राष्ट्रिय पुनर्निर्माण महाअभियान क्षेत्रमै बिजोग

सोमबार, २८ जेठ २०७५, ०९ : ३७ शिवहरि घिमिरे  | @shivsamir

15


एउटै प्रकारका छाना भएका करिब १३ सय परम्परागत शैलीका घर । प्रत्येक घर बालबालिका र अपांगमैत्री । बस्ती प्रवेश गर्नेबित्तिकै भेटिने प्राचीन शैलीको ढोका।

बस्ती छेउछाउ पार्किङसँगै खुुला ठाउँ । भूकम्पले क्षति पुर्याएको ललितपुरको परम्परागतशैलीको बस्ती बुङमती र खोकनालाई यस्तै बनाउने योजना र खाका अघि सारेका थिए, विभिन्न निकायले ।प्राचीन र परम्परागत शैलीको यो बस्तीलाई ०७२ को भूकम्पले ठूलै क्षति पुर्यायो । बस्तीको पुरानो साख जोगाउन पुनर्निर्माणको विभिन्न योजना अघि सारिए ।

ती योजना सरकारी निकाय, गैरसरकारी संस्था र स्थानीय तवरबाट आएका थिए । तीमध्ये कुनै पनि योजनाले पूर्णता पाएनन् । बरु बस्ती पुनर्निर्माण कार्य पछि धकेलिँदै गयो । पुनर्निर्माणको योजना बनाएर आएका निकायबीच हानाथाप चल्यो । कसैले पनि ढलेको बस्ती उठाएर पालमा बसेका पीडितलाई घरको बास दिन सकेनन् । बस्ती पुनर्निर्माणको योजना र डिजाइन कागजमै सीमित छन्।हालसम्म आएका विभिन्न योजना व्यावहारिक हुुन्थे भने यी दुवै बस्तीको पुरानो रूप पहिलेकै अवस्थामा फर्कन्थ्यो ।बुङमती क्षेत्रमा आठ सय ५३ घरलाई भूकम्पले पूर्ण क्षति पुर्याएको थियो ।

भूकम्पअघि यो बस्तीको स्वरूप परम्परागत थियो । झिँगटी र इँटा–माटोका एकनासका पुराना घर, बस्ती बीचमा रातो मछिन्द्रनाथ मन्दिर– यो नेवारी बस्तीको बेग्लै मौलिकता थियो ।भूकम्पले चिराचिरा परेका कतिपय घरको अझै पनि भग्नावशेष हटाइएको छैन । बुङमतीवासी आफ्नो बस्तीलाई पुरानै अवस्थामा फर्काउन आतुर छन् । दुवै बस्तीको परिचय कसरी फर्काउने ? खोकना र बुङमतीवासी पीरमा छन् ।  भूकम्पले क्षतविक्षत पारेको बस्तीलाई पुरानै स्वरूप दिएर सांस्कृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा चिनाउन उनीहरू चाहन्छन् ।

तर, उनीहरूको एक्लो प्रयासले बस्ती उठ्न सक्दैन । ‘सरकारको मुख ताक्दाताक्दै तीन वर्ष बित्यो,’ बुङमतीका स्थानीय श्यामराज मालीले भने, ‘भूकम्पले घर भत्काएपछि अहिलेसम्म वृद्ध बाबुआमासहित टहरामा बस्दै आएको छु, नयाँ घर बनाउन पैसा र नक्सापास छैन ।’ सरकारले दिएको पहिलो किस्ताको ५० हजारबाहेक अन्य रकम नपाएको उनले बताए । नगरपालिकाले नक्सापास नगरिदिएको र राहत रकम नदिएकाले भरपर्दो बासको जोहो गर्न नसकेको गुनासो उनले गरे ।बुङमती साँचो टोलका ३५ वर्षीय सुरेश महर्जन पनि सरकारले दिने भनेको सहुलियत ऋण नपाएका कारण घर बनाउन नसकेको गुनासो गर्छन् ।

घर बनाउने आसमा पटक–पटक बैंक धाउँदा पनि महानगरपालिकाका कर्मचारीले मापदण्ड नपुगेको कारण देखाउँदै फर्काउने गरेको उनले बताए । महर्जन परिवार अहिले टहरामा कोचिएर बस्दै आएको छ । लामो समय बित्दा पनि सरकारी निकायले सहुलियत र नक्सापास नदिएका कारण उनले घर बनाउन सकेका छैनन् ।‘आम्दानी नभएपछि बैंकले ऋण दिँदैन रहेछ,’ उनले भने, ‘ऋण लिनलाई पनि आम्दानी देखाउनुपर्दाे रहेछ, किसानको कमाइ के हुन्छ र आम्दानी देखाउन ?’ उनी नक्सापास नभएपछि उजुरी दिन पनि गएका थिए । जनप्रतिनिधिले पनि समस्या समाधान गर्न चासो नदिएको उनको गुनासो छ।

