coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

संकटा र लुम्बिनी भिड्ने

काठमाडौं- सिएमजी क्लब संकटा र जगदम्बा लुम्बिनी फुटबल क्लब राजधानीमा जारी ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनल भिड्ने भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार संकटाले लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई ३–१ ले र लुम्बिनीले बुद्ध एयर मोरङ फुटबल क्लबलाई २–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए।

पहिलो खेलमा पेनाल्टी गोलमार्फत संकटाले खेलमा अग्रता लियो। १६ औं मिनेटमा मनाङका रक्षकले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको हो। सुमन डंगोलले पेनाल्टीमा गोल गरे। ३९ औं मिनेटमा सुजन महर्जनले गोल थपेपछि संकटाले २–० को अग्रता बनायो। सुजनले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए।

मनाङले ७८ औं मिनेटमा गोल फर्काएपछि खेल रोमाञ्चक बन्यो। रोशन न्यौपानेले फ्रिकिकमा गोल गरे। उनको फ्रिकिक बचाउन संकटाका गोलकिपरले कुनै मौका पाएनन्। त्यसपछि पनि मनाङले बराबरी गर्ने अवसर पाएको हो सफल हुन सकेन। विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै सुमनले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेपछि मनाङको खेलमा फर्कने सम्भावना टुंगियो।

संकटाका प्रशिक्षक देवेन्द्रजंग शाहीले लक्ष्यअनुरुप सफलता मिलेको बताए। 'हामी जितका लागि आएका थियौं। त्यसमा सफल हुँदा स्वाभाविक खुसी लाग्छ,' उनले भने, 'खेल अवधिभर हाम्रो प्रदर्शन पनि स्तरीय रह्यो।'

अर्को खेलमा १–० ले पछि परेर पनि लुम्बिनी क्लब खेल उल्टाउन सफल भयो। ३२ औं मिनेटमा मिलन धिमालले गोल गर्दै मोरङलाई अघि बढाए। परिवर्तित खेलाडी अनुप गुरुङले ५४ औं मिनेटमा बराबरी गोल गर्दै लुम्बिनीलाई खेलमा फर्काएका थिए। त्यसको पाँच मिनेटपछि नै तेजेन्द्र पुनले गोल गरे। त्यही गोल निर्णायक बन्यो।

लुम्बिनीका प्रशिक्षक विकास गुरुङले पानीले एस्ट्रोतर्फ भिजेका कारण त्यसमा खेल्न खेलाडीलाई कठिन भएको बताए। 'त्यस बाबजुद पनि हाम्रा खेलाडीले दोस्रो हाफमा राम्रो खेले,' उनले भने, 'संकटाविरुद्ध पनि हामी यही लय कायम राख्न चाहन्छौं।'

मोरङका प्रशिक्षक उत्तरकुमार खवासले टोलीका खेलाडीको चोटले नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए। 'हामीले योजनाअनुरुप नै खेलेका थियौं। तर, हाम्रा मुख्य चार खेलाडी नहुँदा त्यसको मूल्य चुकाउनुपर्‍यो,' उनले भने, 'दोस्रो हाफमा हामी अलि बढी रक्षात्मक पनि भयौं। जसका कारण गोल खायौं। पछि खेलमा फर्कन कठिन भयो।'

प्रकाशित: ९ असार २०७३ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App