coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘अब त हरकहीँ पेरिस भइसक्यो’

आस्तिक शेरचन 
चर्चित फेसन डिजाइनर 

नेपालका सीमित र गुनेचुनेका फेसन डिजाइनरका रूपमा चिनिन्छन् । फ्रान्समा फेसन डिजाइनिङ पढेर आएका उनी सम्भवतः एक्ला डिजाइनर हुन् । पुल्चोकस्थित उनको निवासमा आफ्नै डिजाइन कम्पनी ‘पुल्चोक ३’ छ । वैशाखको मध्यमा ‘नागरिक परिवार’ उनको निवासमा पुग्दा उनको डिजाइनका केही लेहेँगा देख्न पाइयो । उनको भनाइ थियो– ‘यी सबै पुराना डिजाइन हुन्, नयाँ त यहाँ राख्नै पाइन्न, लगिहाल्छन् ।’यसबाट थाहा हुन्छ, उनको डिजाइनको लोकप्रियता । उनले महिलाकेन्द्रित डिजाइन बढी गर्ने गरेका छन्, भन्छन्, ‘मलाई स्त्री सुन्दर भएको मन पर्छ, पुरुषलाई त्यत्ति धेरै मिहिनेत गरिरहनु पर्दैन ।’हामीले उनीसँग डिजाइन, फेसन र उनको पेरिस बसाइबारे सोध्यौँ । उनकै शब्दमाः

विद्यालयमा युनिफर्म मात्रै 

सानैदेखि मलाई कुनै पनि चिज राम्रो हुनुपथ्र्यो । सानामा फिल्मबाट प्रभावित भइयो । लुगा, गहना इत्यादि रुचिकर लाग्थ्यो । हिरोइनले लगाएका लुगामा मोहित हुन्थेँ । फिल्म हेर्न थालेपछि वस्त्रप्रति रुचि जागेको हो ।
पञ्चगनी, महाराष्ट्रमा एउटा क्रिस्चियन मिसिनरी पिटर स्कुलमा पढ्थेँ । त्यहाँ त पूरै अनुशासनमा बस्नु पथ्र्यो । युनिफर्म मात्र लगाउन पाइने हुँदा बिदाका बेला पनि युनिफर्म लगाउनु पथ्र्यो । त्यसैले पनि लुगामाथि कुनै किसिमको एक्स्पेरिमेन्ट गर्न पाइन्नथ्यो । अरूले लुगा लगाएको देख्दा एक किसिमको लोभ लाग्थ्यो । पछि रातो बंगला स्कुलमा ११ मा पढ्न थाल्दा भने बिदाको बेला बाहिरी लुगा लगाउन पाउँदा ज्यादै खुसी लाग्थ्यो । 

फ्रान्सको पेरिस 

१२ कक्षा सकिएपछि म फ्रान्सको राजधानी पेरिस गएँ किनभने त्यस बेला पेरिस फेसनको राजधानी नै थियो । मलाई त्यस बेलासम्म कला र फेसनबारे बुझ्नु छ भने पेरिस नै जानु उपयुक्त हुन्छ भन्ने बुझिसकेको थिएँ । त्यसैले म त्यहाँ गएँ ।

मलाई फ्रान्सको इतिहास, संस्कृति निकै मन पथ्र्यो । खासमा म किताब अति धेरै पढ्थेँ । त्यै भएर पनि होला, फ्रान्सप्रतिको बेग्लै छाप ममा प-यो । पेरिसको जुन शान थियो, त्यो संसारकै नम्बर वन थियो । 
पढाइपछि म त्यहीँ बस्छु, त्यहीँ रमाउँछु भन्ने लागेको थियो । पछि भने अभिभावकले कहिले आउने भनेर सोध्न थाल्नुभयो । त्यसपछि म नेपाल फर्किएँ ।

संसार परिवर्तन भइसक्यो

त्यो बेला संसारको केन्द्र पश्चिमी मुलुक थियो । त्यहाँ नयाँ कुरा जन्मिन्थे, जन्माइन्थे तर अहिले संसारको केन्द्र पश्चिमबाट पूर्व सरिसक्यो । तपाईं अहिले संसारको जुनसुकै कुनामा बसेर आफैँलाई केन्द्र बनाउन सक्नुहुन्छ तर त्यसका लागि तपाईंले मिहिनेत गर्नैपर्छ ।

