८ वैशाख २०८१ शनिबार
अन्य

असल अभिभावक कसरी बन्ने ?

सृजना पाण्डेय

आफ्ना नाति–नातिनी, छोरा–छोरी, भाइबहिनीका लागि हजुरबुवा–हजुर आमा, बाबु–आमा, दाइ–दिदी र स्कुल जाने बच्चाका हकमा शिक्षक–शिक्षिका सबै अभिभावक हुन् । अभिभावक भएपछि आफूभन्दा सानालाई आफूले गर्नुपर्ने माया, पालनपोषणमा दिनुपर्ने पर्याप्त समय, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा भएको छ छैन ख्याल गर्नुपर्ने हुन्छ । त्यसैगरी आफ्ना बालबालिकालाई आफ्नो परिवेश र समसामयिक परिस्थितिको जानकारी गराउनुपर्छ भने व्यक्तिगत सुरक्षाका बारेमा पनि सचेत गराउनुपर्छ । स्वास्थ्य र सरसफाइ त उनीहरूका लागि आधारभूत कुरा नै हुन् । बालबालिकामा सानैदेखि सकारात्मक भावनाको विकास गर्न सकियो भने उनीहरूले हरेक कुराबाट सकारात्मक गुण ग्रहण गर्न सक्छन् । अरूलाई यथोचित आदर–सम्मान गर्ने कुराले बालबालिका समाजको दृष्टिमा असल र अनुशासित हुन्छन् । बालबालिकाको मनोविकासका लागि उनीहरूका भावना बुझेर सिकाइप्रति प्रेरित गर्नुपर्छ । 

तपाईंका बालबालिकाले कस्तो बानी व्यवहार गरेका छन् त्यो ख्याल गरी असल बानीव्यवहार सिकाउनुहोस् । उनीहरुलाई असल व्यवहार गर्दाका फाइदा बेफाइदाका बारेमा पनि जानकारी दिनुहोस् । उनीहरुलाई आफ्नो जमाना र परिवेशजस्तो बनाउन खोज्ने भन्दा उनीहरूकै जमानाअनुसारको बानी व्यवहारमा अभिभावक पनि अभ्यस्त हुनुहोस् । अभिभावक भइसकेपछि आफ्ना सन्ततिलाई कसरी सरल, सहज वातावरणमा घुलमिल बनाउन सकिन्छ भन्नेतिर सोच्नुहोस् ।           

आफूभन्दा सानालाई माया गर्नुपर्छ र आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ भन्ने नैतिकताको पाठ आफ्ना बालबालिकालाई सानैदेखि सिकाउनुहोस् । बच्चालाई बिहान उठेदेखिका क्रियाकलापमा मायालु पाराले बानीव्यवहार सिकाउनुहोस् । बानीव्यवहार सिकाउँदा रिसाउने, झर्कने नगर्नुहोस् उनीहरुलाई सकेसम्म एक दुईपटक केही बिगारे पनि हाँसीहाँसी यस्तो गर्नुहुन्न यसो गर्दा यसो हुन्छ त्यसैले यसो नगर भनेर सिकाउनुहोस् । यसो गर्दै जाँदा उनीहरुले दुई तीनपटक नटेरे पनि त्यसपछि अवश्य टेर्ने हुन्छन् । भाइबहिनीसँग बस्दा, खेल्दा झगडा गर्नुहुन्न, खानेकुरा एकआपसमा बाँडेर खाने गर्नुपर्छ भनेर आफ्ना नानीबाबुलाई सिकाउनुहोस् । अभिभावकले उनीहरुको मनोभावना बुझ्ने कोसिस गर्नुहोस् । त्यहीअनुसार उनीहरुलाई झर्को नमानी काम सिकाउने, सरल बाटोमा लैजानेतर्फ सोच्नुहोस् । बच्चाहरुलाई सकेसम्म बुवा–आमा दुवैले प्रशस्त समय दिनुहोस् सम्भव नभए बुवाआमामध्ये एकजनाले भए पनि बच्चाबच्चीलाई पर्याप्त समय दिनुहोस् । स्कुल जानेबच्चाको हकमा शिक्षक–शिक्षिकाले पनि उनीहरू कुन उमेरका बच्चा हुन्, त्यो उमेरका बच्चाको रुचि कस्तो हुन्छ, त्यो उमेरका बच्चालाई कसरी सिकाउँदा उनीहरुले सिकाइको उपलब्धि हासिल गर्छन्, उनीहरुलाई माया गरेर हुन्छ कि, सम्झाएर हुन्छ कि कसरी उनीहरुलाई राम्रो बाटोमा हिँडाउने भन्ने बुझेर सिकाइ शिक्षण क्रियाकलाप अगाडि बढाउनुहोस् । उनीहरुलाई असल बाटोेमा हिँडाउनका लागि सबभन्दा उत्तम त उनीहरुको मनोभावना बुझेर त्यहीअनुसारको वातावरण मिलाइदिनुहोस् । यसो गर्दा प्रायः बच्चा राम्रो व्यवहार सिक्ने, पढ्नमा रुचि राख्ने, सही मार्गमा हिँड्ने हुन्छन् ।

