१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु

काठमाडौं– दुईवटा नागरिकता लिई किर्ते गरेको पुष्टी भएपछि समाज कल्याण परिषदका कायम मुकायम निर्देशक शिवबहादुर बस्नेत माथीको कारवाही प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले गत ८ गते नै निर्देशक बस्नेतले दुईवटा नम्वरमा दोहोरो नागरिकता लिएको प्रमाणित गरि दिए पछि निर्देशक वस्नेत माथी कारवाही प्रक्रिया अघि बढाइएको हो ।

जसका लागि सहसचिव वीरवहादुर राईको संयोजकत्वमा छानविन समिति गठन गरी कारवाही गर्ने प्रक्रिया अघि बढाईएको महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव ङईन्द्र उपाध्यायले वताए । ‘निर्देशक बस्नेतले दुईवटा नागरिकता लिएको प्रमाणित भएको छ, अव कसरी कारवाही गर्ने ? भन्नेमा छानविन हुदैँछ,’ सचिव उपाध्यायले नागरिकसँग भने, ‘छानविन सकिने बितिक्कै कारवाहीलाई टुंगोमा पु-याउने छौं ।’ उनका अनुसार केही दिन भित्रमा नै सहसचिव राई नेतृत्वको आन्तरिक छानविन समितिले प्रतिवेदन दिए लगत्तै वस्नेतमाथी कारवाही टुंगोमा पुग्नेछ । गत जेठ १८ गते ४७३० दर्ता नम्वरमा मन्त्रालयमा उजुरी परे लगत्तै निर्देशक वस्नेतको नागरिकता छानविन गर्नका लागि राईको नेतृत्वमा समिति बनाइएको हो । 

जिल्ला प्रशासन कार्यालय ललितपुरले वस्नेतको नागरिकता वारेमा छानविन गरी गत जेठ ९ गत नै सोको जानकारी गृह मन्त्रालयमा समेत पठाएको छ, सो पत्र अनुसार निर्देशक वस्नेतले पछिल्लो पटक लिएको नागरिकता भने रद्धसमेत गरिदिएको छ । ‘ललितपुर जिल्ला सुनाकोठी गाविस–२ वस्ने शिवकुमार वस्नेतले मिति २०३५ फागुन २८ गते नाप्रन १२६९/०३५/०३६ र मिति २०४४ माघ ११ गते मा नाप्रन २÷२०५ मा दोहोरो नागरिकता प्रमाणपत्र लिएको कारवाही गरिपाउँ भनि यस कार्यालयमा परेको उजुरीको सवन्धमा’ गृहमा पठाइएको पत्रमा भनिएको छ, ‘निज शिवकुमार वस्नेतले पछिल्लो पटक लिएको देहाय बमोजिमको नागरिकता प्रमाणपत्र नेपाल नागरिकता ऐन २०६३ र नेपाल नागरिकता प्रमाणपत्र वितरण कार्यविद्यि निर्देशिका २०६३ को ३४ (३) बमोजिम रद्ध गर्ने भनि मिति २०७५ जेठ ८ (प्रजिअस्तर)मा व्योहोरो अनुरोध छ ।’ वस्नेतले दुईवटा नागरिकता लिएर किर्ते गरेको प्रमाणित गरेता पनि कारवाहीको प्रक्रियाका वारेमा भने जिप्रका ललितपुर मौन देखिएको छ । 

अघिल्लो नागरिकता प्रमाणित गरेकाले निर्देशक वस्नेतको पद स्वतः खारेज भइसकेको हुनुपर्ने थियो तर बस्नेत अझै कार्यालय आउजाउँ गरिरहेका छन । दोस्रो नागरिकता खारेज नगरि दिएको भए वस्नेतको कार्यकाल आगामी फागुन १५ गतेसम्म रहने अवस्था हुने थियो । नागरिकता किर्ते गरेको आरोपमा केही समय अघि तत्कालिन प्रधानन्यायधिस गोपाल पराजुली पदच्युत भएका थिए तर बस्नेतलाई भने अझै जिम्मेवारी थपिदैछ ।

परिषद स्रोतका अनुसार विभागीय मन्त्री थममाया थापामगर र सदस्य सचिव डिल्ली भट्टलाई प्रभावमा पारेर निर्देशक बस्नेतले थप जिम्मेवारी लिएका हुन । बस्नेतलाई कारवाही गर्नुको सट्टा मन्त्री थापामगर र सदस्य सचिव भट्टले योजना शाखा र प्रशासन शाखाको थप जिम्मेवारी दिएका छन । जसकाकारण निर्देशक वस्नेतमाथी नागरिकता ऐन अनुुसार कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (दर्ता नम्वर १९०७१) गत जेठ १८ गते उजुरी दिइएको छ भने सो उजुरी राष्ट्रिय सतकर्ता केन्द्र र केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)मा समेत उजुरी परेको छ ।

नेपाल नागरिकता ऐन २०६३ मा कुनै पनि नेपाली नागरिकले दोहोरो नागरिकता लिन नपाउने स्पष्ट व्यवस्था छ ।  सो ऐनको दफा १३ मा दोहोरो नागरिकता लिन नपाउने उल्लेख गर्दै त्यस्तो कार्य गर्नेलाई कानुनतः दण्ड वा सजाय भोग्नै पर्ने गरी कानुन वनाइएको छ । 

‘कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीसहजारदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ ऐनमा भनिएको छ । सचिव उपाध्यायले कानुन अनुसार नै वस्नेत माथी आवाश्यक कारवाही गरिने वताएका छन ।

मन्त्रालयका सहसचिव वीरवहादुर राईले छानविन सम्पन्न भए लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई रिर्पोट बुझाउने वताए । ‘छानविन अन्तिम अवस्थामा पुगेकाले निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई रायसहित रिर्पोट बुझाउँदै छौं’ छानविन समितिका संयोजक राईले नागरिकसँग भने । उनका अनुसार अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गर्ने कार्य अघि बढाउनेछ । 

प्रकाशित: २८ जेष्ठ २०७५ १३:०८ सोमबार

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु