८ वैशाख २०८१ शनिबार
खेल

३७ कराते खेलाडी छानिए

काठमाडौं- इन्चोन एसियाडकी कांस्य जितेकी विमला तामाङसहित ३७ खेलाडी तेस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपलाई शनिबार छनोट भएका छन्। सिनियर, जुनियर र क्याडेटमा गरी ३७ खेलाडी भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २२ देखि २६ सम्म हुने च्याम्पियनसिपका लागि छनोट भएका हुन्।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य फत्तबहादुर गुरुङ संयोजक रहेको छनोट समितिद्वारा आयोजित प्रतियोगिताको सिनियर महिला एकल काताको फाइनलमा बालाजु डोजोकी विमलाले सुदूरपश्चिमकी सर्शा साधुलाई पाखा लगाइन्। विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुदको एकल कातामा कांस्य पदक जितेकी थिइन्।

महिला टिम कातामा बालाजु डोजोकै विमलासहित कृपा गुरुङ र सुनिभा श्रेष्ठ छनोट भए।

सातदोबाटोमा सम्पन्न प्रतियोगिताको सिनियर महिला ४५ केजीमा सुदूरपश्चिमकी सर्शा साधु, ६१ केजीमा वादोरियोकी रुपा महर्जन, ५५ केजीमा पूर्वाञ्चलकी आस्था राई तथा ५० केजीमा मध्यमाञ्चलकी एलिना बिक विजयी हुँदै छनोट भए।

सिनियर पुरुष ५० केजीमा बालाजुका मनीष थापा, ६० केजीमा बालाजुका राजकुमार रसाइली, ६७ केजीमा बालाजुकै नवीन रसाइली, ७५ केजीमा पश्चिमाञ्चलका चन्द्र बुढा, ६८ केजीमा पूर्वाञ्चलका रोशन धामी तथा ८४ केजीमा बुढानीलकण्ठका अविनाश चौधरी छानिए।

सिनियर पुरुष एकल कातामा सुदूपश्चिमाञ्चलका ललित खत्री तथा टिम कातामा पश्चिमाञ्चलका चन्द्र बुढा, निर्मल पुन र सुमन पाइजा छनोट हुन सफल भए।

एकदिने छनोट प्रतियोगितामा २ सय ७ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १९ भाद्र २०७३ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App