असल अभिभावकः

बालबच्चाका लागि अभिभावकले खासखास कुरामा ध्यान दिनैपर्ने हुन्छ । प्रथमतः उनीहरुलाई माया दिनुहोस् । मायाका साथसाथै उनीहरुलाई राम्रो पालनपोषणमा हुर्काउने, राम्रो शिक्षादीक्षा दिने गर्नुहोस् । उनीहरुलाई आफूभन्दा सानोलाई माया गर्ने र ठूलालाई आदर गर्ने असल बानी आफैँबाट सिकाउनुहोस् । नराम्रो काम गर्दाको नराम्रो फल र राम्रो काम गर्दाको राम्रो फल यस्तो हुन्छ भन्ने सिकाउनुहोस् । उनीहरुसँग शासकको व्यवहार नगरी साथीसाथी बीचको जस्तो व्यवहार गर्नुहोस् । यसो गर्दा उनीहरुले आफूमा लागेका मनका कुरा, भन्न नसकेका अप्ठ्यारा कुरा पनि संकोच नमानी भन्ने गर्छन् । यसले गर्दा नानीबाबुहरूलाई खासै समस्या पर्दैन परिहाले पनि समस्याको समाधान गर्न सजिलो हुन्छ । कहिल्यै पनि बच्चाको अगाडि आफू–आफूमा झैँझगडा गर्ने, डिंङक्स गर्ने, गोप्य कुरा गर्ने गर्नुहुँदैन, यस्तो बानी यदि तपार्इंहरुमा छ भने दिमागबाटै हटाउनुहोस् । त्यस्तो गर्नै प-यो भने एकान्तमा गर्नुहोस् । यस्ता कुरा बच्चाले थाहै नपाओस् । बच्चा साथीभाइसँग मिलेको छ कि छैन, त्यस कुरामा पनि ध्यान पु-याउनुहोस् । बच्चालाई सफासुग्घर हुन सिकाउने पहिलो कर्तव्य हो भने साथीभाइसँग घुलमिल गर्छ कि गर्दैन, गर्दैन भने के कारणले गर्दैन भन्ने कुरा अभिभावकले राम्रोसँग बुझ्नुहोस् र त्यसलाई घुलमिल हुन सक्ने वातावरण बनाइदिनुहोस् । 