इन्टरनेटबाट संसार छुन सकिन्छ । म बच्चा हुँदाको पेरिसजस्तो अहिलेको पेरिस छैन । धेरै परिवर्तन भइसक्यो । त्यो बेलाको फेसनको सिर्जनशीलता र अवसर अहिले छैन । फेसन यतिबेला सारा संसारभर फैलिसक्यो । हरेक ठाउँमा आफ्नै फेसन उद्योग बनिसक्यो । हिजोसम्म इन्डियाको फेसन उद्योगको कतै उपस्थिति थिएन, अहिले संसारभर चल्तीको बनिसक्यो । त्यहाँका डिजाइनरहरू फ्रेन्च डिजाइनरकै तहमा पुगिसके । 

पेरिसमा हुँदा मैले त्यो महसुस गरेँ । २०११ ताका मैले पाँच वर्षे अनुभवले मलाई देश फर्कन प्रेरित ग¥यो । एउटै उद्देश्य थियो, नेपालमै बसेर पनि मिहिनेत गर्न सके संसारभरि नै नाम र दाम कमाउन सकिन्छ ।

सुरुमा गाह्रो भयो

पेरिस बसेको मान्छे, काठमाडौंमा रमाउन मलाई सुरुका दिनमा गाह्रो भयो । यहाँ त क्लाइन्ट पाउन पनि गाह्रो थियो । त्यहाँ डिजाइनर हुनुप-यो भने एउटा सिस्टम हुन्छ, प्रोसेस हुन्छ । यहाँ त्यस्तो केही हुँदैन । त्यहाँ कति वर्ष काम गरेर, एप्रेन्टिससीप गरेपछि मात्र डिजाइनर हुन पाइन्छ । पैसा कमाइसकेपछि बल्ल आफ्नै डिजाइनर स्टुडियो खोल्न सकिन्छ वा पाइन्छ ।

यहाँ भने अझै पनि बुटिकको जमाना छ । डिजाइनरको समय आइसकेको छैन । डिजाइनर भन्नाले मैले कपडा बेच्ने काम गर्नु पर्दैन । मैले वश डिजाइन मात्र गरे पुग्छ । नेपालमा त्यसो गरेर तपाईं बाँच्न गाह्रो छ । तपाईं आफैँ डिजाइनर बन्नुपर्छ, आफैँ बुटिक सञ्चालक हुनुपर्छ ।

विदेशमा के हुन्छ भने तपाईं डिजाइनर हुनुभयो भने र नयाँ डिजाइन गर्नुभयो भने एउटा फेसन सोमा तपाईंले आफ्ना सिर्जना पस्किनु हुन्छ । फेसन सोमा देशका प्रख्यात पहिरनका होलसेलर भेला भएका हुन्छन् । पहिरनका समीक्षक भेला भएका हुन्छन् । फेसन सो भनेको होलसेलर र क्रिटिकहरूलाई प्रभावित पार्न आयोजना गरिएको समारोह हो । यहाँ त्यस्तो हुँदैन, यहाँ चाहिँ यस्तो फेसन सो मनोरञ्जन गर्नका लागि आयोजना हुन्छन्जस्तो लाग्छ ।

हाम्रा ग्राहक रेडिमेड रुचाउँछन्

हामीकहाँ फेसन सेन्स राम्रो छ तर डिजाइनर लुगा लगाउने कम छन् । हुन त डिजाइनर लुगा महँगो पनि हुन्छ । त्यो सबैले किन्न सक्ने कुरा पनि होइन । त्यसैले पनि होला, पहिल्यै तयार पारिएका लुगा किन्ने बानी छ हाम्रो । फेसन डिजाइनरको काम भने लिमिटेड डिजाइन गर्ने र महँगोमा बेच्ने हो । नेपालमा पैसावाला निकै कम मानिस भएका कारणले हामीले महँगा सामान बेच्न सक्तैनौँ । 

फेसन भनेको दुलहीको लुगा

हामीकहाँ अझै पनि फेसन भनेको दुलहीको लुगा मात्र हो भन्ने सोच छ । नेपालमा त्यसबाहेक अन्य फेसन छैन । दैनिक जीवनमा डिजाइनर कपडा लगाइँदैन किनभने त्यो ज्यादै महँगो हुन्छ । विदेशका अर्बपतिले मात्र सायद डिजाइनर कपडा लगाउँदा होलान् ! 

