केही समय बिताएपछि देहरादुन सेन्टरमै फर्किए । केही समयपछि उनी नागपुर पुगे । लामो समययता बस्न पाएनन्, उनी जम्मु कश्मिरतिर खटाइए । ‘राति भारतमा सुतेको बिहान ब्यूँझदा पाकिस्तानमा रहेछौं’ भारतबाट पाकिस्तान छुट्टिएपछिको घटनालाई ठट्यौली पारामा जेपीले भने । 

रंगुनबाट देहरादुन फर्किँदा उनी सेकेन्ड लेफ्टिनेन्ट भइसकेका थिए । भारत स्वतन्त्र भएपछि उनको पल्टन बर्मा हुँदै मलाया पठाइयो । मलाया–ब्रोनियो क्षेत्रमा २० वर्ष बिताएका उनको संगतमा त्यहाँ पनि गोर्खाली थिए । ‘गोर्खालीहरूसँगै थुप्रै युद्धमा सहभागी भएँ । भाग्यले साथ दियो भनौ वा के भन्ने,’ उनले भने, ‘जिन्दगी धेरै असुरक्षित थियो । तर मसँग हुँदा एकजना सैनिकको पनि ज्यान गएन । घाइते पनि भएनन् ।’ 

पछि उनी थाइल्यान्ड परे । त्यहाँका डाँकुहरु चीन छिर्थे । तिनलाई रोक्ने काममा जेपीको युनिट संलग्न थियो । २ सय २ दिनसम्म यही उनको टोली अप्रेसनमा खटियो । ‘एक किलो खाना ६ दिनसम्म खानुपर्ने ७० दिनसम्म त्यसरी खटियो’ जेपीले पुराना दिन सम्झिए, ‘९  जना गोर्खालीसँग म खुब हिँडेपछि ८० दिन थपियो ।’ उनको बढुवा भएर मेजर भइसकेका थिए । यही मौकामा उनलाई बोर्नियो खटाइयो । जहाँ सुल्तानको विरोधमा स्थानीय नागरिकले विद्रोह गरेका थिए ।  एक साँझ करिब २० जना विद्रोहीले जेपीलाई घेरा हाले । 

रेडियो कब्जा लिएर उनीहरुले भने, ‘विइ आर गोइङ टु किल मिस्टर जेपी क्रस...’ 

‘विद्रोहीको नाइके इभानले आफ्नो हातमा कोरेका धर्काहरू गन्न लगायो । ती १८ वटा थिए । त्यसको अर्थ उसले १८ जनाको टाउको छिनाइसकेको जानकारी दिनु थियो । उसले तरबार झिक्यो,’ जेपीले त्यो कहालीलाग्दो घटनाबारे निधार खुम्च्याउँदै बेलिविस्तार लगाए, ‘मलाई माथि हेर्न भन्यो । मैले हेरेँ । साँच्चै १८ वटा टाउको झुन्ड्याएको रहेछ । तेरो १९ किन नपार्ने भन्यो ।’ जेपीलाई मले भाषा फरर आउँथ्यो । उनले उत्तर दिए, ‘छिनाएकै राम्रो । तर तिमी गल्यौ, भोलि बिहान गरे कसो होला ?’ उसले एकछिन सोचेछ र बिस्तारै तरबार भुइँमा झारेछ । बाँचियो भन्ने लागेको थियो । तत्काल अर्को विद्रोहीले ताकेर गोली हान्यो । दाहिने कानको छेऊ हुँदै गयो गोली । त्यही आवाजले अहिले पनि उनले दाहिने कान राम्ररी सुन्दैनन् । ‘आफ्नै मृत्यु पढेर बसेको छु’ उनी भन्छन्, ‘यसरी बाँच्ने बुद्धि गोर्खा सैनिकसँगकै सिकेको हुँ ।’ 