असल अभिभावकको कर्तव्यः 

बच्चालाई कस्तो वातावरणमा हुर्काउने, उसलाई सरसफाइप्रति राम्रोसँग ध्यान दिने, उसको शिक्षादीक्षामा कस्तो वातावरण बनाइदिने, कस्तो वातावरण बनाइदिँदा उनीहरुलाई शिक्षामा रुचि बढाइदिन सकिन्छ, आफ्नो बच्चा साथीसंगीसँग कत्तिको घुलमिल गर्छ यावत् साना–मसिना कुरामा राम्रोसँग ध्यान दिनुहोस् । बच्चालाई सधैँ सफा राख्नुपर्छ, यसो गर्दा अरु साथीको दृष्टिमा आफ्नो बच्चा पर्न सकोस्, सफासुग्घर बच्चालाई सबैले माया गर्छन् । बच्चा स्कुल जाने भइसकेपछि स्कुलको डे«स जुत्ता मोजा सफा राखिदिनुहोस् जबकि स्कुलमा यो कस्तो सफा छ भनेर शिक्षकशिक्षिकाले तारिफ गरून् । बच्चाले गरेको राम्रो काममा सधैं उसलाई धन्यवाद दिने गर्नुहोस् अनि उसलाई राम्रो काम गर्न जाँगर बढेर आउँछ । बच्चाले राम्रो काम गरे पनि केही क्रिया–प्रतिक्रिया नदिने अनि कहिलेकाहीँ नराम्रो काम गरिहाल्यो भने बेस्सरी गाली गर्ने काम नगर्नुहोस्, उसलाई राम्रोसँग सम्झाई–बुझाई नराम्रो काम कहिल्यै गर्नुहुन्न भनेर भन्नुहोस् । राम्रो कामका लागि उसलाई तारिफ गर्न नबिर्सनुहोस् । स्कुलमा आफ्नो बच्चा साथीभाइसँग घुलमिल गरेको छ कि छैन, पढाइमा कत्तिको ध्यान दिएको छ  त्यो कुरा बेला–बेलामा विद्यालयमा गएर शिक्षक–शिक्षिकासँग मेरो बच्चाले कस्तो गर्दैछ, उसलाई राम्रोसँग ख्याल गरिदिनुहोला भनेर भन्नुहोस् । आफ्नो बच्चालाई साथीभाइको बीचमा हीनताबोध हुने खालका काम नगराउनुहोस् । हाम्रो जमानामा यस्तो थियो उस्तो थियो भनी यस्तो गर्नुपर्छ, उस्तो लगाउनुपर्छ भनेर बच्चालाई नभन्नुहोस् । युग सुहाउँदो, ठाउँ सुहाउँदो र परिवेश सुहाउँदो ड्रेस अपमा राख्नुहोस् । बिहान स्कुल जान कहिल्यै ढिला नगरिदिनोस् । ढिला गर्दा स्कुलमा सानातिना कुरा छुट्न सक्छन् र बाटोमा पनि हतार–हतार हुन्छ । त्यसो गर्दा गाडी हिँड्ने बाटामा सुरक्षाको पनि डर हुन्छ । 

अहिलेका बच्चाले सबै खानेकुरा नरम खालको खान्छन्, त्यसैकारण धेरैजसो बच्चामा दाँतको समस्या देखिने गरेको छ । यसको समाधानका लागि उनीहरुलाई साह्रो किसिमको खानेकुरा पनि बेलाबेलामा खान दिनुहोस् । बिहानबेलुका खानापछि ब्रस गरिएन भने पेटसम्बन्धी रोग लाग्ने सम्भावना अत्यधिक हुने हुनाले बिहानबेलुका ब्रस गर्न लगाउनुहोस् । हिजोआजका बच्चाले धेरै टिभी हेर्ने भएकाले उनीहरु धेरैको आँखामा पनि समस्या आउने गरेको छ । यसको समाधानका लागि उनीहरुलाई कसरी टिभी हेर्ने बानी कम गराउन सकिन्छ भन्नेमा सोच्नुहोस् । बच्चा बिग्रने भनेको किशोरावस्थामा हो त्यस समयमा उनीहरुको मनोभावनालाई बुझेर कसरी राम्रो बाटोमा ल्याउन सकिन्छ भन्नेमा दत्तचित्त भएर लाग्नुहोस् ।      

