coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक । तस्बिर : नागरिक

रसुवा– वर्षातको समयमा राजमार्ग नियमित सञ्चालनका लागि कार्ययोजना निर्माण गरिएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने राजमार्गमा वर्षातको समयमा पनि सवारीसाधन निर्वाध रुपमा सञ्चालन गर्नका लागि कार्ययोजना निर्माण गरिएको हो। 

रसुवाखण्डको बेत्रावतीदेखि रसुवागढीसम्मको सडकलाई दुई भागमा वर्गीकरण डिभिजन सडक कार्यालय र जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनालाई जिम्मेवारी तोकिएको छ। सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कार्यालय र जलविद्युत आयोजनालाई निश्चित क्षेत्र तोकेको छ। 

वर्षातको समयमा पहिरोले अवरुद्ध गरेको सडक बेत्रावतीदेखि स्याफ्रुसम्म डिभिजन सडक कार्यालय नुवाकोटले र स्याफ्रुबेसीदेखि रसुवागढीसम्म रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले खुलाउने छन्। यसका लागि कार्यालय र जलविद्युत आयोजनाले कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। डिभिजन सडक कार्यालयले मुलखर्कमा स्काभेटर र धुन्चेमा लोडर राख्ने छ। 

असारको पहिलो साताभित्र स्काभेटर, लोडर र ट्रिपर तोकिएको स्थानमा राखिने बताइएको छ। वर्षातको समयमा अवरुद्ध भएको सडक खुलाउनका लागि जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। 
मनसुन आपतकालिन कार्ययोजना निर्माण 

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले मनसुन आपतकालिन योजना निर्माण गरेको छ। मनुसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम रहेका स्थानको पहिचान गरी विपद् प्रतिकार्य योजना निर्माण गरिएको हो। 

जिल्लामा पहिरोको जोखिम उच्च रहेको र बाढीको जोखिम समेत केही स्थानमा रहेकोले सम्भावित जोखिम अनुसार कार्ययोजना निर्माण गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। कार्ययोजना अनुुसार नौँ वटा विषयक्षेत्र तोकिएको छ। 

समन्वय, खोजी तथा उद्धार, खाद्य तथा कृषि, आपतकालिन आश्रयस्थल तथा गैर खाद्य सामग्री, आपतकालिन स्वास्थ्य तथा पोषण, आपतकालिन शिक्षा, खानेपानी, स्वास्थ्य तथा सरसफाई, आपतकालिन संरक्षण, बन्दोबस्ती र तत्कालिन पुनर्लाभ गरी नौ वटा विषय राखिएको समितिले जनाएको छ। 

विपद्को समयमा सहयोग नगर्ने संस्था खारेज

विपद्को समयमा सहयोग नगर्ने गैरसरकारी संस्थाको दर्ता खारेज गरिने भएको छ। समितिले दिएको जानकारी अनुसार विपद्को क्षेत्रमा काम गर्नका लागि जिल्ला भित्रिएका तथा जिल्लामा दर्ता भएका गैरसरकारी संस्थाले सहयोग नगरेमा दर्ता खारेज गरिने छ। 
विपद्को क्षेत्रमा काम गर्न स्वीकृती लिएका संस्थाहरुलाई आफू अनुकुल मात्र काम गर्न छुट नहुने  समितिले जनाएको छ। ‘विपद्को काम गर्नका लागि भनेर संस्था दर्ता गरेपछि विपद्को समयमा कार्य गर्नु उहाँहरुको कर्तव्य हो’, समितिका अध्यक्ष पौडेलले भने, ‘यसका लागि हामी निरन्तर समन्वय गरिरहन्छौं।’ 

घटना घटेको पाँच मिनेटभित्र एसएमएस पठाइने 

वर्षातको समयमा घटना घटेको जानकारी प्राप्त भएको पाँच मिनेट भित्रै एसएमएस मार्फत जानकारी गराइने भएको छ। घटना घटेको जानकारी जिल्ला प्रशासन कार्यालयमा आएको ५ मिनेट भित्रै जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र विपद्को क्षेत्रमा क्रियाशील संघसंस्थालाई एसएमएस मार्फत जानकारी गराइने समितिका अध्यक्ष एवं प्रजिअ पौडेलले बताए। 

प्रकाशित: २८ जेष्ठ २०७५ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App