हामीले दैनिकरूपमा लगाउने जिन्सलाई फेसन भनिँदैन । फेसन त तपाईंले विशेष डिजाइनमार्फत् केही भन्न खोज्नु भएको हुन्छ । त्यसैले दैनिक जीवनमा तपाईंले नेपालमा केही भन्न खोजेर पनि हुँदैन र त्यस किसिमको महँगो भनाइ पनि दैनिक राख्न गाह्रै हुन्छ । त्यै भएर नेपालमा विशेष अवसरमा मात्र डिजाइनर फेसन लगाइन्छ ।

पछिल्लो समयको फेसन

लेहेँगा, गाउन र सारीमा थोरबहुत डिजाइन गरी लगाउन थालिएको छ नेपालमा । यो नै फेसन हुन थालेको छ । विदेशतिर चाहिँ डिजाइनरले नै जिन्समा विशेष किसिमका स्टेटमेन्ट दिने हुन्छ र त्यस किसिमको जिन्सको मूल्य पनि राम्रो हुन्छ । नेपालमा त्यसको त कल्पना नै नगरे पनि हुन्छ ।

फेसन के हो त ?

फेसन ठाउँअनुसार बुझाइ फरक छ । पश्चिमा मुलुकमा फेसनबारेको बुझाइ एउटा छ भने अन्यत्र फरक छ । मेरो धारणामा चाहिँ फेसन डिजाइनरले डिजाइन गरेको कुरा मात्र फेसन हो, अरू सबै पहिरन हुन् । साधारण लुगालाई फेसन भनिँदैन । अफिसमा लगाउने लुगा, घरमा लगाउने लुगालाई फेसन भनिँदैन । डिजाइनरले विशेष गरी तयार पारेको पहिरन भने फेसन बन्छ । डिजाइनरले बनाएको सिम्पल सर्ट पनि त्यहाँ महँगो हुन्छ । 
त्यसैले नेपालमा अहिले चलिरहेको भनेकै बिहे र खासगरी दुलहीका लुगा नै फेसन हुन् ।

सेफको खाना र डिजाइनरको कपडा

त्यहाँ मैले देखेको र रमाइलो लागेको चाहिँ डिजाइनर आफू कल्पना गर्ने व्यक्ति भएर मात्र बस्दैन । उसलाई लुगा सिलाउन पनि आउँछ । सुरुमा आफूले सबै काम गर्छ, मिलाउँछ, हेर्छ अनि मात्र यसलाई ठूलो संख्यामा उत्पादन गर्ने वा नगर्ने अन्तिम चरणमा निर्णय गर्छ । नेपालमा चाहिँ निकै कम डिजाइनरलाई मात्र लुगा सिलाउन आउँछ होला तर विदेशमा त्यो एउटा चरण चाहिँ तपाईंले पार गर्नुपर्छ ।

फेरि त्यहाँको सिलाइ भनेको सामान्य हुँदैन, विशेष र विशेषज्ञ सिलाइ हुन्छ । जुन नेपालका हरेक कर्नरमा त्यस्तो विशेष किसिमको ज्ञान नहुन सक्छ । 

सामान्य रूपमा भन्दा डिजाइनर कपडा र बजारमा पाइने अन्य कपडाको फरक तपाईंलाई बुझाउनु पर्दा घरको खाना र एउटा राम्रो रेस्टुराँको सेफले बनाएको खानाबीचको जे फरक हुन्छ, डिजाइनरको कपडा र बजारमा किनिने कपडाको फरक त्यही हुन्छ । विशेषज्ञ सेफले धेरै कुरा विचार पु-याएर खाना बनाएको हुन्छ, त्यो विशेष अवसरमा मात्र हामीले खान सक्छौँ, घरको खाना भनेको दैनिक खान्छौँ । पहिरन र फेसन डिजाइनरको कपडाबीच यही फरक हो ।

फ्रान्सेली डिजाइनका कपडा र नेपाली कपडा

फ्रान्सेली विशेष कपडाहरू अधिकांशतः हातैले बुनिन्छन् । जुन किसिमले बुनिन्छन्, त्यो हर कोहीमा खुबी हुँदैन । नेपालका डिजाइन कपडाहरू हातैले बुनिएका पनि होलान् तर त्यसमा पोख्त हुनुपर्छ, फेरि भित्रको काम कसैले नोटिस गर्दैन । फ्रान्समा ओटकोटियर भन्ने शब्द प्रचलित छ, त्यो उच्च तहको डिजाइनलाई जनाउने शब्द हो । त्यहाँ ओटकोटियरलाई महŒव दिइन्छ । ओटकोटियरको सिलाइमा तह–तहको सिलाइ हुन्छ । एक चरण, दुई चरण गर्दै कैयौँ चरणमा मात्र ओटकोटियर पहिरन तयार हुन्छ । त्यसैले त्यो महँगो हुन्छ ।