मायालु वातावरण

बच्चा हो कहिलेकाहीँ त नराम्रो काम गर्न सक्छ । त्यसमा उनीहरुलाई मायालु वचनबाट यसो गर्न हुन्न नानीबाबु हो भनेर सम्झाउनुहोस् । उनीहरुलाई राम्रो काम गर्दाको फल यस्तो हुन्छ र नराम्रो काम गर्दाको फल यस्तो हुन्छ भनेर बेला–बेलामा ज्ञान दिनुहोस् । उनीहरुलाई हुर्कन, पढ्न सधैँ मायालु वातावरण बनाइदिनुहोस् । बच्चालाई केही काम झर्किनेफर्किने तरिकाले अह्रायो भने गर्दैन र त्यही काम मायालु स्वरले अह्रायो भने गर्छ त्यसैले जुनसुकै बच्चालाई काम अह्राउँदा मायालु स्वरमा अह्राउनुुहोस् । उसलाई खेल्ने समयमा खेल्ने, पढ्ने समयमा पढाइमा समय दिने मायालु वातावरण सृजना गरिदिनुहोस् । जसले गर्दा ऊ मिठो बोल्छ र अह्राएको काम पनि सहजै स्वीकार गर्छ । संस्कृतका विद्वान् मम्मटले काव्यको प्रयोजनमा भनेका छन्— ‘कान्तासम्मिततयोपदेशयुजे ।’ अर्थात् जुनसुकै काम गर्नका लागि ठाडो आदेश गरेर हुँदैन । पतिले मायालु ढङ्गले अह्राएको कुरा पतिले जसरी सहजै स्वीकार्छ । हो, त्यस्तै मायालु व्यवहारले संसारलाई पगाल्न सकिन्छ र काम गर्ने प्रेरणा पनि दिन सकिन्छ । त्यसैले आफ्नो बच्चालाई राम्रो बनाउनका लागि मायालु वातावरणको सृजना गरिदिनुहोस् । 

समसामयिक परिस्थितिको जानकारी 

अभिभावकले बच्चाको परिस्थिति बुझ्नु जरुरी छ र उसलाई त्यो कुरा बुझाउनु पनि जरुरी छ । बच्चालाई हाम्रो जमानामा हामीले यस्तो गथ्र्याैं उस्तो गथ्र्यौं भनेर त्यतातिर लैजान जोड नगर्नुहोस् किनभने उसबेलाको र आजको परिस्थिति निकै फरक भइसकेको छ । त्यस्तो गराउनतिर लागियो भने आफ्नो बच्चा साथीभाइ, समाजबाट अलग्गिएको जस्तो अनुभव गर्छ त्यसैले आफ्नो बच्चालाई युग सुहाउँदो वातावरण बनाइदिनोस् । उसलाई जे गर्दा साथीभाइबीचमा घनिष्ठ सम्बन्ध स्थापित हुन्छ त्यतातिर लाग्नुहोस् । उसलाई समसामयिक वातावरणभित्र राख्नुपर्छ । बल्ल त साथीभाइ, समाजमा ऊ घुलमिल हुन सक्छ । त्यसैले तपाईंले उसलाई युग सुहाउँदो वातावरणको सृजना गरिदिनुहोस् । 

