६ वैशाख २०८१ बिहीबार
कला

पियानाे मास्टर उपेन्द्रलालको नोस्टाल्जिया

काठमाडौं – चर्चित पियानोबादक उपेन्द्रलाल सिंहले एकसाथ सांगीतिक धुनहरूको सिडी नोस्टाल्जिया–२ र नोटेसन बुक बजारमा ल्याएका छन्। द हिडन ट्रेजरले गराएको जमघटमा संगीतकारहरू शुभबहादुर सुनाम र नोर्बु छिरिङले दुवै कृति विमोचन गरेका छन्।

नोटेसन बुक हिमालयन म्याप हाउसले प्रकाशन गरेको हो भने म्युजिक सिडी स्याक कम्पनीले। पुस्तकमा नेपाली र नेवारी भाषाका २० गीतको नोटेसन छ। त्यसैगरी सिडीमा १० वटा गीतको। यस अघि सिंहले नोस्टाल्जिया–१ निकालेका थिए।

नोटेसन बुकमा समाबेश गीतहरूमा असारै महिनामा, वितेका कुराले, चियाबारीमा, गहिरो गहिरो सागरजस्तै, गाजलुले आँखै छोप्ने, जागें सारा रात, जति माया लाए पनि, केही मिठो बात गर, किन यसरी, म मरे पनि, म मौनतामा, मलाई माफ गरिदेऊ, पहिलो जुनीमा, परेलीमा, राजमति, रेशम फिरिरी, सोल्टिनी भनी बोलाको, सोलिसे स्वये मगा, तारा मात्र, तिम्रो त्यो हँसिलो मुहारको बोलका गीत छन्।

नोटेसन बुकका आधारमा संगीतप्रेमीले यी गीतका धुन निकाल्न सक्नेछन् भने म्युजिक सिडी सुनेर सबै मुग्ध बन्न सक्छन् । संसारभरका विद्यार्थीलाई आफ्ना कृति उपहार भएको पियानोवादक सिंहले बताएका छन्।

हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिका अनुसार सन् २०१८ मा मुलुकभित्रका केही सहर र भारतीय सहरमा समेत एल्बम र नोटेसन बुक विमोचन गरिनेछ। म्युजिक फर एजुकेसन नाराकासाथ बिर्तामोड, धरान, बिराटनगर, हेटौंडा, नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, पाल्पा, पोखरा, दार्जिलिङ, सिलगुढी, ग्यान्टोक र सिक्किमसम्म सांगीतिक यात्रा गरिनेछ।

उपेन्द्रलाल तिनै पियानोबादक हुन् जसको व्याण्ड– उपेन्द्र एण्ड फ्रेन्ड्स विदेशमा समेत लोकप्रिय छ। त्यसले सन् २००७ देखि बर्सेनी जापानमा आयोजना हुने फूजी रक फेस्टिभलमा आफ्नो प्रस्तुती दिँदै आएको छ।

लोकसंगीतलाई पाश्चात्य संगीतसँग फ्युजन गराउँदै आएका छन् सिंहले। उनी पियानो मास्टरसमेत हुन्। उनी  थाइल्यान्डमा ८ वर्ष पियानो अध्ययन गरेर स्वदेश फर्किएका हुन्।

प्रकाशित: २९ जेष्ठ २०७५ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App