जेपी इन्डोनेसिया पनि खटे । त्यतिबेला उनी प्यारा कम्पनीमा थिए । १ सय २४ पटक उनले प्याराजम्प गरे । १० पटक त रातमै प्याराजम्प गरे । उनले प्यारामा ३ वर्ष काम गरे । जंगल वारफेरको प्रमुख प्रशिक्षक भएर ३ वर्ष बिताए । कार्यकालको अन्तिम क्षणतिर उनी लेफ्टिनेन्ट कर्णेल भइसकेका थिए । जतिबेला रूपन्देहीको पक्लिहवास्थित बेलायतले नेपाली युवा भर्ती गर्न भर्ती डिपो खोलेको थियो । जेपी यही डिपोको प्रमुख बनेर नेपाली युवालाई लाहुरे बनाउन आए विसं. २०३३ सालमा ।  त्यहीँबाट सुरु भयो उनको नेपाल बस्ने लहरो । बुद्धिमान दुरा तमु ‘धम्पु’ लाई धर्म छोरो मानेपछि उनको नेपालप्रति मायाको डोरी झन् बलियो भयो । नेपालमा जनमत संग्रह सुरु हुनुअघि अर्थात् २०३६ को एक महिनाअघि भर्ती डिपो पोखरा सारियो । जेपीले अवकास नपाएसम्म पोखराको दिपस्थित ब्रिटिस क्याम्पमै काम गरे । पक्लिहवा र पोखरामा ५ वर्ष ५ महिना १ साता ५ दिन भर्ती डिपोको प्रमुख हुँदा उनले १ हजार ९ सय ३८ जना बेलायती सेना र २ सय १० जना सिंगापुर पुलिसमा भर्ती बनाएको सुनाउँछन् । ‘मैले बाहुन, क्षत्री, नेवार र कथित सानो जात भनिनेलाई पनि भर्ती गरेँ,’ उनी भन्छन्, ‘जातका आधारमा भेदभाव गरिनँ, तर कलर्कमा छानेँ ।’ 

अवकास भएपछि उनले बाँकी जिन्दगी पोखरामै बिताउने निधो गरे । जेपी क्रसले पोखराको रामबजारबाट दक्षिण लागेपछि सुरु हुने नयाँ बस्तीमा झन्डै ३५ वर्षअघि घर बनाए । उनी यहाँ बस्न सुरु हुँदा वरपर घरै थिएनन् । हरियो खर्क अस्पतालमा कुष्ठ रोगीको उपचार हुन्थ्यो । तिनलाई देखेर नयाँबस्ती वरपर मान्छे आउनै अप्ठ्यारो मान्थे । 
तिथिमिति याद गर्ने गजबको बानी छ जेपी क्रसको । हरेक घटनाका मिति दुरुस्त भन्छन् । वैशाख १८ गते उनको घर पुगेपछि कुराकानीको पोको फुकाउँदा उनको तिथिमिति याद गर्ने बानी थाहा भयो । 

कति भो नेपाल बस्न थालेको ?
‘बेलायत छाडेको ७३ वर्ष १० महिना २४ दिन पुग्यो ।’
‘लाखे है लाखे,’ उनले भने, ‘३२ वर्ष ५ महिना २ दिनमा नेपाली नागरिकता पाइयो ।’
‘३९ वर्ष ८० दिन बेलायती सेनामा जागिर खाएँ ।’ 

कुनै समय पोखराका विभिन्न कार्यक्रममा ढाका टोपी, कोट  पाइन्ट र टाई लगाएर पुग्थे । कहिलेकाहीँ त दौरा–सुरुवालमै भेटिन्थे । मीठो नेपाली भाषामा भाषण दिने उनी केही समयदेखि कार्यक्रममा जान छाडेका छन् । स्वास्थ्यले साथ नदिने भएकाले छोरो बुद्धिमानले कार्यक्रममा बोलाए पनि जान दिँदैनन् । उनलाई पोखराका विभिन्न कार्यक्रमको निम्तो भने आइरहन्छ । 

उनी केही न केही नगरी बस्नै नसक्ने सुनाउँछन् । उनको दैनिक रुटिन पनि गजबको छ । चार बजेर २० मिनेटमा उठिसक्छन् । नृत्यकर्म सकाएपछि इमेल चेक गर्छन् । ६ बज्न ५ मिनेट बाँकी हुँदा मर्निङ वाक निस्किन्छिन् । ११ बजेर ५ मिनेटमा घर आइपुग्छन् । थोरै खाना खाएपछि दिनमा एक कप चिया पिउँछन् । त्यसपछि अध्ययनमै बित्छ उनको समय । राति आठ बजे निदाइसक्छन् । 