फ्रान्समै पनि त्यस्तो पहिरन बनाउन दुई तीन महिना लाग्छ, पैसा अत्ति बढी लाग्छ । त्यसैले त्यसमा धैर्य र पैसाको आवश्यकता पर्छ । नेपालमा यस्तो सम्भव नै छैन । फ्रान्समै त ओटकोटियर दुर्लभ भइसक्यो भने यहाँ त्यो ब्युँताउन सम्भव छैन । एउटा लामो प्रोसेसको पहिरन हो त्यो । फेरि ओटकोटियर गार्मेन्टलाई नेपाली पैसामा रूपान्तर ग¥यो भने करोडसम्म पर्छ । 

तपाईंकहाँ त धनी नै आइपुग्छन् नि ?

हो, तर नेपालका धनी र युरोपका धनीमा धेरै फरक छ । उनीहरू अर्बपति हुन्छन्, लुगामा करोड खर्च गर्न सक्छन् । नेपालीहरू करोडपति हुन्छन् र बढीमा लाख खर्च गर्न सक्लान् । नेपाली धनीहरूको एउटा कुरा भने मलाई मन पर्छ, उनीहरू सस्तो कुरा खोज्छन् । उनीहरू एक दुईपटक लगाउने लुगामा धेरै खर्च गर्न रुचाउँदैनन् । त्यसलाई म सकारात्मक रूपमै लिन्छु । नेपाली करोडपतिहरू आलुप्याज किन्न जाँदा पनि बार्गेनिङ गर्छन् नि, हैन ? त्यो त सकारात्मक कुरा नै हो नि !

बार्गेनिङ गर्ने कुरालाई म नकारात्मक रूपमा लिन्नँ किनभने हामी एसियाली मानिसहरू बार्गेनिङ गर्न रुचाउँछौँ, त्यो हाम्रो कल्चरमै छ । 

मार्जिन राख्नै प-यो

हामी हुर्कंदै गर्दा वरिपरि जे देख्यो त्यही बानी पर्छ, त्यो स्वाभाविक पनि हो । त्यसैले थोरबहुत मार्जिन राखेर काम गर्नुपर्छ । म आफैँ पनि कैयौं ठाउँमा बार्गेनिङ गरिरहेको हुन्छु । त्यसैले मार्जिन राखिएन भने त हुँदै हुँदैन, घाटा लागिहाल्छ नि ! बाहिरतिर सबै कुरा फिक्स हुन्छ, त्यहाँ र यहाँका कुरा तुलना हुनै सक्तैन । उता चाहिँ मार्जिन ठीकै हुन्छ र बार्गेनिङ नै चल्दैन ।

आउनेबित्तिकै व्यस्त भइनँ

म अलि लजालु व्यक्ति छु । म चाँडै माथि जान रुचाउँदिन, भनाइको मतलब चर्चामा आउन रुचाउँदिनँ । त्यो चिरस्थायी होलाजस्तो पनि लाग्दैन । चर्चा त लामो समय काम गरिसकेको, जीवनमा केही गरिसकेको मानिस हुनुपर्छ । म नेपाल आउनेबित्तिकै मिस नेपालका लागि पहिरन डिजाइन गर्न सिफारिस गरिएको थियो तर मैले मानिनँ । म तुरुन्तै चर्चामा आएर हराउन चाहन्थेँ । बरु बिस्तारै काम गर्ने, राम्रो काम गर्ने र बिस्तारै चर्चा होस् र त्यो दीर्घकालीन होस् भन्ने चाहन्थेँ । अब अहिले बल्ल मैले बोल्न मिल्छ किनभने मैले केही काम गरेको छु, जुन कामले मलाई सन्तुष्टि दिएको छ । 

डिजाइनर भइसकेपछि आफ्ना ग्राहकलाई सन्तुष्ट पार्न सक्नुपर्छ । बाहिर होहल्ला हुने तर भित्र चाहिँ कामले सन्तुष्ट पार्न नसक्ने डिजाइनर भोलि हराइहाल्छ । त्यसैले हाम्रो मुख्य उद्देश्य नै कसरी राम्रो डिजाइनर बनाउने भन्ने ध्यान दिनुपर्छ । खास त्यही कारणले म यत्तिका समयसम्म बाहिर चर्चामा आइन, आउन खोजिनँ । (खासमा यस पटकको अन्तर्वार्ताका लागि पनि उनको समय मिलाउन निकै समय लागेको थियो ।)