पर्याप्त समय दिने

आफ्ना बच्चालाई सकेसम्म बाबुआमा दुवैले पर्याप्त समय दिनुहोस् । सकिँदैन भने बाबुआमामध्ये एकजनाले भए पनि उसलाई पर्याप्त समय दिनुहोस् । समय नदिँदा उसमा खिन्नता आउने, आफूलाई बुवा–आमाले माया नगरेको जस्तो अनुभव गर्ने, आफू एक्लिएजस्तो महसुस गर्ने गर्छन् । आफ्नो बच्चालाई त्यस्तो वातावरणको सृजना नहोस् भन्नका लागि पर्याप्त समय दिनुपर्छ । ऊ विद्यालय गएको समयमा पनि कहिलेकाहीँ विद्यालय गएर आफ्नो बच्चाले कस्तो पढेको छ, शिक्षकशिक्षिकाले भनेको मान्छ कि मान्दैन भन्ने साना–मसिना कुरामा पनि ध्यान दिनुहोस् । यी क्रियाकलाप गर्दा शिक्षकशिक्षिकाले पनि त्यस विद्यार्थीलाई अलि समय दिन्छन् र बच्चाले मेरो अभिभावक पनि स्कुल आएको भनेर गर्व गर्छ । उसलाई स्कुल बिदा भएको बेलामा कहिलेकाहीँ नयाँ–नयाँ ठाउँमा घुमाउन लैजानुहोस् ।
उनीहरुलाई कहिलेकाहीँ आफ्नो कार्यालयमा लगेर आफ्ना साथीहरुसँग पनि परिचय गराउनुहोस्, त्यस्तै कहिलेकाहीँ उसलाई आफ्नो इष्टमित्रकहाँ लग्नुहोस्, त्यहाँ गएको बेलामा उसलाई नातो लगाएर बोल्न सिकाउनुहोस् । यसो गर्दा बच्चाको सामाजीकरण छिटो हुन्छ ।

सरसफाइ र स्वास्थ्य 

हामीले हाम्रो बच्चालाई सधैँ सफा हुन सिकाउनुपर्छ । बच्चालाई सफा राखियो भने अरूहरुले पनि माया गर्ने, काखमा लिने, बोकिदिने हुन्छन् । सफा भएन भने बच्चासँग नजिकिँदैनन् बरु टाढाटाढा भाग्ने हुन्छन् । त्यसैले जहिले पनि बच्चालाई सफा र स्वस्थ राख्नुहोस् । सफा राखियो भने बच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ । आफ्नो बच्चाको के–के विषयमा कमी कमजोरी छ भन्ने कुरा पत्ता लगाउनुहोस् । बिरामी नै छैन भने पनि बेला–बेलामा डाक्टरलाई देखाउने स्वास्थ्यबारे सल्लाह लिने गर्नुपर्छ । आफ्नो बच्चाको स्वास्थ्य कस्तो छ भन्ने कुरा थाहा पाइराख्नुहोस् । उनीहरुलाई खोपको मात्रा, बेला–बेलामा जुकाको औषधि, भिटामिन ‘ए’ दिइएको छ कि छैन भन्नेमा ख्याल गरिरहनुहोस् । 

सामाजिक सम्बन्ध

बच्चालाई समय–समयमा सामाजिक सम्बन्धका बारेमा बताउनुहोस् । घरका प्रत्येक सदस्य मिलेर परिवार बन्छ । परिवार–परिवार मिलेर समाजको निर्माण भएको हो । हामीले बच्चालाई सानैदेखि राम्रो व्यवहार सिकाउनुपर्छ । घरमा राम्रो व्यवहार सिकेपछि उसले समाजमा पनि राम्रो व्यवहार गर्छ । नत्र उसलाई समाजमा कसरी मिल्नुपर्छ भन्ने कुराको जानकारी पनि हुँदैन । समाजमा राम्रो बन्नका लागि उसको बानीव्यवहारले प्रभावित पार्छ । समाजमा राम्रो बन्नका लागि प्रथमतः सफा सुग्घर हुनुपर्छ । आपूm सधैँ सफा रहने, आफ्नो वरिपरि सधैँ सफासुग्घर राख्ने कुरा सिकाउनुहोस् अनि उसलाई नातो लगाएर बोलाउन र नातोअनुसार अभिवादन गर्न सिकाउनुहोस् । उसलाई समाजमा घुलमिल हुन सिकाउनुहोस् । अनि उसले त्यहीअनुसारको व्यवहार गर्छ र समाजमा घुलमिल गर्न पनि थाल्छ । उसका राम्रा–नराम्रा गुणहरु समाजमा कहलिन सक्छन् । उसको समाजमा गुणगान गाउन थालिन्छ । बच्चाका लागि अभिभावकले के–के गर्नुपर्दोरहेछ भनेर औपचारिक रूपमा लिस्ट नै बनाउनुपर्ने हुन्छ । अभिभावकले यति सानो काम त सकिहालिन्छ नि भनेर भन्न हुँदैन । बाबा–आमाले आफ्नै छोराछोरीको जन्म मितिसमेत बिर्सन सक्छन् । यस्ता साना–तिना कुरा पनि लेखेरै राख्ने बानी बसाल्नुहोस् । 