जेपीले अहिलेसम्म १९ वटा किताब प्रकाशन गरिसकेका छन् । तीमध्ये अधिकांश गोर्खा सैनिक र नेपालसँग सम्बन्धित छन् । ‘इङ्लिस फर गोर्खा सोल्जर्स’, ‘गोर्खा द लिजेन्डरी सोल्जर’, ‘गोर्खाज’, ‘इन गोर्खा कम्पनी द ब्रिटिस आर्मी गोर्खाज १९४८ टु द प्रिजेन्ट’, ‘गोर्खा टेल्स ः फ्रम पिस एन्ड वार’, ‘जंगल वारफेयर ः एक्सपियरिन्सेस एन्ड इन्काउन्टर्स’, ‘दि कल अफ नेपाल’, ‘दि फेम अफ नेम ः हाउ दियर इज मच मोर टु दि गोर्खा देख सियर करेज’, ‘दि क्राउन अफ रिनोन : गोर्खाज, नेपाल एन्ड दि अनरेबल इस्ट इन्डिया कम्पनी’, ‘दि एज अफ रेज ः गोर्खाज, गोर्खाज एन्ड नेपाल इन दि पोस्ट–वार वल्र्ड १९४७–२००८’ लगायत उनका किताब हुन् । ‘२० औं किताबको भोलि (वैशाख १९ गते) देखि पु्रफ रिडिङ सुरु हुँदैछ’ जेपी भन्छन्,‘मर्निङ वाकमा जाँदा पनि केही न केही सोचिरहेको हुन्छ । २१ औं किताबबारे सोचिसकेको छु ।’ 

उनी नेपालका ६५ जिल्ला घुमेका छन् । ‘एकपटक लगातार १ सय ७० दिन घुमे । पूर्वका सबै जिल्ला हुँदै काठमाडौं पुगेर फर्किएँ,’ बेलायत फर्केपछि नेपाल कहिलेकाहीँ मात्रै आउन पाइएला भन्ने डरले घुमेको सुनाउँदै भन्छन्, ‘दिनदिनै चिनजानकासँग भेटेँ । कोही लाहुरे हुँदा पल्टनमा सँगै बसेका । कोही आफैंले छानेर लाहुरे बनाएका, बडो रमाइलो भयो।’ 

उनले अंग्रेजी भाषामा गोर्खाबारे किताब लेख्ने मात्र होइन, नेपाली भाषाबारे गहन अनुसन्धानसमेत गरेका छन् । नेपाली साहित्य त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका जेपीले त्रिविकै ‘नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा अनुसन्धानकर्ताको रूपमा काम गरे । विसं २०३७ देखि ३ वर्ष ७ महिना ५ दिन काम गर्दा उनले गहन अनुसन्धान गरे । तीमध्ये एउटा थियो— नेपाली भाषाको हलन्त र हिज्जेमा हुने फरक । ‘शब्दका मतलब र हिज्जेमा १ लाख २३ हजार फरक भेटाएको थिएँ । त्यसको दुई प्रति प्रतिवेदन हातैले लेखेर सिनासमा बुझाएँ,’ उनले हाँस्दै भने, ‘पछि त्यो हरायो भनियो । ८ वर्षपछि फेरि भेटियो भन्ने सुनेको थिएँ । तर, त्यसलाई के गरियो, थाहा छैन ।’

उनी जन्मभूमि बेलायत नगएको १६ वर्ष पुग्यो । नेपाली माटोमै रमाएका उनलाई बेलायतसम्म तान्ने मायाको डोरो केही छैन । आमा–बुबाका तीन भाइ, एक बहिनी सन्तानमध्ये दाइ दोस्रो विश्वयुद्धमै बिते । भाइ बितेको पनि दुई वर्ष भइसक्यो । जेपी बेलायती सेनाको उच्च ओहोदामा हुँदा नेपालभन्दा बढी अरू मुलुकमा बसे ‘विश्वका अरू थुप्रै ठाउँ छन्, जहाँ पनि बस्न सकिन्थ्यो,’ उनले नेपाल बस्नुको रहस्य खोले, ‘मैले गोर्खाली (नेपाली) बाहेक अरूसँग संगत गर्नै पाइन । अरू मान्छे चिनेकै छैन । अनि कहाँ बस्नु ? फेरि नेपालीजस्ता राम्रा मान्छे अन्यत्र पाउन सकिन्नथ्यो ।’ 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad