८ वैशाख २०८१ शनिबार
समाज

‘लिफ्ट’बाट गाउँमा खानेपानी

बागलुङ - गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पुर्याएको छ।तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो। रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी आयोजनाबाट ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

पानीको स्रोत बस्तीदेखि तल हुँदा स्थानीयवासी खानेपानीको सहज पहुँचबाट वञ्चित थिए । धेरै समय खर्चेर र पालो कुरेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष रिमबहादुर राना कुमालले बताए। “खानेपानीकाे ठूलो दुःख थियो”, उनले भने, “आयोजना बनेपछि गाउँले खुशी छन् ।” गलकोट नगरपालिकाको रु दुई लाख र उपभोक्ताको चन्दा तथा श्रमदानबाट रु डेढ लाख गरी कूल रु तीन लाख ५० हजारको लागतमा निमार्ण गरिएकाे छ।

पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिले पनि रु १० हजार चन्दा सहयोग गरेको थियो । मूलबाट तानेको पानीलाई जम्मा गर्न १९ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । कुमाल बस्तीमा चौबीसै घण्टा खानेपानीको सुविधा पुगेको वडाध्यक्ष डम्बर श्रीसले बताए। आयोजना निर्माणका लागि वडा तहबाटै योजना सिफारिस भएको थियो । “वार्डले समस्या पहिचान गरी तत्काल आयोजना बनाउन पहल गरेको हो”, अध्यक्ष श्रीसले भने।

नगरपालिका, वडा र उपभोक्ताको संयुक्त लगानी र पहलमा आयोजना सम्पन्न भएको हो। खानेपानी पुगेसँगै स्थानीयवासीलाई अन्य आयआर्जनका गतिविधिमा जोड्ने योजना रहेको वडाध्यक्ष श्रीसले बताए। बस्तीदेखि तल स्रोत भएका ठाउँमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना प्रभावकारी देखिएको छ । जिल्लाका अन्य ठाउँमा पनि यस्ता आयोजनाबाट खानेपानीको सुविधा पुर्याइएको छ।रासस

 

प्रकाशित: २८ जेष्ठ २०७५ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App