सुरक्षा 

अभिभावकले आफ्ना बच्चालाई सधैँ सुरक्षा दिइराखेका हुन्छन् । सुरक्षा भन्ने पनि विभिन्न किसिमको हुन्छ । एउटा सानो बच्चाले १ महिना पुगेपछि आफ्नी आमालाई चिन्छन् भनिन्छ । बच्चालाई अलिकति असजिलो, दुखाइ हुनासाथ रुने कराउने गर्छ । त्यस्तो हुँदा उसलाई अरूअरूले काखमा लिँदा पनि रुन कराउन छाड्दैन तर आफ्नी आमाले काखमा लिइन् भने रुन कराउन छाड्छ त्यस्तो प्रतिक्रिया देखाउनुको कारण उसले आमाको गन्ध थाहा पाउने भएर हो भनिन्छ । आमाको काखमा आइसकेपछि उसमा साहस थपिन्छ, उसले सुरक्षा पाएको महसुस गर्छ र रुन छाड्छ । बच्चा अलि ठूलो स्कुल जाने भइसकेपछि पनि डर लाग्ने कुरा गर्न सक्छ । यस्तो समस्याको समाधानका लागि अभिभावकले राम्रोसँग सोच्नुपर्ने हुन्छ । बच्चाले डराउने केही कुरा ग-यो भने पनि तिमी नडराऊ तिमीलाई सुरक्षा गर्ने त हामी छौँ नि भनेर उसलाई साहस, हिम्मत र निडरता थपिदिनुपर्छ ।

सकारात्मक भावनाको विकास

बच्चा हामी सबैको प्यारो हुन्छ । बच्चाले कहिल्यै झुट नबोलोस्, उसले कहिल्यै कसैको सानो–तिनो सामान पनि केही नचोरोस्, नराम्रा साथीको संगत नगरोस्, सधैँ सत्मार्गमा लागोस् भनेर हामीले सदैव प्रार्थना गरिरहेका हुन्छौं । बच्चालाई त्यो प्रार्थनाले मात्र हुँदैन, उसलाई नियमित सम्झाइबुझाई गर्नुपर्छ । उसलाई असल काम गर्दा यस्तो फल प्राप्त हुन्छ, खराब काम गर्दा यस्तो फल प्राप्त हुन्छ भनेर राम्ररी सम्झाउनेबुझाउने गरिरहनुपर्छ । 