बुुङमती ‘नमुना बस्ती’लाई पुरानै र मौलिकता दिन सर्वसाधारण, नगरपालिका र राजनीतिक दलका नेता मिलेर छलफलमा जुटेको दुई वर्ष बित्यो, तर बस्ती उठाउने काम थालिएको छैन।भूकम्पलगत्तै बस्ती पुनर्निर्माणकै लागि भनेर २० जना भन्दा बढी इन्जिनियरसहितको ‘बुङमती पुनर्निर्माण समिति’ बनाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ माघमा बुङमती पुगेर राष्ट्रिय पुनर्निर्माण महाअभियान सुरु गरेका थिए । सोही समारोहमा तत्कालीन कार्यविनायक नगरपालिका र बुङमती पुनर्निर्माण समितिबीच बस्ती पुनर्निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर पनि भएको थियो । अहिले यो बस्ती ललितपुर महानगरपालिकाको २१ वडामा पर्छ।

राहत नपाउनु, घर बनाउन रकम नहुनु, पुरानो शैलीबारे अलमल, नक्सापास प्रक्रियामा झन्झटजस्ता कारण स्थानीयवासीले घर बनाउन सकेका छैनन् । ललितपुर महानगरपालिकाका इन्जिनियरले मापदण्ड नपुगेको भन्दै फाइल फिर्ता गराएको पीडितको गुनासो छ । इन्जिनियरका अनुसार यो क्षेत्रमा मौलिक शैलीमा एउटा घर बनाउन ३० देखि ४० लाख रुपैयाँ लाग्छ।

भूकम्पपछि सरकारले अति प्रभावित क्षेत्रमा जग्गा दर्ता गरेर लालपुर्जा वितरण गर्न सुरु गरेको थियो । त्यसका लागि प्रत्येक जिल्लामा प्रजिअको अध्यक्षतामा पाँच सदस्य समिति गठन पनि गरिएको थियो । तर, लालपुर्जा माग्दै नगरपालिकामा दर्ता गरिएका अधिकांश निवेदन त्यहीँ थन्किएका छन्, यसबारे सरकारी निकायले चासो दिएका छैनन्।

बुङमती र खोकनाका भूकम्पपीडितले लालपुर्जा नहुँदा पनि घर बनाउन नपाएका हुन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालयलगायत निकायमा पटकपटक ध्यानाकर्षण गराए पनि पीडितले परामर्श समेत पाएका छैनन् । उनीहरू के कारण नक्सा नबनेको हो भन्ने अलमलमा फसेका छन् ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थ एक सय ५० भन्दा बढी पीडित परिवारलाई लालपुर्जा उपलब्ध गराइसकेको दाबी गर्छन् । उनले लालपुुर्जा नपाएर टहरामा बस्दै आएकालाई थप लालपुर्जा वितरणका लागि बैठक बसेर मात्रै निष्कर्ष निकालिने जानकारी दिए । उनले भने, ‘लालपुर्जा वितरण गर्न मालपोत कार्यालयका प्रमुखलाई हामीले आग्रह गरेका छौँ, अब चाँडै पीडितले लालपुर्जा पाउनेमा ढुक्क भए हुन्छ।’

भूकम्पपछि जिल्ला मालपोत कार्यालयमा साबिकको झरुवारासी, लेले, विष्टछाप, इमाडोल वडा– ३, सानागाउँ, प्युटार, इकुडोल, बुखेल, मानिखेल, माल्टा, लामाटार, टीकाथली, गोदामचौर, धापाखेल र भट्टेडाँडाबाट पाँच सय व्यक्ति, बडिखेलबाट पाँच सय र डुकुछाप, चौघरे, सैँबु, लुभु र घुसेलबाट एक सय ४० भन्दा बढी व्यक्तिले जग्गा दर्ताको निवदेन दिएका थिए । उनीहरूले लालपुर्जा अझै पाउन सकेका छैनन् । डेढ वर्षदेखि लालपुर्जा वितरण गर्न गठित समितिको बैठकसमेत बस्न सकेको छैन ।
बुङमती पुनर्निर्माण समिति अध्यक्ष प्रेमभक्त महर्जनले केही घर पुनर्निर्माणको काम सुरु भएको बताए ।

५० भन्दा बढी इन्जिनियरलाई तालिम दिइसकिएकाले यही महिनाभित्र मौलिक बस्ती पुनर्निर्माणको काम थालिने उनको भनाइ छ । ‘केही स्थानीयले आफ्नै प्रयासमा पनि घर बनाउन थालेका छन्,’ उनले भने, ‘यसमा हामीले इन्जिनियर र घरको शैलीमा सहजीकरण गरिदिएका छौँ ।’ उनले बाक्लो बस्ती कसरी उठाउने भनेर स्थानीय र नगरपालिकासँग छलफल पनि चलिरहेको जानकारी दिए । ‘हामीले मात्रै स्थानीयलाई बुझाउन सक्दैनौँ,’ उनले थपे, ‘नगरपालिकाले पनि यसमा सहजीकरण गर्नुपर्छ ।’ उनले भूकम्प प्रतिरोधी र पुरानै शैलीको घर कसरी बनाउने नगरपालिकाले स्थानीयलाई बुझाउन पनि माग राखे।

