८ वैशाख २०८१ शनिबार
समाज

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

रौतहट– १२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्। शनिबार राति कटहरीया नगरपालिका ९ डुमरियावाट अपहरित दिलिप साहका १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको हत्या गरेर फालिएको अवस्थामा सोमबार विहान शव फेला परेको थियो।

आफ्नै घरमा दुई दिदीको बीचमा सुतिरहेका साहलाई छिमेकी वडाध्यक्ष रामअज्ञा राय यादवको योजनामा अपहरणपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। वडाध्यक्ष यादवका छोरा शक्ति यादव, बृन्दावन नगरपालिकाको आकरपाथर टोलका रवी पटेल र विनोद पटेलको बयानबाट बालक अपहरण र हत्याको योजना वडाध्यक्षले नै बनाएको खुलेको हो।

बालकको अपहरणसँगै काकाका छोरा निरन्जन जयसवालले प्रयोग गर्ने ९८५५०२८३०६ नम्बरको मोवाइल समेत अपहरणकारीले लगेका थिए। सोही मोबाइलबाट अपहरणको करिब १२ घण्टापछि अपहरित बालकका पिता दिलिप साहको ९८२१२७७६१६ नम्बरको मोवाइलमा फोन गरी अपहरणकारीले १ करोड रुपैया फिरौती माग गरेको थियो।

आफूहरु त्यति तिर्न नसक्ने बताएपछि करिब २ घण्टाको पटक पटकको वार्तालाप पछि पाँच लाख रुपैयामा बालकलाई अपहरण मुक्त गर्ने मोटामोटी डिल भइसकेको थियो। अपहरणकारीले दुई घण्टा पछि पैसा लिएर कुन ठाउमा पुग्ने भन्ने बताएर सम्पर्कविहिन भएका थिए।

आइतबार राति करिब साढे ११ बजेको समयमा वडाध्यक्ष यादवका भाई रामबालक यादवले अपहरित बालकका काका ओमप्रकाश जयसवालको मोबाइलमा फोन गरेर आफ्नै भतिजहरुले बालक अपहरण गरेको र बालकलाई फिर्ता गराउन आफू तयार रहेको बताएपछि अपरिहत बालकका काका ओमप्रकाशले इलाका प्रहरी कार्यालय गरुडालाई खबर गरेका थिए।

बडाध्यक्षका भाइ रामवालक यादवलाई ओमप्रकाशले बोलाएर इलाका प्रहरी कार्यालय गरुडालाई समेत साथमा लिई यादवले देखाएको ठाउँमा आइतबार राति १ बजे प्रहरी टोली पुग्यो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादव र इप्रका गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाको संयुक्त नेतृत्वमा प्रहरीको टोली यादवले देखाएको गरुडा नगरपालिका ४ को वडा कार्यालय नजिकैको घरमा अपहरणकारीहरु सुतेको भनेपछि प्रहरीले उक्त घरलाई घेरा हालेको थियो। घेरा हालेर घर सर्चगर्दा स्थानीय रामधेनी साह बनियाको घरबाट वडाध्यक्ष यादवका छोरा शक्ति यादव, बृन्दावन नपाको आकरपाथरटोलका रवी पटेल र विनोद पटेललाई प्रहरीले नियन्त्रणमा लिन सफल भए।

पक्राउपछि तीनै जनाले बालकलाई गोली हानी हत्या गरेर फालेको स्वीकार गरेका थिए। पक्राउ परेका तीनै जनाले अपहरण र हत्यामा ७ जनाको संलग्नता रहेको स्वीकार गरेका छन्। निजहरुले नै दिएको वयानको आधारमा डुमरियाकै प्रविण यादव, सुनिल यादव र वडाध्यक्ष रामअज्ञाराय यादव पक्राउ परेका छन्। घटनामा संलग्न एक जना फरार रहेको र उनको खोजकार्य प्रहरीले गरिरहेको इप्रका  गरुडका प्रहरी निरिक्षक ओझाले बताएका छन्।

अपहरणकारीहरुले २० दिनदेखि बालकको रेकी गरेको स्वीकार गरेका छन्। अपहरणकारीहरुले आफूहरु तुरुन्तै पैसा कमाएर धनी हुन चाहेकोले वालकको अपहरण गरी एक करोड रुपैया फिरौती मागेको बताएका छन्।

अपहरणको योजना वनाएपछि राति नै अपहरण गरी सुविधायुक्त ठाउमा लैजान सकिने देखेर अपहरणको पहिलो घटना गराएको अपहरणकारीले बताएका छन्। बालकलाई अपहरण गरी दिनभर बागमतीको एकान्त कुनामा राखेको र प्रहरीले पर्सा, बारा, रौतहट र सर्लाहीका सम्पुर्ण युनिट सक्रिय भएर अपहरणकारीको खोजीमा जुटेपछि डराएका अपहरणकारीहरु आइतबार साझ बालकको टाउकोमा गोली प्रहार गरी हत्या गरेर सुरक्षित हुन खोजेका थिए।

तर पाप धुरीबाट कराउछ भने जस्तै अपहरणको याजनामा संलग्नमध्ये एकले नै सबै कुरा बताएपछि अपहरणमा संलग्न सात जना पक्राउ परेका छन्। 

अपहरणकारीहरुले देखाएकै ठाउँ गढीमाई नगरपालिका वडा नम्बर ५ बलुवामदनपुर टोल नजिक बागमती नदीमा लगाइएको तटबन्धको छेउबाट प्रहरीले बालकको शव बरामद गरेका छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी रबीन्द्र केसीले बताए।

सपना तुहियो, गाउँ नै शोकमा  

अपहरण पश्चात बालकको हत्या गरिएपछि गाउ नै शोकमा डुवेको छ। बालक मातापिताका एक्ला छोरा थिए। दुई छोरीपछि जन्मिएको बालकलाई भविष्यमा डाक्टर बनाउने सपना आमा बु्वाले देखेका थिए। बालकका वुवा दिलिप आफैं अहेव र आमा बविता साह गाउँकै स्वास्थ्य चौकीमा सरकारी अनमी हुन्। दुवै जनाले आफ्ना दुई छोरी र छोरालाई डाक्टर बनाउनकै लागि नेपाल प्रहरी स्कुल गरुडामा पढाइरहेका थिए। जेठी छोरी कक्षा १० कान्छी छोरी पाच र छोरा कक्षा ४ मा पढदै थिए। यो घटनापछि आमा घरीघरी बेहोस हुने र घरी मेरो सपना तुहिएको बताउँदै आएकी छिन्।

प्रकाशित: २८ जेष्ठ २०७५ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App