coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको आलोचना

सुर्खेत- कर्णाली प्रदेशका सांसदहरुले कर्णालीको आवश्यता अनुसारको नीति तथा कार्यक्रम आउन नसकेको बताएका छन्। उनीहरुले पूरा हुन नसक्ने कार्यक्रम ल्याएर प्रदेश सरकारले जनतालाई भ्रममा पार्न खोजेको आरोप पनि लगाए।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीका १० जिल्ला मध्ये दुई जिल्ला अझै राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको अवस्थामा जनतालाई सरकारले रेलको सपना देखाउन थालेको आरोप लगाए। ‘दुई जिल्ला र अन्य स्थानीय तहलाई कसरी सडक सञ्जालसँग जोड्ने हो त्यसतर्फ ध्यान दिनुको सट्टा जनतालाई रेलको सपना देखाउनुले यो नीति तथा कार्यक्रम कपोकल्पित र पाना भर्नका लागि मात्रै ल्याइएको पुष्टी हुन्छ’ उनले भने, ‘पूरै हुन नसक्ने कार्यक्रम ल्याइनु हुन्नथ्यो।’

शाहीले नीति तथा कार्यक्रमले प्राथमिकता निर्धारण गर्न नसेकेको बताए। उनले अहिलेकै आर्थिक स्रोतले एक सय दिने रोजगारी, प्रतिव्यक्ति आय, एकीकृत बस्तीलगायतका कार्यक्रम पूरा हुनै नसक्ने बताए। कांग्रेस संसदीय दलका नेता शाहीले अन्तराष्ट्रिय स्तरमै प्रतिवन्धीत चरेस उत्पादनलाई प्रदेश सरकार बैद्यता दिन लागेको भन्दै आपत्ती जनाए।

नीति तथा कार्यक्रमको १०७ नम्वरको बुँदामा ओखर, ढंटेलो, खमु, चुली, जैतुन, जटामासी, भाँगोलगायतका वस्तुहरुको तेल उत्पादन गरी पैठारी गर्ने उल्लेख छ। ‘अन्तराष्ट्रिय स्तरमै प्रतिवन्धीत बस्तुलाई प्रदेश सरकारले उत्पादन गरेर विक्री गर्छु भन्छ’ उनले भने, ‘यो भन्दा ठूलो आश्चर्य के हुनसक्छ?’

नेपाल कम्युनिष्ट पार्टीका सांसद गुलावजंग शाहले नीति तथा कार्यक्रमको मूख्य लक्ष्य प्रष्ट नभएको बताए। ‘प्रदेश सरकारले अहिलेको नीति तथा कार्यक्रममा कानुन र संरचना निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु पर्दथ्यो’ उनले भने, ‘कानुन निर्माण र संरचना निर्माण नहुँदासम्म सरकारले लिएका लक्ष्य पूरा हुन सक्दैनन् ।’ उनले बाँझो जमिन भाडामा लिने नीति हटाउन आग्रह गरे । ‘पहाडी क्षेत्रहरुमा खेती–किसानी गर्नेहरुको संख्या घट्दै गएको छ, अधिकांस खेतियोग्य जमिन बाँझा छन्, यो नीतिले अझ समस्या ल्याउँछ’ उनले भने, ‘खेतियोग्य जमिन बाँझो नराख्ने गरेर नीति तथा कार्यक्रम ल्याइनुपर्छ ।’

सांसद कृष्णा शाहले नीति तथा कार्यक्रम शैद्धान्तिक रुपमा मिठासपूर्ण भएपनि व्यवहारिक रुपमा क्षमताभन्दा बाहिर रहेको बताइन्। उनले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई नीति तथा कार्यक्रमले नसमेटिएको बताइन्।

वीरेन्द्रको शालिक राख्न माग

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले वीरेन्द्रनगरको वीरेन्द्रचोकमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राख्न माग गरे। ‘हामीले वीरेन्द्रकै नाममा रहेको वीरेन्द्रनगरलाई प्रदेशको राजधानी घोषणा गरिसकेका छौं’ उनले प्रश्न गरे, ‘नाम राख्न मिल्ने शालिक राख्न किन नमिल्ने ?’ जनआन्दोलनका क्रममा वीरेन्द्रचोकको शालिक भत्काइएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७५ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App