एकैचोटि फेमस हुन म रुचाउँदिनँ, अँ कामले फेमस भएर मिडिया आकर्षित भए बेग्लै कुरा हो । खासमा कुनै पनि व्यक्तिले १० वर्ष कुनै काममा निरन्तर खटेको छ र उसले केही गरेको छ भने त्यो चाहिँ चर्चायोग्य व्यक्ति हो । यतिबेला बल्ल मैले मेरोबारेमा बोल्न सुहाउँछ ।

म अनुभवलाई सम्मान गर्छु । एक्कैचोटि आएर तहल्का मच्चाउन गाह्रो छैन तर एउटै काममा १०–२० वर्ष निरन्तर लागिपर्न र काम गर्न निकै गाह्रो छ । कमै व्यक्तिमा यस किसिमको धैर्य हुन्छ । अनुभवी मानिस र लामो समय सङ्घर्ष गरेका व्यक्तिलाई म त्यही भएर सम्मान गर्छु ।

डिजाइनर र बुटिकको फरक

बुटिकमा तपाईंले तयारी पोशाक लगाउनु हुन्छ । कुनै डिजाइनरले तयार पारेको पोशाक पनि तपाईंले त्यहाँ फेला पार्नुहुन्छ तर डिजाइनरसँग लुगा सिलाउनु र बुटिकमा भएका लुगा लगाउनुमा केही फरक छ । तपाईंलाई कुनै लुगा मन प¥यो, त्यो डिजाइनरले नै तयार पारेको हो र बुटिकले सिधा डिजाइनरसँग ल्याएको छ भने पनि त्यसमा थपथाप गर्न सक्नुहुन्न । मलाई यति चाहियो, यस्तो चाहियो, रङ मिलेन वा फलानो भनेर टिप्पणी गरेर त्यसलाई परिवर्तन गर्न सक्नु हुन्न । 

डिजाइनरसँग भने तपाईंको आकारप्रकारजस्ता सामान्य हेरफेर गर्न÷गराउन सक्नुहुन्छ । डिजाइनरले तपाईंका सबै कुरा बुझिसकेपछि रुचि र जिउडालअनुसारको डिजाइन तयार पार्छ । त्यसमा तपाईंले केही थपघट गर्नै पर्दैन । यत्ति फरक छ ।

तर नेपालमा चाहिँ डिजाइनरको कन्सेप्ट नै छैनजस्तो गरी यो मिलाउनुस्, त्यो रङ थप्नुस्, यो हटाउनुस् भन्ने आदेश दिनेको पनि कमी छैन । विदेशमा चाहिँ डिजाइनरले साह्रै हरिबल (तर्साउने किसिमको) डिजाइन बनाएर दिए पनि लगाउँछन् । उनीहरूमा डिजाइनरप्रति त्यस किसिमको रेस्पेक्ट र ट्रस्ट हुन्छ । नेपालमा अझै त्यो भइसकेको छैन ।

काठमाडौंको फेसन

मैले काठमाडौंमा कुनै पहिरन बेचेँ भने चार पाँच जनाभन्दा बढीलाई एउटा डिजाइन बेच्न सक्तिनँ किनभने यो साह्रै सानो ठाउँ छ र हरेक दोस्रो–तेस्रो मानिस एउटा पार्टीमा भेट भइहाल्छ । एउटै डिजाइनको परिहन धेरैलाई बेच्नु पनि हुँदैन, एउटा डिजाइनरको हिसाबले भन्दा । त्यो लिमिटेड एडिसनको भएकाले पनि महँगो हुने हो, हुन्छ नै । हुन पनि धेरै पैसा हालेपछि त्यो खोज्नु उसको धर्म पनि हो । खासमा म अरूको सुझाव कमै लिन्छु, उनीहरूको कमेन्ट मलाई साँच्चिकै मन प-यो, जेन्युन कुरा ग-यो भने मात्र हो नत्र मैले महिनौँ लगाएर सोचेको कुरामा परिवर्तन गर्ने वा छाँटकाँट गर्ने काम म गर्दिनँ । मलाई किन त्यस्तो लाग्छ भने डिजाइनरले खुट्टा टेकेन भने र अरूको लहलहैमा जे भन्यो त्यो चेन्ज गरिदियो भने ऊ डिजाइनर रहँदैन ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App