बुङमतीमा राजा मानदेवको पालामा सन् ६०७ ताका बस्ती बसेको इतिहास रहेको संस्कृृतिविद् सत्यमोहन जोशी बताउँछन् । उनले यो प्राचीन र मौलिक बस्ती भएकाले पुरानै ढाँचामा संरचना बनाउनुपर्ने सुझाए । यसको पुनर्निर्माणमा सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘यी बस्ती नेपालकै गरिमा हुन्, यिनलाई जोगाएसम्म हाम्र्रो मौलिकता रहन्छ, नत्र खत्तम भएर जान्छ।’

वृद्धवृद्धा र बालबालिकालाई समस्या
यहाँ समयमै घर नबन्दा परिवारमा सबै सदस्यले सास्ती खेप्दै आएका छन् । खासगरी वृद्धवृद्धा र स्कुल पढ्ने बालबालिका टहरा भित्रको कष्टपूर्ण बसाइबाट प्रभावित छन् ।

जस्ता र पालले बनेको टहरोमा बसेर पढ्न पनि मन नलागेको यहाँका विद्यार्थी सुनाउँछन् । ‘जाडोमा धेरै जाडो हुन्छ, गर्मीमा धेरै गर्मी हुन्छ, पढाइमा ध्यानै जाँदैन,’ ललितपुर लगनखेलस्थित नमुना मच्छिन्द्र माविमा पढ्ने उषा महर्जनले भनिन्, ‘भूकम्प गएदेखि राम्ररी होमवर्क पनि गरेकी छैन । घरमा बसेर पढ्न मन लाग्दैन, स्कुलको पढाइ सकिएपछि प्रायः स्कुलमै होमवर्क गरेर घर आउँछु।’  

यहाँका वृद्धवृद्धा पनि प्रभावित छन् । स्थानीय राजुमान महर्जन (७५) ले टहरामा दैनिकी गुजार्न गाह्रो भएको सुनाए । उनी भन्छन्, ‘भूकम्पयता राम्ररी निदाउन पाएको छैन । पैसा भए आफैँ बनाउँथ्यौँ, सरकारको बाटो हेर्दाहेर्दै आँखा पनि पाट्टिए ।’ चिसो र गर्मीका बेला पालमा बस्दा साह्रै कठिन हुने गरेको अनुभव उनले सुनाए । ‘यसरी कति वर्ष गुजार्ने ?’ उनले भने, ‘दुई वर्षअघि माघमा प्रधानमन्त्री आएर चाँडै घर बनाइदिन्छौँ भनेका थिए, अहिलेसम्म हाम्रो छानो फेरिएको छैन।’

खोकनाका पीडितको पनि एउटै गुनासो
प्राचीन बस्ती खोकनाका भूकम्पपीडितको पनि समस्या उस्तै छ । न्ह्योबु टोलका ४५ वर्षीय अवीरमान महर्जनले तीन वर्षसम्म घर बनाउन नपाएको गुनासो गरे । उनले घर बनाउन नक्सापास गर्न लालपुर्जा अनिवार्य चाहिने तर आफूसँग नभएको गुनासो गरे । ‘खोकना बस्तीको नापी–नक्सा नै भएको छैन, हामीले कसरी घर बनाउनु ?’ उनले भने, ‘घर भत्किएपछि एउटै टहरामा तीन दाजुभाइका परिवार कोच्चिएर बस्दै आएका छौँ ।’

महानगरपालिका– २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले खोकनामा जग्गा दर्ताका लागि नापी टोली खटिएको जानकारी दिए । त्यसका लागि छुट्टै कार्यालय व्यवस्थापन गरी सर्वेक्षण तयारी भइरहेको उनले बताए । ‘यो क्षेत्रका पीडितले पुरानै शैलीमा घर बनाउन पाउनुहुन्छ,’ उनले भने, ‘जनप्रतिनिधि आएपछि पुनर्निर्माण प्रक्रिया अघि बढ्न थालेको छ।’

नौ सय घरधुरी रहेको खोकनामा आठ सय घरधुरीमा भूकम्पबाट क्षति पुगेको थियो । खोकना पुनर्निर्माण तथा पुनस्र्थापना समिति अध्यक्ष श्याम महर्जनले खोकना आफ्नै मौलिकता भएको प्राचीन बस्ती रहेको बताए । उनले भने, ‘यो बस्ती पर्यटक आकर्षणको केन्द्र हो, बस्ती पुनर्निर्माणका लागि स्थानीय मिलेर इँटा, झिँगटी, काठलगायत सामान जुटाउने कार्य भइरहेको छ ।’

 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...

फेसन नाइटका लागि १४ मोडल

फेसन नाइटका लागि १४ मोडल

आउँदो भदौ २३ मा आयोजना हुन लागेको ‘इबिजा फेसन नाइट’का लागि १४ मोडल छनोट भएका छन्। ...

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

कवि गोविन्द नेपालले आफ्नो तेस्रो कविता संग्रह तर्कको साम्राज्य पाठकमाझ ल्याएका छन्। ...