बच्चाले मेरो साथी यस्तो खराब छ, मेरो सबै खाजा खाइदिन्छ जस्ता कुरा सुनाउन सक्छन् । यस्तो भन्दा उसलाई केही कुराको कमी भएर होला, कुनै समस्या होला भनेर सम्झाइबुझाइ गर्नुहोस् र त्यसका सकारात्मक गुणको चर्चा गरिदिनुहोस् । तर त्यसो भनेर बालबालिकाका भनाइको उपेक्षा भने गर्नुहुँदैन । त्यस्तो किन भइरहेको छ भनेर समस्याको निराकरणमा पनि चासो लिनुहोस् । कहिलेकाहीँ विद्यालयमा शिक्षक–शिक्षिकाले कापी चेक गर्दा आँखै नपुगेर गल्ती अक्षरलाई पनि सही हो भनी ठीक लगाइदिएको हुन सक्छ । यस्तोमा बच्चाले ‘हेर्नु न बाबाआमा हाम्रो म्यामले त गल्तीलाई पनि ठीक लगाइदिनुभएको छ’ भन्छन् । यस्तो अप्ठ्यारो अवस्थामा म्यामलाई कति धेरै कपी चेक गर्नुपर्छ, म्यामले नदेखेर हो भनेर सकारात्मक पक्षमा कुरा लैजानुहोस् र यो कुरा उचित समयमा शिक्षकलाई संकेत गर्नुहोस् । बच्चाले केही नकारात्मक कुरा ग-यो कि सकारात्मकतातिर लगिहाल्नुहोस् ताकि बच्चाले नकारात्मक कुरा गर्न छाड्छ र सकारात्मक कुरा गर्न थाल्छ । बच्चाको परीक्षाको नतिजा निस्किएपछि चाहे जस्तोसुकै नम्बर आओस्, उसलाई राम्रो छ, अझ राम्रो गर भनेर सकारात्मक तरिकाले हौसला प्रदान गर्नुहोस् । 

अरूलाई आदर गर्न प्रेरित गर्ने 

हामीले जहिले पनि आफूभन्दा ठूलालाई आदर र आफूभन्दा सानालाई माया गर्नुपर्छ भन्ने कुरा व्यवहारबाट आफ्ना नानीबाबुलाई सिकाउनुहोस् । यस्तो सिकाइको पुनरावृत्ति गरिरहनुहोस् जबकि बच्चाले सिक्न थालोस् । यो सिकाइले उसको स्कुलमा पनि प्रभाव पार्छ । स्कुलमा साथीभाइमा पनि आफूभन्दा ठूलालाई आदर गर्नुका साथै सानालाई माया गर्न थाल्छ, उसले सर म्यामहरुले भनेको गृहकार्य पनि गर्ने, भनेको मान्ने हुन्छ । 

बालबालिकाको मनोभावना बुझ्ने 

आमाबाबुले जहिले पनि बालबालिकाको इच्छा बुझेर मात्र उसलाई सम्झाउने बुझाउने कुरा गर्नुपर्छ । बालबालिकाहरु कुन समयमा कस्तो क्रियाप्रतिक्रिया गर्छन् ? कस्ता साथीसंगीको संगत गर्छन् ? कस्ताकस्ता व्यवहार गर्न मन पराउँछन् उनीहरुको मनोभावना जानेर मात्र उनीहरुलाई अर्तीउपदेश दिनुहोस् । त्यसका लागि हामी अभिभावक र शिक्षकशिक्षिकाले बाल–मनोविज्ञानको ज्ञान अवश्य लिनुपर्छ अनि मात्र हामीले बच्चा के हो, उसले के चाहन्छ, उसलाई कसरी सुधार्न सकिन्छ भन्ने आइडिया हामीमा आउँछ । 

सिकाइप्रति उत्सुकता बढाउने 

अभिभावकले जहिले पनि मेरै मात्र बच्चा प्रथम होस् भन्ने चाहन्छन् । ऊ प्रतिस्पर्धामा त गयो तर प्रथम हुन सकेन भने बच्चालाई जति गरे पनि प्रथम हुन सक्दैन भनेर तनाव दिनु हुँदैन । राम्रो गर्नु प-यो तर प्रथम नै हुनुपर्छ भनेर नभन्नुहोस् । बच्चा धेरै कमजोर छ भने किन धेरै कमजोर भयो भनेर शिक्षक–शिक्षिकासँग उसको पढाइमा कमी आउनुको मुख्य कारण केहो भन्ने कुरा बुझ्न लगाउनुहोस् अनि उसको कहाँनेर कमीकमजोरी छ बुझेर उसलार्ई पृष्ठपोषण दिनुहोस् । यसरी तपाईं असल अभिभावक बन्नुभयो भने तपाईंका बालबालिका पनि आजका असल बालबालिका र भोलिका असल नागरिक बन्नेछन् ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App