७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

नोबेल अस्पातलमा सुरु भयो ईपी ल्याब सेवा

नोबेलमा ईपी ल्यावबाट बिरामीको उपचार गरिदै।

बिराटनगर- मुटुको चाल गडबडी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ। राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गडबडी सम्बन्धि रोगको दिगो उपचार थालेको हो।  

मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षैदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो। यसअघि राजधानीको गंगालाल अस्पतालमा मात्र यो ल्याव रहेकाले उपचारका लागि महिनौ कुर्नुपर्ने समस्या थियो। तर, अव नोबेलले ईपी ल्याव सञ्चालन गरेपछि मुटुको चाल बढेर समस्या झेल्दै आएका बिरामीले सहज रुपमा उपचार पाउँने नोबेल अस्पतालका डा.राजेश नेपाल बताउँछन्। ‘ईपी ल्याव नहुँदा बिरामीले सधैभरी औषधि खाएर रोगको रोकथाम मात्र गर्नुपथ्र्यो ।’ डा.नेपाल भन्छन् ‘तर, अव सधैभरी समस्या पालेर बसिरहेका बिरामीले ईपी ल्यावमार्फत सहज रुपमा रोगबाट मुक्ति पाउँने वातावरण बनेको छ ।’  

सामान्य मानिसको मुटुको चाल ६० देखि १०० सम्म हुन्छ। तर, कतिपयको चाल २०० सम्म पुगेर दैनिक जिवननै प्रभावित हुने गर्छ। धेरै मानिसमा देखिने यो समस्याका कारण अत्याधिक मुटु दुख्ने, चक्कर लाग्ने, बेहोस होलाजस्तो हुने, वाकवाकी लाग्ने जस्ता समस्या देखा पर्ने गर्दछन्। गंगालालले २०६१ सालमा ईपी ल्याव सुरु गरेपनि दक्ष जनशक्ति अभावले १४ बर्षसम्म पनि अन्य अस्पतालमा यो सेवा सुरु नभएको चिकित्सकहरु बताउँछन्। नोबेलले दक्ष जनशक्तिको ब्यवस्थापन गरी अमेरिकन मेसिन ल्याएर ईपी ल्याव सुरु गरेपछि बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुहरु उत्साहित बनेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ।  

नोबेलमा पहिलो दिननै ६ जनाले ईपी ल्यावबाट उपचार गराएका छन् । बिपन्न नागरिक औषधि उपचार कोषमार्फत पनि नोबेलले उपचार गर्दै आएकाले बिपन्न नागरिकले ईपी ल्यावबाट निःशुल्क उपचार पाएका छन्।स्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले यसअघि २ अर्व ४० करोड लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी जटिल रोगको पनि सहजै उपचार गर्दै आएको छ। नोबेललाई स्तरीय उपचारमा उदाहरणीय बनाउँदै सवै बर्गका बिरामीको रोजाईको केन्द्र बनाउन आवश्यकता अनुरुप सेवामा स्तरीयता बढाउँदै लगिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ।
 

प्रकाशित: २९ जेष्ठ २०७५ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App