८ वैशाख २०८१ शनिबार
अर्थ

कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीको माग

काठमाडौं – घरजग्गा व्यवसायीले रोकिएको कित्ताकाट खुलाउन माग गरेका छन् । कित्ताकाटमा प्रतिबन्धले गर्दा सरकारी नियम, कानुनको परिधिमा रहेर व्यवस्थित जग्गा प्लानिङमा अर्बौं लगानी गरेका व्यवसायी डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ।

‘उक्त निर्णयले घरजग्गा व्यवसायी मात्र होइन सर्वसाधारणले पनि औषधि उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि पुख्यौली सम्पत्ति बेच्न पाएका छैनन्,’ नेपाल जग्गा तथा आवास विकास संघले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव मीनमान श्रेष्ठले भने, ‘सरकारबाट स्वीकृति पाएका २० वटा जग्गा प्लानिङ परियोजनाले कित्ताकाट गर्न पाएका छैनन् ।’

संघले असार १ देखि ५ गतेसम्म आयोजना गर्न लागेको प्रोपर्टी एक्स्पोको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेको हो । पोहोर साउन २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट एउटै जग्गा वर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न नपाइने नियम लागू भएको छ । उक्त निर्णयअनुसार कृषियोग्य जमिन वर्षमा एकपटकभन्दा बढी कित्ताकाट गर्न पाइँदैन।

घरजग्गा व्यवसायी भने २१ सालको भूमिसुधारको वर्गीकरणलाई आधार मान्दा घर बनाएर बस्नयोग्य जग्गा देशभरी नभएको बताउँछन् । ‘२१ सालमा जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी चार वर्गमा विभाजन गरिएको थियो । अब्बल, दोयम र सिम तीनवटै कृषि भूमि हो । पखेरो, वनजंगल चाहारमा पर्छ । त्यसकै आधारमा कृषिभूमि मान्ने हो भने वनजंगल र भिरपाखामा बनाउनुपर्ने हुन्छ,’ पत्रकार सम्मेलनमा महासचिव श्रेष्ठले भने । दुई खर्ब लगानी भएको व्यवसाय ठप्प हुँदा सरकारले पाउने राजस्व पनि गुमाइरहेको श्रेष्ठको भनाइ थियो।

संविधानले नागरिकलाई आवासको अधिकार प्रत्याभूत गरेको सन्दर्भमा धितो मूल्यांकनको ६० प्रतिशतसम्म मात्र घरकर्जा दिने प्रावधान उचित नभएको महासचिव श्रेष्ठले बताए । विश्वका कतिपय मुलुकमा १५–२० प्रतिशत धितोमा कर्जा पाइने दाबी गरेका उनले नेपालमा उल्टो चलन रहेको बताए ।

पछिल्लो समय भूमिसुधार मन्त्री र प्रधानमन्त्रीलाई आफूहरुले समस्या अवगत गराएको र उनीहरुले सकारात्मक आश्वासन दिएको पनि श्रेष्ठले जानकारी गराए । औद्योगिक व्यवसाय ऐनले उद्योग मानेको घरजग्गा व्यवसायलाई अनुत्पादक क्षेत्र भन्ने गरेकोमा पनि उनले असन्तुष्टि जनाए ।संघका अध्यक्ष इच्छाराज तामाङले घरजग्गा व्यवसायीले व्यवस्थित सहरीकरण र सुरक्षित आवास निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै रोकिएको कित्ताकाट खुलाउनुपर्नेमा जोड दिए।

एनआइसी एसिया बैंक प्रायोजक रहेको एक्स्पोका संयोजक विपिन चित्रकारले यसको तयारी पूरा भएको जानकारी गराए । मेलाले वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा योगदान गरिरहेका व्यवसायीका उत्पादनलाई उपभोक्तामाझ पुर्याउने र उपभोक्ताले नेपाली रियल स्टेट व्यवसायको यथार्थ स्थिति, सही छनोट र समुचित मूल्यबारे जानकारी पाउने उनले बताए।

यसपटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आ–आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक र बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी हुँदैछन्।मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरिवेयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामान र बिमा, बैंकिङ र वास्तुकला का पनि स्टल हुनेछन्।

मेला अवधिमा उत्पादन तथा सेवा सुरु गर्न चाहनेका लागि पनि आवश्यक व्यवस्था मिलाइएको चित्रकारले जानकारी दिए ।
यसपालि एक्स्पोका क्रममा दुईवटा हाउजिङ समिट हुने र त्यसमा विश्वविख्यात आर्किटेक्ट तथा विज्ञहरुले प्रस्तुति दिने समिट संयोजक संगिता सिंहले जानकारी दिइन् । उनका अनुसार सहरीकरण र हाउजिङका विषयमा बहस चलाउने उद्देश्यले समिट आयोजना गरिएको हो।

प्रकाशित: २९ जेष्ठ २०७५ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App